इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरको ‘च्याप्टर क्लोज’

  २०७६ माघ ९ गते १४:५३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरको ‘च्याप्टर’ करिब ‘क्लोज’ भएको छ । हिमालयन बैंकले २९ माघका लागि बोलाएको २७औं बार्षिक साधारणसभाको विषयमा मर्जर वा एक्वीजीसनको प्रस्ताव नै छैन ।

पछिल्लो समय बैंक वित्तीय संस्थाबीच मर्जर तथा एक्वीजीसनको लहर नै चलेको छ । अधिकांश बैंक वित्तीय संस्थाले आफ्नो बार्षिक साधारणसभाबाट मर्जर वा एक्वीजीसनको अधिकार संचालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्ने गरेका छन् । तर, हिमालयन बैंकले उपयुक्त संस्थासँग मर्जर तथा एक्वीजीसनको अधिकार संचालक समितिलाई दिने प्रस्ताव सभामा लगेको नै छैन ।

तर, २८ पुसमा सम्पन्न भएको नेपाल इन्भेष्टमेन्ट बैंकको ३३औं बार्षिक साधारणसभामा अध्यक्ष पृथ्वीबहादुर पाँडेले चाढै नै ठूलो बाणिज्य बैंकसँग मर्जर गर्न लागिएको जानकारी गराएका थिए । यसका लागि बैंक संचालक समिति अध्यक्ष पद छाड्नु परे पनि तयार रहेको पाँडेको भनाइ थियो ।

अध्यक्ष पाँडेको यस्तो भनाईपछि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जर हुने आकलन धेरैको थियो । तर, हिमालयन बैंकले सार्वजनिक गरेको आफ्नो २७औं बार्षिक साधारणसभाको सूचनामा मर्जर र एक्वीजीसन सम्बन्धी एक शब्द पनि उल्लेख छैन ।

इन्भेष्टमेन्ट र हिमालयनको किन हुन्छ चर्चा ?

गत असार १२ गते नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र संचालक समिति अध्यक्षलाई होटल याक एण्ड यतीमा बोलाएर मौद्रिक नीति आउनु अगाडि नै ‘बिग मर्जर’को खाका तत्काल ल्याउन निर्देशन दियो ।

सो छलफलको उद्देश्य कुन बाणिज्य बैंक कुन बैंकसँग मर्जरमा जान तयार होलान् भन्ने ‘मार्केट सेन्टिमेन्ट’ बुझ्नु थियो । बाणिज्य बैंकहरु मर्जरको लागि आफै तयार नभए एउटै ग्रुपको धेरै लगानी भएका तथा पारिवारिक सम्बन्ध भएका व्यक्तिहरुले संचालन गरेका बैंकबीच मर्जर गराउने राष्ट्र बैंकको ‘हिडन इन्ट्रेष्ट’ सो छलफलमा लुकिरहेको थिएन ।

नेपाल राष्ट्र बैंकले सोभन्दा अगाडि पनि एउटै ग्रुपको धेरै लगानी भएका र पारिवारिक सम्बन्ध भएका संचालक रहेका बैंकबीच ‘स्वेच्छिक’ मर्जरको जबरजस्त सहजीकरण गरिरहेको थियो । राष्ट्र बैंकको यही गृहकार्यको कारण ज्वाइ–ससुरा सम्बन्ध भएका पृथ्वीबहादुर पाँडेको प्रमुख लगानी रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन शमशेर जवराको लगानी रहेको हिमालयन बैंकबीच मर्जरको अड्कलबाजी चलेको थियो ।

हिमालयन बैंकमा छाया इन्टरनेसनल प्रालिको ८.८९ प्रतिशत प्रमोटर सेयर छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा छाया इन्भेष्टमेन्ट कम्पनीको ६.६५ प्रतिशत सेयर लगानी छ । यी दुबै बैंकमा केही प्रमोटर पनि समान छन् ।

हिमालयनलाई राष्ट्र बैंकको दबाब

हिमालयन बैंकमा सर्वसाधारणको १५ प्रतिशत मात्रै सेयर हिस्सा छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सेयर हिस्सा कम्तिमा ३० प्रतिशत पुर्याउन हिमालयनलाई लिखित निर्देशन नै दिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले पनि बैंकमा सर्वसाधारणको सेयर हिस्सा कम्तिमा ३० प्रतिशत हुनै पर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार सर्वसाधारणको ३० प्रतिशत सेयर हिस्सा पुर्याउन हिमालयनसँग विभिन्न विकल्प छन् । जस्तो कि सर्वसाधारणको कम्तिमा ४५ प्रतिशत सेयर हिस्सा भएको तथा हिमालयनको भन्दा चुक्ता पुँजी कम नभएको बैंकसँग समान स्वाप रेसियोमा मर्जर गर्ने हो भने हिमालयनले अरु केही गर्नुपर्दैन ।

अर्काे विकल्प भनेको बैंकले थप सार्वजनिक निस्कासन (एफपीओ) जारी गर्ने हो । त्यस्तै, अर्काे विकल्प प्रमोटर सेयरलाई साधारणमा परिणत गर्ने हो । तर, राष्ट्र बैंकले जारी गरेको निर्देशनमा एकैपटक १० प्रतिशतभन्दा बढी प्रमोटर सेयरलाई साधारणमा परिणत गर्न नमिल्ने भनिएको छ । राष्ट्र बैंकले यो निर्देशनमा पुनर्बीचार गर्ने हो भने हिमालयनले सोही विकल्प अपनाउने सम्भावना अधिक छ ।

हिमालयन बैंकमा पाकिस्तानको हविव बैंकको २० प्रतिशत सेयर छ । हविव बैंकले हिमालयनको आफ्नो सेयर बेच्न खोजेको छ । यो सेयर हविवले बेलायतको इन्भेष्टमेन्ट कम्पनी सीडीसीलाई बेच्ने प्रक्रिया अगाडि बढेको थियो । तर, हिमालयन बैंक संचालक समिति अध्यक्ष मनोजबहादुर श्रेष्ठले असहयोग गरेका कारण सम्भव नभएको आरोप श्रेष्ठमाथि लाग्ने गरेको छ ।

हविवको सेयर सीडीसीलाई बेच्ने प्रक्रियामा राष्ट्र बैंकले पनि सहयोग गर्ने गरेको छ । विश्व बजारमा राम्रो ख्याती कमाएको कम्पनी नेपाली बैंकमा साझेदार भएर आउँदा सकारात्मक सन्देश प्रवाह हुने ठानेर राष्ट्र बैंकले सहजीकरण गरिरहेको हो ।

हिमालयन अब मर्जरमा जादैन ?

कुनै पनि बैंक मर्जरमा जाने नजाने भनेको उसको व्यवसायिक रणनीति अनुसार पनि हो । नियामकले दबाब दिएर मर्जर वा एक्वीजीसनमा जाने भन्ने बेग्लै कुरा हो । तर, हिमालयन बैंकले अहिलेसम्म कुनै बैंक वित्तीय संस्थासँग मर्जर वा एक्वीजीसन गरेको छैन । र, आगामी साधारणसभामा पनि मर्जर वा एक्वीजीसन सम्बन्धी प्रस्ताव छैन ।

आगामी साधारणसभाले मर्जर र एक्वीजीसन सम्बन्धी विशेष प्रस्ताव पारित नगर्दैमा मर्जर वा एक्वीजीसन हुनै सक्दैन भन्ने होइन ।

हिमालयन बैंकका प्रमोटरसँग ८५ प्रतिशत सेयर छ । हविव बैंकको २० प्रतिशत, कर्मचारी संचय कोषको १४ प्रतिशत, एन ट्रेडिङको १२.७१ प्रतिशत, म्युचुअल ट्रेडिङको ११.८५ प्रतिशत, आभा इन्टरनेसनलको ११.३८ प्रतिशत, छाया इन्टरनेसनलको ८.८९ प्रतिशत र शशिकान्त अग्रवालको २.६५ प्रतिशत प्रमोटर सेयर छ । यी ७ सेयरधनी मिल्ने हो भने पनि ८० प्रतिशत सेयरधनीको प्रतिनिधित्व हुन्छ ।

बैंक वित्तीय संस्थाको कुनै पनि नीतिगत निर्णय गर्न ५० प्रतिशतभन्दा बढी सेयरधनीको सहमति चाहिन्छ । त्यसैकारण हिमालयन बैंकका ५ देखि ६ जना सेयरधनी मिलेको अवस्थामा विशेष साधारणसभा गरेर मर्जर वा एक्वीजीसनको विशेष प्रस्ताव पारित गर्न कुनै अप्ठेरो हुनेछैन ।

अझै विकल्प छ इन्भेन्टमेन्ट बैंकसँग

हिमालयन बैंकमा हिमालय शमशेर जवरासहित उनको परिवारको लगानी हिस्सा ठूलो छ । जवरा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेका ससुरा हुन् । अहिले हिमालयन बैंक संचालक समिति अध्यक्ष मनोजबहादुर श्रेष्ठ छन् ।

श्रेष्ठ समुहले आफूहरुलाई पेलेको अनुभूति जवरा समुहले गरेको छ । यस्तै प्रमुख लगानीकर्तामध्येमै पर्ने सीपी खेतान समुह पनि श्रेष्ठ समुहको पेलानमा परेको अनुभुत गरिरहेको छ । त्यसैकारण जवरा र खेतान समुह मिलेर यसपटक श्रेष्ठ समुहलाई बैंक संचालक समितिमा अल्पमतमा पार्ने रणनीतिमा देखिएका छन् । आगामी साधारणसभाबाट अध्यक्ष श्रेष्ठ वा उनका भाइ प्रचण्डबहादुर श्रेष्ठमध्ये एक जनालाई मात्रै संचालक समितिमा आउन दिने रणनीति जवरा–खेतान समुहको छ ।

श्रेष्ठ समुह हिमालयन बैंकलाई इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने विषयमा त्यति सकारात्मक नभएको बताइन्छ । तर, हिमालयनको यसपालीको साधारणसभाले श्रेष्ठ समुहलाई संचालक समितिमा अल्पमतमा पार्यो भने मर्जरको प्रक्रिया अगाडि बढ्ने सम्भावना रहन्छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर भए हिमालयनको साधारण सेयरधनी हिस्सा बढाउने विषय पनि त्यसै टुंगिने देखिन्छ ।

त्यो कसरी भने इन्भेष्टमेन्ट बैंकमा राष्ट्रिय बाणिज्य बैंकको १५ प्रतिशत प्रमोटर सेयर थियो । राष्ट्र बैंकले क्रस होल्डिङ रोकेपछि राष्ट्रिय बाणिज्य बैंकले सो सेयर विक्री गर्यो ।

तर, अहिले पनि बाणिज्य बैंकले बेचेको सो १५ प्रतिशत सेयर एनआईबीपीओको नाममा स्पेसल विन्डोबाट दैनिक कारोबार भइरहेको छ । अन्य प्रमोटर सेयर खरिद विक्रीका लागि राष्ट्र बैंकको स्वीकृति चाहिने भएपनि बाणिज्य बैंकले बेचेको इन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत प्रमोटर सेयर साधारण सेयर जस्तै गरी कारोबार भइरहेको छ ।

राष्ट्र बैंकले सो १५ प्रतिशत सेयरलाई साधारणमा परिणत गर्न इन्भेष्टमेन्ट बैंकलाई दबाव दिइरहेको छ । गत वर्ष नविल बैंकलाई राष्ट्र बैंकले दबाब दिएपछि यसै गरिएको नजिर छ ।

नविल बैंकमा एनआईडीसीको प्रमोटर सेयर थियो । क्रस होल्डिङ रोकिएपछि एनआईडीसीले बेचेको नविल प्रमोटर सेयर नविलपीको नाममा कारोबार हुने गरको थियो । तर, राष्ट्र बैंकको दबाबपछि नविलले गत वर्ष सो सेयरलाई साधारणमा परिणत गरेको थियो ।

इन्भेष्टमेन्ट बैंकले सो १५ प्रतिशत सेयर पनि साधारणमा परिणत गरेमा सो बैंकमा सर्वसाधारण सेयरको हिस्सा करिब ४६ प्रतिशत पुग्नेछ । अहिले पनि इन्भेष्टमेन्ट बैंकमा ३१ प्रतिशतभन्दा बढी सेयर हिस्सा सर्वसाधारणको छ ।

राष्ट्रिय बाणिज्य बैंकले बेचेको इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरलाई साधारण सेयरमा परिणत गर्ने हो र त्यसपछि हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जर हुने हो भने हिमालयनमा अहिले देखिएको साधारण सेयर हिस्साको मुद्दा पनि सकिनेछ ।

सम्बन्धित सामग्री

हिमालयन बैंकसँग अझै २ विकल्प, एफपीओ जारी गरे प्रतिकित्ता २ सय रुपैयाँ

हिमालयन बैंकलाई राष्ट्र बैंकको चार बुँदे कडा निर्देशन, सञ्चालक समितिमा उथलपुथल हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.