उपसभामुखले राजीनामा नदिएपछि प्रचण्ड पुगे प्रधानमन्त्री ओलीलाई भेट्न

  २०७६ माघ २ गते १३:३८     विकासन्युज

काठमाडौं । प्रचण्डको अध्यक्षतामा २६ पुसमा बसेको सचिवालयको बैठकले उपसभामुखलाई राजीनामा गराउने निर्णय गरेकाे थियाे । तर उपसभामुखले राजीनामा दिन नमानेपछि बिहीबार प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन ।

उपसभामुखको राजीनामाको कुरो नमिलेपछि ओली र दहालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भेटवार्ता भएको हो । पछिल्लो समय उपसभामुखको विषयलाई लिएर दुई अध्यक्षबीच खटपट सुरु भएको छ । आइतबारदेखि बन्द भएको संवाद आजबाट पुन सुरु भएको छ ।

सचिवालयको बैठकले उपसभामुखलाई राजीनामा गराउने निर्णय गराए पनि त्यसै दिन अर्का अध्यक्ष ओली भने अस्पताल गएका थिए । २३ पुसमा भैंसेपाटीमा भएको गोप्य भेलाबाट नै ओली प्रचण्डको सम्बन्धमा खटपट सुरु भएको हो ।

उपसभामुखलाई राजीनामा गराउने निर्णय पनि अहिले बेवारिसे जस्तो बनेको छ । उपसभामुखले राजीनामा नदिने अडान लिएपछि प्रचण्ड अप्ठेरोमा परेका छन् ।

उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले पदबाट राजीनामा दिएपछि मात्रै नेकपालाई सभामुख आफ्नै पार्टीको बनाउने बाटो खुल्नेछ । संविधानले सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने व्यवस्था गरेको छ ।

निवर्तमान सभामुख कृष्णबहादु महरामाथि संसद सचिवालयकै कर्मचारीलाई यौन दुब्र्यवहार गरेको आरोप लागेपछि उनले गत असोजमा पदबाट राजीनामा दिएका थिए । महरा सोही प्रकरणको पुर्पक्षका लागि अहिले डिल्लीबजार कारागारमा छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बन्नुअघि तत्कालिन माओवादीको तर्फबाट महरा सभामुख भएका थिए । सोही कारण अहिले पनि सभामुख पद तत्कालिन माओवादीले पाउनुपर्ने प्रचण्ड पक्षको दाबी छ । उपसभामुख डा. तुम्बाहम्फे तत्कालिन एमाले तर्फकी नेता हुन् । सोही कारण उनलाई राजीनामा गराएर पूर्व माओवादी पक्षको नेतालाई सभामुख बनाउने प्रयत्नमा अध्यक्ष प्रचण्ड छन् । तर, प्रधानमन्त्री ओली भने अब पूर्व एमाले वा पूर्व माओवादी भनेर भागबण्डा नगरी एउटै पार्टीको रुपमा अघि बढ्नुपर्ने वताउँदै आएका छन् । यसैकारण नेकपालाई सभामुख छनोटको विषय चुनौतिपूर्ण सावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.