पर्यटन बोर्डको सीईओ नियुक्तीमा विवाद, प्रधानमन्त्री कार्यालय नै बाधक

  २०७६ माघ ८ गते १५:०८     विकासन्युज

काठमाडाैं । नेपाल पर्यटन बोर्डको सीईओको नियुक्ती प्रक्रियामा विवाद भएको छ । नौ जनाको लिष्टबाट तीन जना मात्र सर्ट लिष्टमा परेसँगै विवाद शुरु भएको हो । पर्यटन बोर्ड सिईओ छनोट उपसमितिले धनञ्जय रेग्मी, हिक्मत सिंह ऐर र दीपक बस्ताकोटीको नाम सिफारिसमा गरेको थियो ।

सीईओ छनोट प्रक्रियामा प्रधानमन्त्री कार्यालयले नै विवाद उत्पन्न गरेको बुझिएको छ । उपसमितिले बच्चुनारायण श्रेष्ठलाई सिफारिस नगरेपछि प्रधानमन्त्री कार्यालयले सीईओ छनोट प्रक्रिया रोकेको स्रोतले बतायो । निवर्तमान सिइओ दीपकराज जोशीको चारवर्षे कार्यकाल सन् २०१९ डिसेम्बर २३ मा सकिएसँगै नयाँ सिइओ छनोटको प्रक्रिया सुरु भएको थियो ।

बोर्डको प्रमुख छनोटका लागि ०७६ मंसिर १८ गते पहिलोपटक २१ दिनको समय दिएर माग गरिएकामा १७ जनाले आवेदन हालेका थिए ।  तीमध्येबाट ९ जनाको नाम ‘सर्ट लिस्ट’ भए भने माघ २ र ३ गते परीक्षा लिइएको थियो । परीक्षामा परीक्षार्थीले कार्यपत्र र कार्ययोजना प्रस्तुत गरेका थिए ।

सिइओ छनोटमा बच्चुनारायण श्रेष्ठ नपरेपछि बोर्डको बैठक नै अनिश्चितकालका लागि स्थगित गरिएको छ । पर्यटन बोर्डमा सिइओ छनोट गर्न बोलाइएको बैठक छलफल नै नगरी पटक–पटक स्थगित हुने गरेको छ ।

लोकसेवा आयोगको रोहबरमा भएका यी सबै प्रक्रियाबाट छानिएका तीनजनाको नाम सञ्चालक समितिमा सिफारिस गरिएको थियो । छनोट उपसमितिमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, विप्लव पौडेल र कृष्णबहादुर महरा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.