पुँजीगत खर्च कम भएपछि अर्थमन्त्रीको प्रतिक्रियाः भुक्तानी दिन रामनवमी जसरी नकुर्नुस्

  २०७६ माघ १० गते १८:०३     विकासन्युज

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीगत खर्चको भुक्तानी दिन रामनवमी जसरी कुरिरहनुपर्ने अवस्था नरहेको बताएका छन । पूँजीगत खर्च न्यून हुने गरेको सन्दर्भमा खतिवडाले जेठ असारतिर दिनुपर्ने भुक्तानी तत्काल दिन सम्पूर्ण मन्त्रालयलाई आग्रह गरिएको बताएका हुन् ।

नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४०औं साधारणसभामा बोल्दै उनले खर्चको विल प्राप्त हुनेवित्तिकै भुक्तानी दिने प्रक्रिया अघि बढाउन सबै मन्त्रालयहरुलाई आग्रह गरिएको जानकारी दिएका हुन् । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार पुँजीगत खर्च नभएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

यस्तै, फरक सन्दर्भमा व्यवसायिक वातावरण बनाउन ब्याजदर स्थीर बनाउनुपर्ने मन्त्री खतिवडाले बताए । उनले व्यापारमा बिचलन आउँदा व्यवसायिक वातावरण नबन्ने धारणा पनि राखे । व्यवसायिक क्षेत्र सुधारका लागि भन्सार दर र अन्त शुल्क लगायतका बिषयलाई सरकारले सहजीकरण गर्ने उनको आश्वासन छ ।

पछिल्लो पटक राजश्व र आयात घटेको भन्दै खतिवडाले विद्युत र विद्युतीय सामानको आयात पनि कम आएको बताए । उनले केही उद्योगको संरक्षण र निर्यातमूखी उद्योगलाई संरक्षणमा सरकार लागेको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पाम आयललाई भारत निकासी खुल्ला गर्न सरकारले सहजीकरण गर्नुपर्ने बताए । रेमिटान्सले मात्रै देश चलाउन नसकिने भन्दै उपाध्यक्ष गोल्छाले यसका लागि उद्योग तथा व्यापार व्यवसाय प्रवद्र्धनका कार्यक्रम ल्याउनु पर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.