एनआरएनलाई काठमाडौं नेचुरोपेथी अस्पतालमा विशेष छुट

  २०७६ माघ ८ गते १८:३०     विकासन्युज

काठमाडौं । काठमाडौँं नेचुरोपेथी अस्पताल बसन्धुराले गैरआवासीय नेपालीलाई विशेष छुट दिने भएकाे छ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत हेमन्तकुमार दवाडी र काठमाडौं नेचुरोपेथी अस्पतालका अध्यक्ष गणेश पाण्डेबीच सो सम्बन्धि सम्झौता भएको हो ।

सम्झौता अनुसार गैरआवासीय नेपालीले अस्पतालको सेवामा १० देखि २५ प्रतिशतसम्म छुट पाउने छन् ।अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा २५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष पाण्डेले जानकारी दिएका हुन् ।

सम्झौता समारोहमा एनआरएनएका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव गौरीराज जोशी, अस्पतालका कार्यकारी निर्देशक शारदा गैरे, मेडिकल निर्देशक डा. यञ्जन गैह्रे, प्रबन्धक विनादेवी घिमिरे लगायतको उपस्थिति थियो ।

यो सम्झौताबाट विश्वभर छरिएका गैरआवासीय नेपाली संघका ८० हजार सदस्य र उनीहरुका परिवार लाभान्वित हुने एनआरएनएका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए ।

अत्याधुनिक सेवा-सुविधासहित काठमाडौंको बसुन्धारामा स्थापित काठमाडौँ नेचुरोपेथी अस्पताल आधुनिक प्रविधिहरुको माध्यमबाट बिना अप्रेशन र बिना औषधी नैै उपचार गरिने अत्याधुनिक प्राकृतिक अस्पताल हो । यस अस्पतालमा औषधीविहीन चिकित्सा पद्दतिहरु प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, योगथेरापी, भोजन परामर्श साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.