आगामी तीन वर्षसम्ममा लघुवित्त संस्थाको संख्या २५ वटामा झार्नुपर्छ- डेपुटी गभर्नर

  २०७६ माघ ६ गते १७:३१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले आगामी तीन वर्षसम्ममा लघुवित्त संस्थाहरुको संख्या २५ देखि ३० वटाको संख्यामा झार्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिकोत्सवको एक समारोहमा उक्त कुरा बताएका हुन् ।

उनले लघुवित्त संस्थाहरुको संख्या वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धा वृद्धि भएकोले गुणस्तरीय सेवा प्रभाहका लागि संस्थाहरुले मर्जर नीति अवलम्बन गर्न सल्लाह दिएका छन् । साथै, उनले गुणस्तरीय र दीगो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न प्रविधिमा लगानी गर्नुपर्ने आवश्यकता समेत रहेको बताएका छन् । वार्षिकोत्सवको शुभकामना दिँदै यस संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रुपमा सदस्यलाई लघुवित्त सेवा पुर्याएको उनले बताए ।

वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएको र यस पटक पनि सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सब समारोहको आयोजना गरेको छ ।

समारोहमा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले लघुवित्त कार्यक्रममा आवद्ध भई कर्जाको सदुपयोग गर्न सके आर्थिक अवसर श्रृजना हुने बताएका छन् । लघुवित्त नाफामूखी व्यवसाय नभई सेवा मूलक व्यवसाय रहेको उनको भनाई थियो । लघुवित्त क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको छवीमा ठूलो असर पुगेको र यसलाई समयमै सुधार गर्न नियामक निकायले विशेष भूमिका खेल्नुपर्ने उनले जानकारी दिएका छन् ।

संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठले लघुवित्त गरिवी निवारणको उपयुक्त अस्त्र भएकोले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताए । लघुवित्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध सदस्यहरुको आयस्तरमा वृद्धि गर्न उनीहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिमको आवश्यकता रहेकोले सोही अनुरुप लघुउद्यमशीलता विकासका लागि वित्तीय संस्था अगाडी बढ्ने बताए ।

समारोहमा वित्तीय संस्थामा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघुउद्यमी, वचतकर्ता तथा केन्द्रहरु, संचालक समितिका पूर्व संचालकहरु लगायत २० वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै, उत्कृष्ट शाखा कार्यालय, कर्मचारीका छोराछोरीहरु मध्ये २०७५ सालको एसइइ परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ६ जनालाई नगद सहित सम्मान-पत्र प्रदान गरिएको थियो ।

संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका १४० शाखा कार्यालयबाट २ लाख ४५ हजार घरपरिवारलाई प्रत्यक्ष सेवा पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.