के हो यती ? किन प्रयोग भयो नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा ?

  २०७६ माघ ३ गते १९:४७     सन्तोष रोकाया

भ्रमण वर्षमा प्रयोग गरिएको यती

काठमाडौं । नेपाल भ्रमण २०२० को सचिवालयले भ्रमण वर्षको प्रचार प्रसारमा यती अर्थात हिम मानवको प्रयोग गरेको छ । भ्रमण वर्ष २०२० मा १ सय ८ यतीहरु प्रयोग गर्ने लक्ष्यका साथ सचिवालयले विभिन्न ठाउँमा यती राखेको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले विभिन्न कालाकारले कलाकृतिमा यतीको अस्तित्व प्रस्तुत गरेका हुन् ।

भ्रमण वर्षमा यतीको प्रयोगसँगै यसको प्रयोग किन गरियो भनेर धेरैको चासोको विषय बनेको छ । सबैको चासोको विषय बन्नुको मू्ख्य कारण हो नेपाल भ्रमण वर्ष । पर्यटन प्रवद्र्धन र भ्रमण वर्षको प्रचार प्रसारका लागि सचिवालयले यतीको प्रयोग गरेको बताएको छ ।

आखिर यती मात्रै भ्रमण वर्षको प्रचारका लागि किन राखियो ? यसको सान्दर्भिकता के हो ? र यतीको प्रचार पछाडिका मूल्य मान्यता के हुन् भन्ने लगायतका अनुत्तरित प्रश्नहरु आमनागरिकमा व्याप्त छन् ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममै सचिवालयले यतीको पयोग गरेको थियो । अहिले १ सय ६ कलाकारले यतीलाई नै मूख्य विषय बनाएर काम गरिरहेका छन् । २२ वटा यती तयार भइसकेको सचिवालयले जनाएको छ । कलाकारले निःशुल्करुपमा यतीको आकृति तयार पारेर भ्रमण वर्ष २०२० लाई सहयोग गरेको सचिवालयले जनाएको छ ।

नेपाल भ्रमण वर्षको सचिवालयअन्तर्गत गठित यती आर्ट कमिटीले यतीको मूर्ति बनाउने जिम्मा पाएको छ । झण्डै सात फूट अग्ला दर्जनौं मस्कट कलाकारले बनाइरहेका छन् ।

यती बनाउनका लागि सचिवालयले आर्ट कमिटी पनि गठन गरेको छ । यती आर्ट कमिटीका संयोजक प्रेमप्रभात गुरुङले यतीको घर नेपालका हिमालय हुन् भनेर संसारभरि चिनाउने उद्देश्य राखेर मूर्ति बनाइएको बताए ।

यतीको सांकेतिक तस्विर

यतीलार्ई डरलाग्दो जीवको रुपमा प्रस्तुत गर्नुभन्दा पनि कलात्मक रुपमा नेपालको मौलिकता झल्किने गरी यती प्रस्तुत गरिएको उनको भनाइ छ ।

यतीको मस्कट बनाइसकेपछि पर्यटक आवतजावत गर्ने स्थानहरुमा राखिने भनिएको छ । हाल तयार भइसकेका मूर्ति ठमेलस्थित दलाई ल आर्ट बुटिक, सुन्धारस्थित सिभिल मल, लैनचौरस्थित केशर महल परिसरमा राखिएका छन् । चित्रकारहरुले पृष्ठभूमिमै हिमाल र यतीकोे सम्बन्धलाई खोतल्ने प्रयास गरेका छन् ।

पर्यटनविद् निक्की श्रेष्ठले नेपालका हिमाल र यतीको प्रचारका लागि पनि यती प्रयोग गरिएको बताइन् । भ्रमण वर्ष सचिवालयले यतीलाई मसक्टको रुपमा प्रयोग गरिएको उनको भनाइ छ ।

‘हामीसँग धेरै हिमाल छन्, ती हिमालसँग पर्यटकलाई परिचित गराउन यतीको प्रयोग गरिएको हो,’ उनले भनिन् ।

नाम्चेको माथिल्लो भागका हिमालमा यतीको टाउको छ भन्ने विश्वास छ, त्यसलाई प्रचार गरौं भन्ने आफूहरुको मानसिकता भएको उनको भनाइ छ । यतीको मूर्ति बनाउनाले स्थानीय कलाकारहरुलाई पनि प्रोत्साहन हुने उनले बताइन् ।

यसले पनि अन्तर्राष्ट्रियस्तरमा नेपाली कलाकारको कलाको पनि प्रचार हुने श्रेष्ठको भनाइ छ । नेपाल भ्रमण वर्ष २०२० को प्चार प्रसारमा किवदन्तीमा आधारित हिममानव यतीलाई प्रतिकका रुपमा प्रयोग गरिएको छ ।

के हो यती ?

यती एउटा ढेडु प्रजातिको जनावर हो । जुन नेपाल र तिब्बतको हिमाली क्षेत्रमा पाइने विश्वास गरिन्छ । यती र मेह–तेह नाम स्थानीय बासिन्दाले प्रयोग गर्ने नाम हो । र, यी नाम इतिहास तथा किम्बदन्तिमा समेटिएका छन् ।

किम्बदन्तिको रुपमा रहेको यो जीवको हालसम्म कुनै प्रामाणिक अस्तित्व भने भेटिएको छैन । पश्चिमी देशहरुमा यतीको कथा १९औं शताब्दीतिरबाट शुरु भएको थियो ।

यती अर्थात हिममानवको बारेमा त्यति धेरै खोजतलास देँखिदैन । तर, यसको खुट्टाको छाप र कपालको बारेमा भने केही आलेख प्रकाशित छन् । योे प्राणीको आजसम्म कुनै पनि चित्र खिचिएको छैन । अर्थात कसैले पनि यो जीव भेटेका छैनन् । यो औसत व्यक्तिको उचाईभन्दा अग्लो हुन्छ भनेर वर्णन गरिएको छ ।

के छ किम्बदन्ति ?

यती सम्बन्धि कुनै अनुसन्धानात्मक कार्यपत्रहरु खासै भेटिँदैनन् । तर, हिमालमा घुम्न जाने केही पर्यटकहरुले भने पहिले यतीका खुट्टाको छाप भेटिएको दावी गरेका छन् । नौ महिना अगाडि नेपालको मकालु हिमालको आधार क्षेत्रमा रहस्यमय हिममानव यतीको पाइला (फुटस्टेप) भेटिएको भारतीय सेनाको एक टोलीले दाबी गरेको छ ।

भारतीय सेनाका अनुसार तस्वीरहरु अप्रिल ९ मा खिचिएको हो । यतीको पद चिह्नको लम्बाई २.६ फिटको रहेको उसले जनाएको थियो ।

धेरैले यती देखेको दावी गर्दै आएपनि ठोस प्रमाण पेश गर्न सकेका छैनन् । यतीलाई आधामानव र आधा चिम्पान्जीको रुपमा बुझ्ने गरिएको छ । सन् २०१४ मा एउटा विवादास्पद अध्ययन प्रतिवेदन सार्वजनिक भएको थियो, जसमा भुटान र उत्तरी भारतबाट यतीकोे भुत्लाको नमुना संकलन गरिएको दावी गरिएको थियो । वैज्ञानिकहरुले भने यतीको ठोस अनुसन्धान गरेका छैनन् ।

यतीको सांकेतिक तस्विर

अन्तर्राष्ट्रिय सञ्चार माध्यमा ‘द सन’का अनुसार यती पदचिह्नको चित्र पहिलो पटक देखा पर्यो । उसका अनुसार सन् १९५१ मा बेलायती पर्वतारोही एरिक शिम्प्टनले ठूलो पदचिह्न पनि प्राप्त गरे, जुन उनले आफ्नो क्यामेरामा खिचेको उल्लेख गरिएको छ ।

त्यसयता पनि यो हिमालयन पौराणिक प्राणी बारे छलफल चल्दै आएको छ । यती हिम नदीहरुमा स्थानीय समुदायले पूजा गर्ने आदिम जीव हो भन्ने विश्वास गरिन्छ । बाँदर जस्तो देखिने यो प्राणी प्राणी एक ठूलो ढुङ्गाको हतियारको साथ हिँड्ने र सिठ्ठी जस्तो आवाज निकाल्ने केही आखेखहरुमा उल्लेख गरिएको छ ।

तिब्बतमा यसलाई माइचे भनिन्छ । जसको अर्थ मान्छे जस्तो भालु हो । तिब्बतीहरुले यसलाई ‘डिजु–तेह’ नामले चिन्छन् । जसको अर्थ हिमाली भालु हो । अन्य नामहरुमा मिगन (जंगली मानिसहरुका लागि तिब्बती), बुन मिन्ची (वनमान्छे) आदि हुन् ।

वैज्ञानिकहरुले हिउँ मानवहरुलाई धुव्रीय र खैरो भालुको उपनामले पनि वर्णन गरेका छन् । यसको बारेमा सन् २०१३ मा अक्सफोर्ड विश्वविद्यालयमा एक अध्ययन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.