माघ ५ गते लक्ष्मी बैंकको डेबिट कार्ड र एटीएम नचल्ने, यस्तो छ कारण

  २०७६ माघ ३ गते १४:०३     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको डेबिट कार्ड तथा एटीएम सेवा आगामी आइतबार अर्थात माघ ५ गते नचल्ने भएको छ । बैंकले उक्त सेवालाई नयाँ प्रविधिमा स्थान्तरण गर्नको लागि उक्त एकदिन साे सेवा बन्द गर्न लागेको हो ।

बैंकको डेबिट कार्ड तथा एटीएम सेवा प्रदान गर्ने ईएफटी स्वीचलाई स्तर वृद्धी गर्ने काम भइरहेको छ । त्यसैले उक्त नयाँ ईएफटी स्वीचमार्फत सेवा शुरु गर्नुपर्ने भएको र सो नयाँ प्रविधिमा स्थान्तरण गर्नका लागि माघ ५ गते एटीएम सेवा बन्द हुन लागेको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार डेबिट कार्डको सेवा सो दिन दिउँसो २ बजेदेखि करिब ५ घण्टा र बैंकको एटीएम सेवा करिब २४ घण्टासम्म बन्द हुने छ ।

त्यस्तै, एटीएम सेवा बन्द भएको समयमा ग्राहकले अन्य बैंकको एटीएमबाट पैसा निकाल्न वा कारोबार गर्न सक्ने छन् । साथै, कारोबार गर्दा लागेको सेवा निःशुल्क अर्थात फिर्ता हुने बैंकले जानकारी दिएको छ ।