२०७६ माघ ९ गते १३:५४ विकासन्युज
काठमाडाैं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिएका छन् । मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बसेकाे देखिन्थ्याे । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ ।
सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचनमा ५ सय ५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख एक हजार ५ सय ६ गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् ।
निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । मतदान सकिनासाथ राजनीतिक दलको सहमतिमा मतगणना कार्य प्रारम्भ हुने छ ।
आजै राति सातै प्रदेशबाट निर्वाचनको नतिजा प्राप्त हुनेछ । यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तद्वय नरेन्द्र दाहाल र इश्वरीप्रसाद पौड्यालले वाग्मती प्रदेशको ललितपुर नगरपालिका–४ स्थित वडासमितिको भवन परिसरमा कायम गरिएको मतदान केन्द्रमा भइरहेको मतदानको निरीक्षण गरे । उक्त मतदान केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १ सय १० र स्थानीय तहतर्फ २ सय ३८ मतदाता कायम छन् । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.