धेरै शाखा संजाल भएको एनआईसी एसिया बैंकलाई एसएमईको साथ, दोस्रो त्रैमासमा खुद नाफा ३३ प्रतिशतले बढायो

  २०७६ माघ ७ गते १०:११     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु चालु आवको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (७७ करोड रुपैयाँ) ले वृद्धि गरी २ अर्ब ९० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

खुद नाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (५० करोड रुपैयाँ) को वृद्धि गरी २ अर्ब १ करोड रुपैयाँ पुर्याएको छ । गत वर्षको सोही अवधीको खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ थियो । चालु आवको दोस्रो त्रैमाससम्ममा कर्जातर्फ १५ अर्ब रुपैयाँले वृद्धि गरी १ खर्ब ६५ अर्ब र निक्षेप संकलनतर्फ ६ अर्बले वृद्धि गरी १ खर्ब ८६ अर्ब रुपैयाँ पुर्याएको छ ।

बैंकले आफ्नो रणनीतिअनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी, प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्ण रुपले पालना गरेको जनाएको छ ।

विविधिकरणकै रणनीति अनुरुप बैंकको उच्चतम दस ग्राहकहरुको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ ।

निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरुप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ९.४ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये एक हो । बैंकले चालु आवको ६ महिनामा ६ अर्बको कल निक्षेप घटाएको छ ।

यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा ६ अर्बले बढेको छ । निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । बैंकका चल्ती तथा वचत निक्षेप हाल बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ ।

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि गरी ४१.६१ रुपैयाँ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत पु¥याएको छ । प्रथम त्रैमासमा स्वपूँजी प्रतिफलमा यो बैंक बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट रहेको थियो ।

बैंकको देशभर ३ सय १३ शाखा कार्यालयहरु, ४ सय २६ एटिएम, १ सय ३ वटा एक्सटेन्सन काउण्टर तथा ४५ वटा शाखारहित बैंकिङ्ग संजाल संचालनमा छन् । बैंकको २१ लाखभन्दा बढी ग्राहक रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आवमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाईसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.