अब देशैभरिको खानेपानीको अवस्था सजिलै थाहा पाइने, मन्त्रालयले बनायो नयाँ सफ्टवेयर

  २०७६ माघ ३ गते १८:०३     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्रालयले देशैभरिका खानेपानी आयोजनाहरुको अवस्था, आयोजनाको सूचारुपना, दिगोपना र पहुँच बाहिर रहेका उपभोक्ताहरुका बारेमा डिजिटल तथ्यांक, जानकारी र सूचना दिने उद्देश्यले वेभमा आधारित सफ्टवेयर तयार गरेको छ ।

विश्व बैंकको सहयोगमा तयार भएको उक्त सफ्टवेयरको बारेमा शुक्रबार मन्त्रालयको सभाहलमा खानेपानी मन्त्री बिना मगर समक्ष जानकारी गराईयो । एनवास (NWASH) नाम दिईएको उक्त सफ्टवेयर प्रणाली मार्फत देशैभरिका आयोजनाहरुको डिजिटल तथ्यांक, सर्भे गर्ने व्यक्ति, सम्बन्धित खानेपानी योजनाको मुहान, रिजर्भवायर ट्याङ्की र पाइप लाइनहरुको अवस्था साथै उपभोक्ता समितिहरुका बारेमा विस्तृत जानकारी लगायतका सूचनाहरु दिईने मन्त्रालयका सिनियर डिभिजनल ईन्जिनियर डा. रजित ओझाले जानकारी गराए ।

सफ्टवेयर बारे जानकारी गराउँदै डा. ओझाले भने, “कुनै आयोजनाको संरचना खोलाले बगाएको छ कि छैन ? रिजर्भवायर ट्याङ्की, पाइप लाइनहरुको अवस्था कस्तो छ ? कति उपभोक्ताले खानेपानी खाईरहेका छन् ? कति ठाउँमा खानेपानी पुगेको छैन ? सबै कुराको यथार्थ वस्तुस्थिति जानकारी यो सफ्टवेयरबाट थाहा हुन्छ ।”  उनले जोड दिंदै भने, “त्यसैगरी खानेपानी सुविधा नपुगेको वा पहुँच बाहिरका उपभोक्ताहरुका लागि पनि सफ्टवेयरमा अनरिच पपुलेसन भनेर राखेका छौं । सफ्टवेयरको माध्यमबाट खानेपानीमा पहुँच नभएका जनसंख्याको तथ्यांक आएपछि खानेपानीको पहुँच नभएका क्षेत्रको पहिचान हुनेछ । जसका कारण भोलिका दिनमा योजना छनौट गर्न सजिलो हुनेछ । जहाँ खानेपानीको पहुँच छैन, त्यो ठाउँमा योजना छनौट गर्न सजिलो हुनेछ । यसरी खानेपानीको पहुँच बाहिरका जनतालाई खानेपानी सेवा उपलब्ध गराउन सफल हुनेछौं ।”

सफ्टवेयरको प्रस्तुति कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले नयाँ प्रविधिको माध्यमबाट देशैभरिको खानेपानीको अवस्थाका बारे थाहा हुने भएपछि यसले खानेपानीका योजना बनाउन सहयोग गर्ने बताए । ‘अधिकांश जनप्रतिनिधिहरुले योजना माग्न आईरहेछन् । कुन ठाउँमा खानेपानी आयोजनाको आवश्यकता छ कुन ठाउँमा छैन भन्ने कुरा यसबाट थाहा हुने भएकाले अब मन्त्रालयलाई काम गर्न सजिलो हुन्छ ।’ उनले भने, ‘खानेपानी र सरसफाईको क्षेत्रमा नयाँ टेक्नोलोजीका माध्यमबाट काम गर्न सहज हुने भएकाले अब योजना छनौट गर्न सजिलो हुने भएको छ ।’

खानेपानीको अवस्थाको डाटा लिईसकेपछि ७ सय ५३ वटै स्थानीय तहमा वास प्लान (सरसफाई योजना) बनाउने गरी यो सफ्टवेयर एकदम उपयोगी हुने खानेपानी मन्त्री मगरले बताए । खानेपानी मन्त्रालयले तयार गरेको वेभ सफ्टवेयर डब्लुडब्लुडब्लु डट एनवास डट एमओडब्लुएसएस डट जिओभी डट एनपी (www.nwash.mowss.gov.np) रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.