मन्दीको बेलामा टाटाकाे बजार हिस्सा बढ्यो, इकोस्पोर्ट र ब्रेजालाई नेक्सनको टक्कर

  २०७६ माघ ९ गते २०:४७     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सवारी साधानको किनबेच निकै सुस्ताएको अवस्थामा कार तथा जीप सेगमेन्टमा टाटा मोटर्सका उत्पादनको बिक्री बढेको छ ।  गत वैशाखसम्ममा नेपाली बजारमा कार जीप सेगमेन्टमा टाटाको बजार हिस्सा १० प्रतिशत थियो । पुस मसान्तसम्ममा यो हिस्सा १३.८ प्रतिशत भएको नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले जनाएको छ ।

जतिबेला टाटाको हिस्सा १० प्रतिशत थियो त्यतिबेलासम्म उसका उत्पादनहरु सुमो, स्ट्रोम, एम्बुलेन्स, बोल्ट, जेस्ट, टिगोर, टियागो, नेक्शन र हेक्सा बिक्री हुने गरेकाे थियाे ।

यस अवधिमा टाटाले केही उत्पादनहरु बन्द गर्यो । नेपालमा पनि सुमो, स्ट्रोम, एम्बुलेन्स, बोल्ट र जेस्टको बिक्री बन्द भयो । जबकी एक वर्षअघिसम्म टाटाका कार जीपको कुल बजारको ६० प्रतिशत हिस्सा सुमो, स्ट्रोम र एम्बुलेन्सले लिएका थिए । हाल सिप्रदीले टाटाका जम्मा ४ वटा मोडेल मात्र बिक्री गर्दै आएको छ । त्यसमा टिगोर, टियागो, नेक्शन र एच५ रहेका छन् ।


पाँच प्रकारका उत्पादनहरु बन्द हुँदा पनि नेपाली अटो बजारमा टाटाकाे हिस्सा भने १० बाट बढेर १३.८ प्रतिशत पुगेको छ । भन्सारबाट नेपाल भित्र्याएका अन्य ब्राण्डका सवारी साधनको संख्यासँग सिप्रदीले बिक्री भईसकेको सवारी साधनको संख्यासँग तुलना गरिएको सिप्रदीले जनाएको छ । ‘भन्सारबाट भित्रिएका अन्य ब्राण्डका सवारी साधानको संख्यासँग टाटाको बिक्री भईसकेको संख्यासँग तुलना गरेका छौं । स्टकमा भएको सवारी हामीले यसमा जोडेका छैनौं’ सिप्रदीका एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए ।

यदि टाटाले पनि भन्सारबाट भित्रिएका आफ्ना सम्पूर्ण मोडेलहरुलाई आधार मानेको थियो भने उसको बजार हिस्सा अझ बढेको देखिने थियो । ‘सुमो, स्ट्रोम र एम्बुलेन्स बजारमा भइरहन्थे भने त झन् अहिले टाटाको बजार सेयर २० प्रतिशतको हाराहारीमा पुग्ने थियो’ उनले भने ।

कसरी बढ्यो टाटाको सेयर ?

टाटाको बजार हिस्सा बढ्नु मुख्य कारणका रुपमा उसले परिवर्तन गरेका सेल्स टेक्निकहरुलाई लिएको छ । ‘हामीले रिसर्च एण्ड डेभलपमेन्ट तर्फ बढि मिहिनेत गरिरहेका छौं । उपभोक्ताको चाहाना र बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउँदै लगेका छौं’ उनले भने ।

कमर्सियल गाडीतर्फ बजारमा लगभग एकछत्र राज गरेको सिप्रदीले प्यासेन्जर सेगमेन्टमा ठिक समयमा प्रवेश गरेकोले नतिजा राम्रो ल्याउन सकेको सिप्रदीको विश्लेषण छ । सिप्रदी नेपाल हरेक वर्ष बढी कर तिर्ने कम्पनीको रुपमा नेपाल सरकारबाट सम्मानित समेत हुदै आएको छ ।

प्रभावशाली ब्राण्ड ‘नेक्सन’

टाटाले नेक्सनलाई नेपाली बजारमा भित्र्याए पश्चात् नेक्सन हाल सीयूभी सेग्मेन्टमा ३० प्रतिशत बजार सेयर ओगट्दै हाइयेस्ट सेलिङ्ग प्रोडक्ट बन्न पुगेको कम्पनीकाे भनाइ छ। त्यसैगरी हाल सेडान सेग्मेन्ट तर्फ भने टिगोरले प्रथम स्थान ओगट्न सफल भएको सिप्रदीको जनाएको छ ।

नेपालकाे कार बजारमा सबैभन्दा ठूलो हिस्सा भनेको ह्याचब्याक सेग्मेन्टको हो जसमा प्रतिष्पर्धा गर्नका लागि टाटासित राम्रो प्रोडक्ट सुरुवातबाटै थिएन । सो सेग्मेन्टमा बृद्धि ल्याउनका लागि टाटाले उपलब्ध मोडेलको नयाँ भेरियन्टहरु लिएर आयो । यसले गर्दा टाटाको ह्याचब्याक तर्फको हिस्सा ६ प्रतिशतले बढ्दै हाल ८ प्रतिशतसम्म पुग्न सफल भएको छ । ६ प्रतिशत ह्याचब्याकमा बृद्धि हुनासाथ टाटाको कुल बजार हिस्सा बढेर १३.८ प्रतिशत हुन पुगेको हो ।

ब्रेजा र इकोस्पोटलाई चुनौति

नेक्सनको बजार हिस्सा बढिरहँदा यसले मारुती सुजुकीको ब्रेजा र फोर्डको इकोस्पोर्टको बिक्रीमा ठूलो धक्का लाग्न पुगेको बताइएको छ । मारुती सुजुकीले नेक्सनसँग प्रतिष्पर्धा गर्नका लागि नै ब्रेजाको मूल्यमा ६ लाख रुपैयाँ घटाइसकेको छ । तैपति उपभोक्ताको रुची नेक्सनतर्फ बढी देखिन्छ ।
विगतमा बैंकिङ्ग क्षेत्रका कर्मचारीहरुको रोजाइमा रहेको इकोस्पोर्ट स्थान पनि टाटा लिन लागेको छ । ‘आज हरेक बैंकले एउटा न एउटा नेक्सन लिएका छन् । सुपरमार्केट वा विग कन्फेरेन्स एरियामा गएर हेर्नु भयो भने सीयूभी सेग्मेन्ट नेक्सन नै धेरै देख्न सक्नुुहुन्छ’ उनले भने ।

यसैगरी सेडान सेग्मेन्टमा मारुती सुजुकी डिजायरको बजार हिस्सा पनि टाटाको टिगोरले खाइदिएको, ह्याचब्याक तर्फको मारुती सुजुकी सेलेरियो र हुण्डाई आइ१० सँग टाटाको टियागोले कडा प्रतिष्पर्धा गरिरहेको पनि उनको दावी छ ।

युवा वर्गप्रति लक्षित आफ्नो विल्कुलै नयाँ उत्पादन अल्ट्रोज एसयूभीलाई टाटाले यहि माघ महिनाको अन्त्यतिर नेपाल भित्र्याउने तयारी गरेको छ । यस प्रिमियम एसयूभीको नेपाली बजार प्रवेष पश्चात् यसले मारुती सुजुकी बलेनो, होण्डा ज्याज, टोयोटा ग्लान्जा र हुण्डाई आई२० जस्ता मोडेलहरुसँग कडा प्रतिष्पर्धा गर्नेछ । गत नोभेम्वर महिनामा टाटाले एच५ लञ्च गर्यो जसले विस्तारै मार्केट लिँदै गइरहेको छ । यस्ता कारणले गर्दा कम्पनीको शेयर थप बढ्ने सिप्रदीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.