आयमा कर छुटको सीमा बढाइदै, सामाजिक सुरक्षा कोषमा जानेलाई दोहोरो कर नलाग्ने

  २०७६ माघ १० गते १७:१५     विकासन्युज

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्तालाई कर छुटको सीमा बढाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उक्त व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् ।

त्यस्तै, सामाजिक सुरक्षा कोषमा बचत गर्ने योगदानकर्तालाई दोहाेराे कर नलाग्ने व्यवस्था गर्न लागेको छ । मन्त्रिपरिषदबाट निर्णय गराएर दोहोरो कर हटाउने र कर छुटको सीमा बढाउने तयारी भइरहेको मन्त्री खतिवडाले जानकारी दिएका हुन् ।

मासिक उच्चआय भएका कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा उनीहरुलाई दोहोरो कर लाग्ने भएकोले बैंकिङ क्षेत्रबाट यसको विरोध हुँदै आएको थियो । साथै, बैकिङ क्षेत्रका कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा जान मानिरहेका छैनन् ।

उच्चआय भएका बैंकरहरुले दोहोरो करबाट उन्मुक्तिको माग गरिरहेको बेलामा सरकारले मध्यम आय भएका कर्मचारीहरुलाई समेत लाभ मिल्ने गरी पारिश्रमिक आयमा कर छुटको सीमा वृद्धि गर्न लागेको अर्थमन्त्रीले जानकारी दिएका हुन् ।

हाल वार्षिक चार लाख पचास हजार रुपैयाँसम्मको पारिश्रमिक आयमा सरकारले कर छुट दिएको छ । उक्त सीमालाई कम्तिमा ६ लाख रुपैयाँ बनाउनु पर्ने माग उठिरहेको छ । चालु आवको बजेटमा कर छुटको सीमा वृद्धि नगर्दा कर्मचारीतन्त्रबाट सरकारको आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.