विदेशमा घुम्ने र पढ्ने नेपालीकाे सख्या घट्याे, सरकारलाई सेवा व्यापारमा पाैने ५ अर्ब लाभ

  २०७६ माघ ५ गते १९:२९     विकासन्युज

काठमाडौं । विदेश घुम्न जाने र विदेश अध्ययन गर्ने जाने नेपालीको खर्चमा धेरै नियन्त्रण भएको छ । सरकारले विदेश भ्रमणमा जाने र पढ्न जाने विद्यार्थीका लागि नीतिगत रुपमा कडाई गर्दा सरकारलाई उल्लेख्य फाइदा पुगेको छ ।

मंसिर महिनासम्ममा सेवा आयात ४ अर्ब ७१ करोडले कमी आएको छ । समीक्षा अवधिमा खुद सेवा आय रु.३ अर्ब ७८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.८ अर्ब ४९ करोडले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा १३.४ प्रतिशतले वृद्धि भई रु.३६ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.३२ अर्ब ४९ करोड रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय २३.७ प्रतिशतले कमी आई रु. ३१ अर्ब ५२ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको खर्च रु.१४ अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.४१ अर्ब ३४ करोड र सो मध्ये शिक्षातर्फको खर्च रु.२२ अर्ब १४ करोड रहेको थियो ।

निर्यात २७ प्रतिशतले वृद्धि

आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा कुल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई रु.४७ अर्ब ६२ करोड पुगेको छ । भारततर्फ ४८.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रड लगायतका वस्तुहरुको निर्यात घटेकोछ ।

आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटेर रु.५८१ अर्ब २६ करोड कायम भएको छ । भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत र २ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १५.६ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ को पाँच महिनासम्ममा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले घटी रु.५३३ अर्ब ६४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो ।

विप्रेषण आप्रवाह वृद्धि शुन्य

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.१ प्रतिशतले बढी रु.३७६ अर्ब ९९ करोड कायम रहेको छ । तर यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३८.४ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.४ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा चालु खाता घाटा रु.७० अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.११९ अर्ब ३३ करोड रहेको थियो । शोधनान्तर स्थिति रु.२३ अर्ब ३० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.८५ अर्ब ३२ करोडले घाटामा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.