पूर्वाधार निर्माणमा टेलिकमः ६६ जिल्लामा फोरजी पुग्यो, २ हजार आधुनिक टावर थप्दै

  २०७६ माघ १० गते १५:३०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले सेवा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा विशेष जोड दिएको छ । सेवा विस्तारका लागि आवश्यक पर्ने आधुनिक टावर निर्माणलाई उच्च प्राथमिकतामा राखेको टेलिकमको भनाइ छ ।

टेलिकमले ४ हजार आधुनिक र हलुका टावर निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यही प्रक्रिया अनुसार अहिलेसम्म २ हजार टावर निर्माण गरिसकिएको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

‘सेवा विस्तारको लागि ४ हजार वटा आधुनिक र हलुका टावर निर्माणको योजना छ, यसमध्ये २ हजार टावर निर्माण भइसक्यो, थप २ हजार बनाइसक्न काम गरिरहेका छौं,’ सहप्रवक्ता भण्डारीले विकासन्युजसँग भने ।

एउटा टावर बिस्तार गर्दा (ग्राउण्ड बेस्ड टावर) जडान गर्न करीब ६० लाख रुपैयाँ लाग्ने टेलिकमले जानकारी दिएको छ । ग्राउन्ड बेस्ड टावर बनाउनु नपरेको अवस्थामा भने केही सस्तो हुने गर्छ ।

शहरी क्षेत्रमा घर भाडामा लिएर त्यस्ता घरको छतमा (रुफटप) टावर बनाउने गरिएको छ । ग्रामीण क्षेत्रमा भने एन्टेना, माइक्रो वेब राख्नु पर्ने तथा लामो दूरीमा समेत कभर गर्नु पर्ने भएकाले टावर जडानको रकम हेरफेर हुने गर्छ । टेलिकमले रेडियोनेटवर्क प्लानिङ अनुसार काम गर्दै आएको छ ।

शहरी क्षेत्रमा अग्ला घर निर्माण भइ रहेकाले सोही अनुसार ठूला टावरहरु जडान गर्न थालिएको छ । यस्तै, फोरजी बिस्तार, मध्य पहाडी लोकमार्गमा फाइबर राख्ने काम आफ्नो मुख्य काम रहेको टेलिकमको भनाई छ ।

टेलिकमले आगामी दिनमा आफ्नो पहुँच बाहिर रहेका ग्राहकहरुलाई समेत समेटदै अघि बढेको बताएको छ ।

चालु आर्थिक वर्षको सुरुमै नै फोरजी सेवा बिस्तार गर्ने लक्ष्य टेलिकमको थियो । सो सेवा बिस्तार तीव्र गतिमा अघि बढेको टेलिकमको भनाइ छ । हाल टेलिकमको फोरजी सेवा देशका विभिन्न ६६ जिल्लामा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.