माउभन्दा सहायक कम्पनी बोटलर्स नेपाल (तराई) को सेयर किन महंगो ? (समग्र विश्लेषण)

  २०७६ माघ ५ गते १०:१५     विकासन्युज

काठमाडौं । बोटलर्स नेपाल (तराई) ले कोकाकोला, फेन्टालगायत पेय पदार्थ उत्पादन गर्छ । कम्पनीले यो वर्ष पनि ४० प्रतिशत नगद लाभांश दिएको छ । यस्तै, कम्पनीमा इन्भेन्ट्रिज बढिरहेको छ भने माउ कम्पनी बोटलर्स नेपाल (बालाजु) को भन्दा बढी लाभांश दिएको छ । कम्पनीको सेयर मूल्य पनि माउ कम्पनीको भन्दा बढी छ । यही सन्दर्भमा बोटलर्स नेपाल (तराई) को अवस्था, सेयर बजारमा प्रभाव र लगानीको अवस्था जस्ता तथ्यमा आधारित भएर यो विश्लेषण तयार पारिएको छ ।

२०४४ सालतिर स्थापना भएको कोका कोला उत्पादक कम्पनी बोटलर्स नेपालको दोस्रो प्लान्टको रुपमा बोटलर्स नेपाल (तराई) को स्थापना भएको हो ।

बजार सेयर मूल्य (६ हजार २ सय रुपैयाँ) को आधारमा कम्पनी यो समूहमा दोस्रो स्थानमा छ । जबकि माउ कम्पनी बोटलर्स नेपाल (बालाजु) को समेत सेयर मूल्य यसकोभन्दा कम (१ हजार ८ सय ३०) रुपैयाँ छ ।

लगातार लाभांश नदिने माउ कम्पनीले यस बर्षसमेत लाभांश दिएन । यो कम्पनीमा बोटलर्स नेपाल (बालाजु) को ९०.७८ प्रतिशत सेयर र सर्वसाधारणको ९.२२ प्रतिशत लगानी छ । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (बालाजु) मा कोकाकोला साउथ वेष्ट एशिया होल्डिङस्को ७६.१६ प्रतिशत लगानी छ ।

उत्पादन

कम्पनीले अहिले कोकाकोला, स्प्राइट, फ्यान्टा, कोक जिरो, माजा र किन्ले जस्ता गैरमदिराजन्य पेय पद्धार्थ उत्पादन गर्दै आएको छ । विश्वविख्यात ब्राण्डका यी उत्पादन अधिकार यो कम्पनीसँग मात्रै रहँदै आएको छ । कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेअनुसार सन् २०१९ जुलाईसम्म समग्र पेय पद्धार्थको बजारमा कम्पनीको हिस्सा ७१ प्रतिशत छ ।

बोटलर्स नेपाल तराईले २५० एमएलका बोटल प्रतिमिनेट ७ सय ६६ वटा र ५ सय एमएलका ६ सय एमएल प्याक गर्न सक्ने सिंगल सर्भ प्याक मेसिनसमेत थपेको छ । कम्पनीले बार्षिक १७ लाख क्रेट (प्रति क्रेटमा २४ बोतल हुन्छ) उत्पादन गर्दै आएको छ ।

संस्थागत सुशासनमा अब्बल

कम्पनीले संस्थागत सुशासनमा चार वर्षदेखि लगातार विभिन्न उपाधि हासिल गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान) ले यो विधामा दिने उपाधिमा सन् २०१५ मा सेकेण्ड रनरअप, २०१६ मा फस्र्ट रनरअप, २०१७ मा बिजेता र २०१८ मा फस्र्ट रनरअप हुन सफल भएको छ । माउ कम्पनीसँगै यो कम्पनी पनि पुरस्कृत भएको हो ।

लाभांश

गत २० कात्तिकमा ३३औं बार्षिक साधारणसभा गरेको कम्पनीले ४० प्रतिशत नगद लाभांश प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीले ५ वर्षमा औसतमा ३०.४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हालसम्म नगद लाभांश मात्रै प्रस्ताव गर्दै आएको छ । दुई वर्षदेखि उही दरमा लाभांश दिइरहेको छ ।

अन्य कम्पनीसँग कारोबार

बोटलर्स नेपाल (बालाजु) बाट गत वर्ष कम्पनीले २१ करोड रुपैयाँको बिभिन्न करोबार गरेको छ । यस्तो कारोबारमा कच्चा पदार्थ खरिद बिक्रीदेखि अन्य करोबार छन् ।

वित्तीय अवस्था

चालु आवको पहिलो त्रैमाशमा कम्पनीको सञ्चालनबाट आम्दानी (उत्पादन बिक्रीसहित) ४.३५ प्रतिशतले घटेपनि नाफा रकममा ८.४६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले उत्पादन र बिक्री खर्च कम गर्न सकेको कारण कुल नाफा मात्र होइन, खुद नाफा वृद्धिमै सहयोग पुगेको छ । कम्पनीले ३० करोड रुपैयाँ कमाएको छ ।
कम्पनीले उत्पादनको लागि स्टोर गरिने कच्चा पद्धार्थहरु वृद्धि भइरहेको जनाएको छ । पहिलो त्रैमाश अवधिमा बार्षिक ९२ करोड बराबरको इन्भेन्ट्रिज (कच्चा पद्धार्थ) छ । यो अवधिमा भने यसमा २१ प्रतिशतले बढेको छ । इन्भेन्ट्रिज बढिरहेमा यसले सामान बिग्रने सम्भावना समेत थप बढ्दै जान सक्ने संकेत गर्छ । कहिलेकाँकी भने उत्पादन बढाउने उद्देश्यले समेत इन्भेन्ट्रिजमा वृद्धि भइरहेको हुन सक्छ । बिक्री आम्दानी घटेकोले कच्चा पद्धार्थ थुप्रिएको हो कि भन्ने शंका गर्न सक्ने अवस्था भने छ ।

–निकै कम लगानीकर्ताको हातमा सेयर
–निरन्तर नगद लाभांश
–७६ प्रतिशत बजार हिस्सा
–लगानीअघि पर्खनु उचित

कम्पनीले व्यापारको क्रममा भुक्तानी गर्नुपर्ने रकम ९८ प्रतिशतले बढेर १ अर्ब ४८ करोड पुगेको छ । कम्पनीले लिनुपर्ने रकम भने ६१ प्रतिशतले घटेर २० करोड ५६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले बजारबाट पैसा उठाउन सकेको देखिन्छ । कम्पनीले बजारमा तिर्न बाँकी रकम बढेको भएपनि आत्तिनु पर्ने अवस्था भने छैन । दायित्व तिर्नै नसक्ने अवस्थामा मात्रै डराउनु पर्ने हो ।

कम्पनीको प्रतिसेयर आम्दानी (त्रैमाशिक) २ सय ४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६ गुणा र प्रतिसेयर नेटवर्थ २ हजार १ सय ९१ रुपैयाँ रहेको छ । कम्पनीको १ रुपैयाँको कमाईलाई बजारका लगानीकर्ताले २६ रुपैयाँसम्म हालिरहेको मूल्य आम्दानी अनुपातले देखाउँछ । कम्पनीको मूल्य खासै अधिमूल्यन भएको देखिदैन । यो नेटवर्थको ३ गुणा छ ।

सेयर विश्लेषण

विगत १ वर्षमा १ सय ६ पटकमात्र कम्पनीको सेयर किनबेच भएकोमा गत १८ दिनमा १० पटक कारोबारमा आएको छ । यसले कारोबारमा तीव्रता आएको देखिन्छ । पछिल्लो १ वर्षमा कम्पनीको सेयर कारोबार दैनिक औसत ८८ कित्ताको दरमा भइरहेको छ । कम्पनीको सेयर निकै कम मानिसको हातमा छ ।

कम्पनीको आरएसआई सूचक ५३.९७ छ । यसले कारोबार सन्तुलित क्षेत्रमा रहेको संकेत गर्छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ ।

बोनस सेयर समायोजन पछि ७ दिने रेखा २१ दिनेभन्दा मुनि रहेको भएपनि केही समयअघि मात्रै माथि उक्लिएको छ । अर्थात् गोल्डेन क्रस भएको छ । यसले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गरिरहेको छ । तर, यी रेखा निकै नजिकिएकोले ध्यान दिनुपर्ने देखिन्छ । २१ दिनेभन्दा माथि लागेमा डेथ क्रस हुनेछ र मूल्य केही समय घट्नेछ ।

पीभट विश्लेषणले आगामी महिना काराबोरमा ६ हजार ३ सय ९५ मा पहिलो प्रतिरोध र ६ हजार ८ मा पहिलो टेवा पाउने संकेत गर्छ ।

कम्पनीको सेयर मूल्यले सात कारोबार दिन अगाडी ठूलो सेतो मैनवत्ति र त्यसपछि कालो मैनवत्ति बनाएको छ । कालो मैनवत्तिको शरीर सेतोको शरीर भन्दा बाहिर गएको छैन । यसले हरामी वियरिश आकृति बनाएको छ । मूल्य घट्ने यसको संकेत भएपनि यो दरिलो संकेत भने होइन । तर, पछिल्ला दिनमा पनि मूल्य सेतो मैनवत्तिले बनाएको उच्चमूल्य माथि जान नसकेकोले मूल्य बढिहाल्ने सम्भावना कम नै देखिन्छ । थोरै कित्ता सेयर कारोबार हुने यो कम्पनीको प्रविधिक विश्लेषणले केही संकेत गरेपनि पूर्णत सही संकेत नदिन पनि सक्छ । आगामी कारोबार हेरेरै लगानी गर्नु उचित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.