घट्दो रेमिटान्स र भारतीय अर्थतन्त्रको संकुचनले नेपालमा असर पुर्याउन सक्छः आईएमएफ

  २०७६ माघ ३ गते १९:१४     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतीय अर्थतन्त्तमा आएको संकुचन र नेपालको घट्दो रेमिटान्सलसे नेपाली अर्थतन्त्रलाई नकारात्मक असर पुर्याउन सक्ने औल्याएको छ ।

नेपाल आएको आईएमएफको आर्टिकल फोर मिसनले अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिव, राजस्व सचिव तथा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरुको समेत सहभागिता भएको समापन बैठकमा यस्तो धारणा राखेको हो ।

मिसन प्रमुख लाउरा जरमिलोले भारतको अर्थतन्त्रमा आएको संकुचन तथा विप्रेषण (रेमिटान्स) मा हुनसक्ने सम्भावित कमीले चालु आर्थिक वर्षमा अपेक्षा गरेअनुसारको आर्थिक बृद्धिमा कमी आउन सक्ने धारणा राखेका हुन् ।

यस्तै, प्रतिकूल मौसमका कारण कृषि उत्पादनमा आउने सक्ने कमीका कारण पनि चालु आर्थिक वर्षमा नेपालले अनुमान गरे अनुसारको आर्थिक वृद्धिमा केही कमी आउन सक्ने आईएमएफको आँकलन छ । तर, नेपाल सरकारले गरेको सुधारका प्रयास सही दिशातर्फ उन्मुख भएकोले मध्यम तथा दीर्घकालमा यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिने आईएमएफको भनाइ छ ।

वित्तीय पहुँच तथा समावेशितामा भएको प्रगति, मौद्रिक तथा वित्तीय क्षेत्रमा भएका सुधार प्रयासलाई निरन्तरता दिदै मध्यम आय भएको देशमा रुपान्तरण हुन नेपालले पूर्वाधार लगानीमा अझबढी जोड दिनुपर्ने मिसन प्रमुखले बताए ।

मिसन प्रमुख जरमिलोले नेपालले पछिल्लो समयमा समग्र आर्थिक स्वास्थ्यमा गरेको सुधारको प्रशंशा गर्दै २०७२ सालमा गएको विनाशकारी भूुकम्पबाट भएको क्षतिको बाबजुद बढ्दो राजनीतिक स्थिरता, नीतिगत सुधार, विद्युत आपूर्तिमा भएको सुधार र पुनर्निर्माण क्रियाकलापले गर्दा नेपालको अर्थतन्त्र विगत केही वर्षहरुमा पूर्वअनुमान गरेभन्दा बढी विस्तार भएको बताए ।

चालूपूँजी खातातर्फको घाटा सुधार हुँदैगएको, कर्जा प्रवाहमा सुधार देखिएको, विदेशी मुद्राको सञ्चिती बढ्दै स्थायित्वतर्फ अग्रसर भएको तथा व्यापार घाटा क्रमशः कम हुँदै गएको आईएमएफको भनाय छ । पछिल्लो समय नेपालमा गरिएको सुधारको प्रयासले व्यावसायिक वातावरण अनुकूल बन्दै गएको भन्दै आईएमएफले सुधार कार्यक्रमलाई संस्थागत, दिगो र थप प्रभावकारी बनाउन जोड दिनुपर्ने उल्लेख गरेको छ ।

गरिबी निवारणमा नेपालले हासिल गरेको प्रगति तथा संविधानले मार्गनिर्देश गरेअनुसार वित्तीय संघीयता कार्यान्वयनमा छोटो समयमा नेपालले प्राप्त गरेको उपलब्धिको आईएमएफले सह्राहना गरेको छ । कसिलो समष्टिगत आर्थिक नीतिसहित वित्तीय स्थायित्व हासिल गर्नुपर्ने मिसन प्रमुख जरमिलोले जोड दिए ।

भन्सार र राजस्व प्रशासनमा पछिल्ला समयमा गरिएका सुधारका प्रभाव क्रमशः देखिन थालेको र सो तथ्य आयातमुखी राजस्व परिचालन क्रमशः आन्तरिक श्रोततर्फ स्थानान्तरण हुन गएको घटनाले पुष्टि गरेको आईएमएफको भनाइ छ ।

अर्थमन्त्री डा. खतिवडाले नेपालमा हाल अर्थतन्त्रका अधिकांश परिसूचकहरु सकारात्मक रहेका, करिब १ अर्ब अमेरिकी डलर बराबर वैदेशिक लगानीको सम्झौता भैसकेको तथा सहमति भैसकेका आयोजनाहरु तुरुन्त कार्यान्वयन गर्न सकिने अवस्थामा रहेको बताए ।

केही ठूला आयोजनाहरु यसै वर्ष सम्पन्न हुने र केही आगामी वर्षमा सम्पन्न हुने अवस्थामा रहेको, रेलमार्ग निर्माण तथा सडक मार्गको स्तरोन्नतिका ठूला आयोजना तयारी अवस्थामा रहेका तथा पर्यटन क्षेत्रमा सुधारका संकेत देखिन थालेको मन्त्री खतिवडाको भनाइ छ ।

आगामी वर्षदेखि विद्युत उत्पादनमा वृद्धि भई निर्यात वृद्धि र आयात प्रतिस्थापनमा सहयोगी भूमिका निर्वाह गर्ने कारण आर्थिक विस्तारका संभावना प्रचुर रहेको मन्त्री खतिवडाले बताए ।

अर्थमन्त्री खतिवडाले दक्षिण एशियाली मुलुकलगायत अन्य मुलुकहरुमा समेत आर्थिक क्षेत्रमा आएको संकुचनको समीक्षा गर्दै त्यसबाट नेपाललाई पर्नसक्ने नकारात्मक प्रभावलाई रोक्न सजक रहेको तथा सम्भावित जोखिमहरुलाई व्यवस्थापन गर्न नेपाल सक्षम रहेको धारणा राखे । नेपालको विशिष्ठ अवस्थाको बारेमा समग्र मूल्याङ्कन गरी सही निष्कर्षमा पुग्न उपयुक्त मन्त्री खतिवडाले बताए ।

कोषको दक्षिणपूर्वी एशियाली मतदान समूहका कार्यकारी निर्देशक अलिसारा महासन्दनासमेत सहभागी थिए । समापन बैठकअघि उनले अर्थमन्त्रीसँग शिष्टाचार भेट गरी नेपाल र कोषबीच वित्तीय र प्राविधिक सहयोगका क्षेत्रहरु बारे परामर्श गरेका थिए ।

मिसनले ९ पुसदेखि २ माघसम्म विभिन्न सार्वजनिक तथा निजी क्षेत्रका निकाय तथा पदाधिकारीहरु लगायत नेपालमा अवस्थित विकास साझेदारका प्रतिनिधिहरुसँग छलफल तथा प्राप्त सूचनाको अध्ययन र विश्लेषण गरी आफ्नो धारणा प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.