कक्षा ११ र १२ बाट गणित झिक्न खोज्नेले विज्ञान, प्रविधि, विवेक र तर्क झिक्न खोज्दैछन्ः डा. काफ्ले

  २०७६ माघ ७ गते १०:०१     विकासन्युज

काठमाडौं । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ बाहिर आएपछि कक्षा ११ र १२ को विज्ञान विषयमा भएको गणित हटाउने तयारीमा पाठ्यक्रम विकास केन्द्र लागेको थियो । यो कदमको शिक्षक, विद्यार्थी, अभिभावकलगायतले सर्वत्र आलोचना गरेपछि केन्द्र गणित राख्न सहत भएको थियो । केन्द्रले गणित विषय हटाउने चलखेल फेरि सुरु गरेको छ ।

अहिले अध्ययन भैरहेका विषयमा भएको गणित हटाउँनका पछाडि असल नियत नरहेको तर्क नेपाल गणित समाजका सहसचिव तथा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागका उपप्राध्यापक डा. जीवन काफ्लेको छ । गणितविना विज्ञान र प्रविधि अपुरो हुने बताउँने काफ्ले विगत १ दशकदेखि विश्वका विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरुसँगको सहकार्य गर्दै, गणित विषयको अध्ययन, अनुसन्धानको क्षेत्रमा क्रियाशील छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय केही सम्मान तथा पुरस्कारहरु प्राप्त गरेका डा. काफ्लेसँग गणित विषयका सम्बन्धमा भइरहेका विवादकोे बारेमा विकासन्युजका लागि राजाराम न्यौपानेले कुराकानी गरेका छन् ।

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का निम्ति तयार पारेको नयाँ पाठ्यक्रमको प्रारूपमा गणित विषयमा भैरहेको विवाद के हो ?

दुई वर्ष अगाडिदेखि पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का लागि तयार पारेको भनिएको नयाँ पाठ्यक्रमको प्रारूपका विवाद हुन गम्भीर कारणहरू छन् । वास्तवमा गणित विषयमा भैरहेको विवाद झनै पेचिलो बनेको छ । विशेषतः प्रस्तावित पाठ्यक्रमले छ÷छ वटा विषयलाई समावेश गर्दा पनि भौतिक समृद्धिको आधारस्तम्भलाई पूर्णतः उपेक्षा गर्नु नै पाठ्यक्रमका बारेमा विवाद उठ्नुको मुख्य कारण हो । यसमा उज्ज्वल भविष्यको सपना देख्ने विद्यार्थी, अभिभावक, शिक्षक र समृद्ध नेपालको परिकल्पना गर्ने वर्ग समयमै सजग हुनु जरुरी छ ।

अध्ययन भैरहेको विज्ञान विषयमा भएको गणित हटाउदा हाम्रो विज्ञान शिक्षा कस्तो हुन्छ ?

गणित यस्तो विषय हो, जुन सबै प्राकृतिक र सामाजिक विज्ञानको अध्ययनमा अधिकतम उपयोग गर्नुपर्ने हुन्छ । तर, स्कुल तहमा गणित विषयको पृष्ठभूमि नहुने हो भने सबै विषयको ज्ञान अपूर्ण हुन्छ । यो विषयको जगबिना अन्य कुनै पनि विषयमा दक्षता हासिल गर्छु भन्नु जगबिनाको गगनचुम्बी महलको कल्पना गर्नु जस्तै हो ।

कक्षा ११ र १२ मा गणित नपढाउँदा के असर पर्छ ?

प्रस्तावित पाठ्यक्रमअनुसार जीव विज्ञान, रसायन शास्त्र र भौतिक विज्ञान पढ्ने विद्यार्थीले गणित विषयलाई मूल विषय बनाउन पाउँदैनन् । प्रस्तावित पाठ्यक्रमअनुसार व्यवस्थापन पढ्ने विद्यार्थीले चाँहदाचाहँदै पनि गणित र व्यावसायिक गणित दुवै पढ्न पाउने अवसरबाट पनि बञ्चित हुने देखिन्छ ।

विज्ञान विषय पढ्न गणितको ज्ञान कत्तिको आवश्यक हो ?

गणित विषयले विद्यार्थीमा हरेक विषयको बारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढङ्गले अध्ययन–विश्लेषण र मूल्याङ्कन गर्ने क्षमताको विकास गराउँछ । विद्यार्थीलाई खोजअनुसन्धान गर्ने सामथ्र्यको पनि विकास गराउँछ । तसर्थ गणित विषय सम्पूर्ण ज्ञानविज्ञान तथा भौतिक समृद्धिको प्रविधिको आधारस्तम्भ हो ।

कतिपय देशमा आवश्यकताअनुसार गणित तथा विज्ञानलाई अनिवार्य विषय बनाएर पठनपाठन गर्ने गरेको पनि पाइन्छ । तर, विकासोन्मुख देशका लागि त सिङ्गो विज्ञान तथा प्रविधिको आधारस्तम्भ बनेको गणित विषयलाई ओझेलमा पार्ने गरी पाठ्यक्रमको प्रारूप तयार परिँदै छ । विशेषतः प्रस्तावित पाठ्यक्रमले छ/छवटा विषयलाई समावेश गर्दा पनि भौतिक समृद्धिको आधारस्तम्भलाई पूर्णतः उपेक्षा गर्नु नै पाठ्यक्रमका बारेमा विवाद उठ्नुको मुख्य कारण हो ।

विश्व बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न गणित किन आवश्यक छ ?

विदेश अध्ययन गर्नका लागि जस्तै जिआरई, स्याट, जिम्याटहरूमा पनि अत्याधिक रूपमा गणितका प्रश्नहरू समावेश गरिएका हुन्छन् । गणित जस्तो विषयलाई हटाउने हो भने यस्ता अवसरबाट हाम्रा विद्यार्थीहरू सधै असफलताको सिकार हुनुपर्ने अवस्था सृजना हुन्छ ।

गणितीय ज्ञान विनाका प्राविधिकहरुले देशलाई के योगदन गर्न सक्छन् ?

हालसालै त्रिविको इन्जिनियरिङ्ग अध्ययन सस्ंथानमा प्रवेश परीक्षामा गणितको भार ४० बाट बढाएर ५० अङ्क बनाइएको छ । गणितको महत्त्व इन्जिनियरिङ्गमा कति छ भनेर देखाएको छ । विद्यार्थीलाई कति महत्त्वूर्ण र अत्यावश्यक छ भन्ने कुरा स्वतः प्रमाणित गर्छ ।

यसबाट विश्वविद्यालयस्तरीय पढाइका लागि धेरैजसो ढोका बन्द हुने अवस्था सृजना गरिँदैछ । भविष्यमा विश्वविद्यालयहरूले गणित विषय पढेको हुनुपर्ने प्रावधानलाई हटाएर सहजीकरण गर्लान् । तर इन्जिनियरिङ, वनविज्ञान, कृषि तथा सूचना प्रविधिको अध्ययन अध्यापन गुणस्तरीय हुन्छ ? अन्तराष्ट्रिय जगतमा हाम्रो उत्पादन प्रतिस्पर्धी हुन्छ ? हाम्रा उत्पादनलाई विश्वजगतले मान्यता दिन्छ ? कि फेरि विद्यार्थीहरूले पुनः वृजकोर्स पढ्नुपर्ने ? यसरी विश्वविद्यालयस्तरीय अध्ययनका लागि बनाइएका अनिवार्य शर्त तथा गुणस्तरीय पढाइको पक्षलाई पूर्णतः बेवास्ता गरी हचुवाका भरमा पाठ्यक्रम बनाई विद्यार्थीहरूको भविष्यप्रति खेलवाड गरेको देखिन्छ ।

गणित हटाउदा विश्वविद्यालयको पढाइको ढोका बन्द हुने हो ?

त्रिविमा इन्जिनियरिङ पढ्न कक्षा ११ र १२ मा दुई सय पूर्णाङ्क बराबरको गणित विषय पढ्नु अनिवार्य छ । पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा बायोलोजी समूहका विद्यार्थीले कक्षा एघारमा १०० पूर्णाङ्कको भए पनि गणित पढेर इञ्जिनियरिङमा प्रवेश पाउने सुविधा उपभोग गरिरहेका छन् । अहिले प्रस्तावित पाठ्यक्रमलाई कार्यान्वयन गर्ने हो भने विद्यार्थीहरू इन्जिनियरिङ पढने अवसरबाट पनि वञ्चित हुने दुर्भाग्यपूर्ण अवस्था सृजना हुनेछ ।

त्यस्तै, वनविज्ञान, कृषि विज्ञान, विम्याथएससी जस्ता विषय पढ्न पनि कक्षा ११ वा १२ मा १०० पूर्णाङ्कको गणित र जीव तथा वनस्पति विज्ञान विषय पढेको हुनैपर्छ । तर अब लागू गर्न खोजिएकोे पाठ्यक्रम अनुसार भौतिक विज्ञान समूहले जीव विज्ञान पढ्न नपाउने र जीव विज्ञान समूहले गणित पढ्न नपाउने अवस्था छ ।

विज्ञान विषय बाहेकका विषयहरुमा गणितको उपयोगिता कतिको छ ?

हालसम्मको व्यवस्थाअनुसार भविष्यमा सिए, बीबीए र आइटी पढ्छु भन्ने विद्यार्थीले गणित र व्यावसायिक गणित विषय पढ्न पाउँथे । तर प्रस्तावित पाठ्यक्रम अनुसार व्यवस्थापन पढ्ने विद्यार्थीले चाँहदाचाहँदै पनि गणित र व्यावसायिक गणित दुवै पढ्न पाउने अवसरबाट पनि बञ्चित हुने देखिन्छ । यसले जग कमजोर भई विद्यार्थी सिए, बीबीए, बीसीए र आइटी पढ्ने अवसरबाट वञ्चित हुने स्थिति आउँदैछ ।

रोजगारीका क्षेत्रमा गणितको उपयोगिता कतिको छ ?

उच्च शिक्षाका क्षेत्रमा मात्र होइन, रोजगारीका क्षेत्रको उपयोग गर्ने अवसरबाट पनि प्रस्तावित पाठ्यक्रमको प्रारुपले विद्यार्थीहरुलाई वञ्चित गर्ने स्थिति सृजना भएको छ । जागिरका लागि विभिन्न पदमा परीक्षा दिँदा गणित र आइक्यु विधा समावेश गरिने तर ११ र १२ को प्रारूपमा गणितलाई महत्त्व नदिने विरोधाभाष कार्य छ ।

कक्षा ११ र १२ को विज्ञान विषयमा भएको गणित हटाउने तयारीमा केन्द्र किन लागेको होला ?

गणित तथा विज्ञान विषयको धरातल अतिशय दुर्बल हुने गरी पाठ्यक्रमको प्रारूप तयार गर्नुका पछाडि सम्बद्ध पक्षले विज्ञान प्रविधिजस्तो विधा पढ्न सकेनन् । रुचि भएन, उत्तीर्ण प्रतिशत ज्यादै कम भयो भन्ने असङ्गत तर्क अघि सार्ने गरेको छ ।

यस्तै, सरदरमा हरेक वर्ष कक्षा ११ मा करिब ३ लाख ५० हजार विद्यार्थी भर्ना हुन्छन् । तीमध्ये विज्ञान विषय लिई पढ्ने विद्यार्थी करिब ५० हजार मात्र हुन्छन् । त्यसैले ठूलो हिस्सा ओगटेको विद्यार्थी वर्गलाई लक्ष्यित गरी पाठ्यक्रमको प्रारूप बनाइएको हो भन्ने तर्क पनि अगाडि सारिएको छ । यस्तै, फेरि कक्षा ११ र १२ विद्यार्थीको उत्तीर्ण प्रतिशत कम भयो भनेर पनि गणित जस्ता विषयलाई पन्छाएर सामाजिक विज्ञानका विषयलाई अनिवार्य बनाइँदैछ ।

यसबाट करिब पचासौँ हजारको संख्यामा रहेको विपुल प्रतिभावान् विद्यार्थी वर्गलाई विज्ञान तथा प्रविधि विषय पढ्ने अवसरबाट वञ्चित गरिँदैछ । उच्च, दक्ष र बौद्धिक जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम बनाउनुको सट्टा उत्तीर्ण प्रतिशत बढाउने खेलमा पाठ्यक्रमलाई अपाङ्ग बनाउन हुन्छ ? माध्यमिक शिक्षालाई प्रमाणपत्र वितरण गर्ने थलो बनाउने हो ? पचासौँ हजारको संख्यामा रहे पनि विराट प्रतिभासम्पन्न विद्यार्थीको प्रविधि विषय पढ्ने अवसरबाट वञ्चित गर्न मिल्छ ?

सरकारले शिक्षा नीति बनाउन पाउछ, तपाईँहरुले भने जस्तै हुनु पर्ने किन ?

नीति निर्माण सरकारले गर्ने भए तापनि सरकारले हालसालै ल्याएको राष्ट्रिय शिक्षा नीतिमा सबै तहको शिक्षामा विज्ञान, प्रविधि इन्जिनियरिङ्ग र गणित शिक्षालाई पाठ्क्रमको अभिन्न अङ्ग बनाउने कुरा र हालसालै केन्द्रले ल्याउन खोजेको पाठ्यक्रमको प्रारूपमा यस नीतिलाई बेवास्ता गरेको त देखिन्छ ।

प्रस्तावित पाठ्यक्रमको प्रारुपले देश विकासमा कस्तो योगदान गर्ला ?

गणित विषय सम्पूर्ण ज्ञानविज्ञान तथा भौतिक समृद्धिको प्रविधिको आधारस्तम्भ हो । यो विषयको ज्ञानबिना भौतिक समृद्धिको सुदृढ जग बसाउँछौँ भन्नु दिवास्वप्न मात्र हो । यस्तो आधारस्तम्भलाई पन्छाएर कसरी उच्च दक्ष जनशक्ति उत्पादन हुन्छ, कसरी दिगो विकासको जग निर्माण हुन्छ र समृद्ध नेपालको निर्माण वर्तमान सरकारको महत्तम लक्ष्य कसरी पूरा गर्न सकिन्छ भन्ने प्रश्नहरू तड्कारो रूपमा सृजना भएका छन् ।

गणित अप्ठेरो विषय भएकोले पनि हटाइएको भनिन्छ, आजको समयले कस्तो गणितको पाठ्यक्रम खोजिराखेको छ ?

हुन त पाठ्यक्रम निर्माण गर्दा अप्ठेरो र निरसिलो पार्ने प्रवृत्ति नभएको त होइन । यसको बारेमा हामीपछि छलफल तथा अभियान चलाउने छौँ । अहिले यो विषयमा गहिराइमा जान चाहन्न ।

आजको समाजमा सुन्ने र घोक्ने गणित होइन सुन्ने, देख्ने र प्रयोग गर्नेे गणितको आवश्यकता छ । तसर्थ पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्दा विज्ञहरूको राष्ट्रिय आवश्यकता, विद्यार्थीको सामथ्र्य, सुदूर भविष्य, रुचि तथा समकालीन विश्वका विभिन्न देशहरूमा भएको सफल प्रयोग र प्रचलनहरूतर्फ पनि ध्यान पुग्नु आवश्यक ठान्दछु ।

पाठ्यक्रम विकास केन्द्रले के भनिरहेको छ ?

नेपाल गणित समाजका पहलमा केन्द्रीय विभागका विभागीय प्रमुखहरु र विज्ञान तथा गणितसँग सम्बन्धित समाजका प्रतिनिधिहरुको हस्तक्षर सहितको विरोधपत्र बुझाइ सकिएको छ । हामीले बारम्बार पाठ्यक्रम विकास केन्दका निर्देशक डा लेखनाथ पौडेललाई भेटेर गणितको बारेमा सचेत गराइराखेका छौ । उहाँले सकारात्मक कुरा गर्नुभएको त छ । तर हामी विश्वस्त छैनौँ । हामी शिक्षामन्त्रीज्यू र प्रधानमन्त्रीज्यूलाई पनि भेट्ने प्रयास गरिराखेका छौँ ।

तपाँईहरुको विचारमा अहिलेको समस्याको समाधान कसरी गर्ने त ?

अहिलेको ११ र १२ को प्रारुपको ड्राफ्टमा परिवर्तन गर्नुपर्छ । पहिलो विकल्पः अनिवार्य विषय कम्तीमा एक वटा घटाएर कम्तिमा एउटा ऐच्छिक विषय थपेर चारवटा बनाउने । दोस्रो विकल्पः सामाजिक अध्ययन र जीवन उपयोगीको सट्टामा विद्यार्थीहरूले चाहेमा गणित विषय रोज्न पाउने ।

यी दुई विकल्पमध्ये पहिलो विकल्प उत्तम विकल्प हो । पहिलो विकल्पमा जानै नसक्ने हो भने दोस्रो विकल्प पनि उपयोगी देखिन्छ ।