केटिएमको ‘३९० एड्भेन्चर’ सार्वजनिक, नेपालमा आइपुग्दा १० लाखसम्म पर्ने अनुमान, यस्ता छन् विशेषता

  २०७६ माघ ७ गते १९:५१     विकासन्युज

काठमाडाैं । अष्ट्रियन मोटरसाइकल उत्पादक कम्पनी केटिएमले आफ्नो नयाँ उत्पादन ३९० एड्भेन्चरलाई भारतमा सार्वजनिक गरेको छ । भारतिय बजारमा २ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको सो मोटरसाइकल एउटा एडभेन्चर टुरर मोटरसाइकल हो जसलाई लामो दुरीको यात्रामा सहजै गुड्न सक्ने विशेषताका साथ बजारमा ल्याइएको छ ।

यस्ता छन् विशेषता

३९० एड्भेन्चरको अफरोड एवं अनरोड दुवै क्षमता गज्जबको रहेको छ । यस बाइकमा मेट्जेलर टोरेन्स टायर दिइएको छ जसलाई अनरोड तथा अफरोड दुवैका लागि राम्रो मानिन्छ । त्यसैगरी बाइकको अगाडिको चक्का १९ इञ्चको रहेको छ भने पछाडिको चक्का चाहिँ १७ इञ्चको रहेको छ । अगाडिको चक्का ठुलो हुनाले बाइकले अफरोडिङ्गको वेलामा सानातिना ढुङ्गा एवं खाल्डाखुल्डिलाई सजिलै पार गर्न सक्छ ।

केटिएमले यस बाइकमा अगाडि पट्टि ४३ मिलिमिटर अपसाइड डाउन फर्क र पछाडि चाहिँ प्रिलोड एड्जस्टेवल मोनोशक प्रयोग गरेको छ । अगाडि १७० मिलिमिटरको र पछाडि चाहिँ १७७ मिलिमिटरको सस्पेन्सन ट्राभल रहेको हुनाले यी सस्पेन्सनहरुले राम्ररी शक एब्जर्ब गर्न सक्दछन् ।

केटिएमले यस बाइकमा स्विचेवल ट्र्याक्सन कन्ट्रोल र बाइ-डाइरेक्सनल क्विक सिफ्टर समावेश गरेको छ । एक्कासी थ्रोटल लिँदा पछाडिको चक्काको गति अगाडिको चक्काको भन्दा बढि हुन गयो भने बाइक ड्रिफ्ट भएर चिप्लिने सम्भावना हुन्छ । ट्र्याक्सन कन्ट्रोलले पछाडिको चक्काको गतिलाई कन्ट्रोल गर्दै बाइकलाई ड्रिफ्ट हुनबाट बचाउँछ । बाइ-डाइरेक्सनल क्विक सिफ्टरको खासियत भनेको चाहिँ राइडरले बाइक चलाइरहेको वेलामा क्लच र थ्रोटलको आवश्यकता विना नै गियर अप अथवा डाउन गर्न सक्दछन् ।

यस मोटरसाइकलमा ३९० ड्युकमा समावेश भएकै ३७३.२ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन जडान गरिएको छ जसले ४४ एचपीको पावर र ३७ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीले जनाए अनुसार यो इञ्जिन बीएस६ प्रदुषण मापदण्ड अनुरुपको इञ्जिन हो ।

नेपालमा कहिले आउला ?

केटिएमको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द प्रा.लि.ले विकासन्युजलाई बताए अनुसार नेपालमा ३९० एड्भेन्चरलाई भित्र्याउने तयारी चलिरहेको तर यति समय भित्र ल्याइसक्ने भनेर किटान चाहिँ गरिसकिएको छैन । कम्पनीले सो मोटरसाइकलको नेपाली बजार मूल्य बारे पनि केहि बताएको छैन ।

भारतिय बजारमा यो मोटरसाइकल ३९० ड्युक भन्दा ५१ हजार रुपैयाँले महँगो रहेको छ । त्यसैगरी नेपालमा हाल ३९० ड्युकको मूल्य ८ लाख ३० हजार रुपैयाँ तोकिएको छ । यी दुवै तथ्यलाई आधार मान्ने हो भने ३९० एड्भेन्चर नेपाली बजारमा आइपुग्दा यसको मूल्य ९ लाख रुपैयाँ देखि लिएर १० लाख रुपैयाँसम्म पर्न जाने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.