मंसिरमा मूल्य वृद्धि दोब्बर, राष्ट्र बैंककाे तथ्याङ्क भन्छ-‘तलबी कर्मचारीलाई मर्का पर्दैन’

  २०७६ माघ ५ गते १९:०२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा मूल्यवृद्धि दोब्बर हुने भएको छ । २०७६ मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, फलफुल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणहरु उपसमूहको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं उपत्यकामा ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

मूल्य वृद्धिको असर भारतबाट आएको केन्द्रीय बैंकको तर्क छ । नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेकोमा भारतमा यस्तो मुद्रास्फीति ७.३५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको नेपाल र भारतको मुद्रास्फीति क्रमशः ३.७१ प्रतिशत र २.११ प्रतिशत रहेको थियो ।

पेट्राेलियम पदार्थमा बारम्बार मूल्य वृद्धि भएकाेले मुद्रास्फितिमा बढी चाप परेकाे अर्थशास्त्रीहरू बताउँछन् । चालु आर्थिक वर्षमा पेट्राेलियम पदार्थकाे मूल्य चार पटक वृद्धि भैसकेकाे छ ।

मूल्यवृद्धि उच्च भएपनि कर्मचारीलाई मर्का नपरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । मंसिरमा मुद्रास्फीति ६.५५ प्रतिशत कर्मचारीको तलब तथा ज्यालादर सूचकाङ्क १०.०४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ९.३० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.०६ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.