बैंकिङ क्षेत्रलाई पुराना कर्मचारीको अखडा नबनाउन अर्थमन्त्री खतिवडाको चेतावनी

  २०७६ माघ ७ गते १२:३०     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा पुराना कर्मचारीहरुको मात्र अखडा नबनाउन चेतावनी दिएका छन् । कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु पुरानै कर्मचारीहरुको हाली–मुहाली भएकोले त्यो किसिमको अखडा नबनाउन आग्रह गरेका हुन् ।

‘नयाँ कर्मचारी आउन नदिने, यसले गर्दा संस्थामा कुपोषण हुन्छ, ज्ञान सीप भएका कर्मचारी नल्याए संस्थाको अवस्था के हुन्छ,’ उनले भने ।

पुराना कर्मचारीहरु स्वतः प्रमोसनबाट माथि जाने तर युवालाई प्रवेश नगराउनु बैंकिङ क्षेत्रको दुर्भाग्य भएको उनको भनाइ छ ।

प्रविधि सम्बन्धि ज्ञान सीप भएका युवाहरुलाई अवसर दिनु पर्ने उनको भनाइ रहेको छ । पछिल्लो समय नेपाली वित्तीय बैंकिङ प्रणाली सुधार हुँदै गएको बताउँदै उनले अर्थतन्त्र उकालो लागेको समयमा स्वाँ स्वाँ गर्ने र ओरालो लागेको समयमा लडिन्छ कि भन्ने चिन्ता नमान्नु पर्ने बताए । उनले नेपालको वित्तीय क्षेत्र एशियामा नै राम्रो भएको दावीसमेत गरे ।

सहुलियत कर्जामा गम्भिर हुन डेपुटी गभर्नर सिवाकोटीको आग्रह

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सम्पूर्ण वाणिज्य बैंकहरुले सहुलियतपूर्ण कर्जामा गम्भिर हुन आग्रह गरेका छन् । उनले उक्त कार्यक्रममा बोल्दै पछिल्लो समय बैंकहरुले सोचेअनुरुपको सहुलियत कर्जा वितरण गरेको नदेखिएकोले यसमा गम्भिर हुन आग्रह गरेका हुन् ।

‘सहुलियतपूर्ण कर्जा नेपाल सरकारले सुरक्षण गरेको अवस्था छ, सुरक्षणवापतको दस्तुर नेपाल सरकारले ७५ प्रतिशत तिरेको छ, कर्जा डुब्यो भने नेपाल सरकारले ग्यारेन्टी पनि गरेको छ, कर्जा वितरण गर्न वाणिज्य बैंकलाई कन्जुस्याईँ किन,’ उनले भने ।

सहुलियतपूर्ण कर्जा वितरणको अवस्था दयनीय भएको उनको भनाइ छ । कृषि विकास बैंकले वितरण गरेको सहुलियतपूर्ण कर्जाको संख्या उल्लेख गर्दै उनले त्यो कृषि विकास बैंक जस्तो सरकारी बैंकको लागि न्युन भएको बताए ।

कृषि कर्जा बाहेक तोकिएका अन्य कर्जाहरुमा आउने असार मसान्तसम्म प्रत्येक वाणिज्य बैंकले ५ सय जनालाई कर्जा वितरण गरेको हुनुपर्ने उनको भनाइ छ । यसलाई कार्यान्वयन नगरे आर्थिक जरिवाना गर्ने उनको भनाइ छ ।

कृषि बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि बैंकले देशकाे गरिबी निवारण, सर्वसाधारणलाई बैंकिङ पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेलेकाे बताए । नेपालकाे बैंकिङ क्षेत्रलाई कम्प्युटर प्रणालीमा लिनका लागि कृषि विकास बैंककाे ठूलाे याेगदान भएकाे बताउँदै अझै गाउँगाउँमा र दुरदराजमा गएर काम गर्ने प्रतिवद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.