भूकम्प सुरक्षा दिवसः यस्तो थियो १९९० को भूकम्पको असर, यी हुन् नेपालका १० ठूला भूकम्प

  २०७६ माघ २ गते ११:५१     विकासन्युज

काठमाडौं । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस । १९९० सालमा गएको विनाशकारी भूकम्पको सम्झनामा माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिएको छ ।

भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देश दिदै सिंगो देशलाई भूकम्पबाट सुरक्षित बनाउनको लागि राज्यका ३ वटै तहले काम गरिरहेको बताएका छन् । भूकम्पबाट हुने सक्ने क्षतिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्री ओलीले सबैसँग आह्वान पनि गरेका छन् ।

राज्य संरचनाका अंगहरुमा मात्र विपद् व्यवस्थापनका पक्षहरुलाई सबल बनाएर मात्र पुग्दैन भन्दै प्रधानमन्त्री ओलीले समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउनु जरुरी बताएका छन् ।

नेपालमा ठूलो क्षति पुर्याएका १० भूकम्प

१२१८ को भूकम्प

विक्रम सम्बत् १२१८ असार शुक्ल तृतीयाको दिन सोमबार करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको इतिहास छ । यो भूकम्पबाट भएको क्षति र असरका बारेमा त्यति जानकारी प्राप्त भएको छैन । तर, सो भूकम्पमा परी तत्कालीन राजा अभय मल्लको निधन भएको इतिहासकार बताउँछन् सो भूकम्पले काठमाडौं उपत्यकाको एक तिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि १ महिनासम्म शहर छोड्नुपरेको इतिहास छ ।

१३१६ को भूकम्प

विक्रम संवत १३१६ मा पनि ठूलो भूकम्प गएको थियो । यो भूकम्पको बारेमा पनि त्यति धेरै जानकारी प्राप्त भएको छैन । नेपालमा रेकर्ड गरिएकामध्ये यो दोस्रो ठूलो भूकम्प हो भनिए पनि कति रेक्टर स्केलको आयो, कति मानवीय र जनधनको क्षति पुर्यायो भन्ने यकिन जानकारी प्राप्त हुन सकेको छैन । सो भूकम्पले अत्यासलाग्दो ढंगले क्षति पुर्याएको अनुमान छ । भूकम्पकै कारण मुलुकमा महामारीका साथै अनिकाल परेको बताइएको छ ।

१४६५ को भूकम्प

विक्रम सम्बत् १४६५ मा नेपालमा अर्काे विनाशकारी भूकम्प गयो । सो भूकम्पको कारण रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमिनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यो भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए भन्ने इतिहास भएपनि कति मानिस मरे, कति म्याग्निच्युटको भूकम्प थियो भन्ने जस्ता धेरै जानकारी प्राप्त हुन सकेको छैन ।

२४ घण्टामा २१ पटक भूकम्पको धक्का

नेपालमा धेरै पटक भूकम्प गएको इतिहासकार बताउँछन् । कति भूकम्पको त यकिन विवरण पनि छैन । यस्तै भूकम्पमध्ये विक्रम सम्बत् १७३७ सालको राति भूकम्प गएको इतिहासकार बताउँछन् । सो भूकम्पले पनि ठूलो क्षति पुर्याएको भनिए पनि के कस्तो क्षति पुर्यायो र कस्तो असर परेको थियो भन्ने यकिन जानकारी छैन ।

विक्रम सम्बत १८२४ असार १ गते एकै दिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पुर्यायो भन्ने यकिन अभिलेख छैन । तर, २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ ।

विक्रम सम्बत् १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौं र ललितपुरमा ठूलो मानवीय क्षति नभएको अभिलेख छ । तर, मठमन्दिर भने धेरै भत्किएको बताइन्छ । सो भूकम्पले भक्तपुरमा धेरै मानिसको ज्यान लिएको इतिहासकार बताउँछन् ।

विक्रम सम्बत् १८८० मा यमपञ्चकको दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुटिदा भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्याएको अभिलेख छ ।

पहिलो पटक धरहरा ढाल्ने १८९० को भूकम्प

विक्रम सम्बत् १८९० भदौ १२ गते सोमबार बेलुका करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको धक्का महसुस भयो । यही भूकम्पको कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यो भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई धेरै प्रभाव पारेको अभिलेख छ ।

१८९० सालको भूकम्पको कारणले काठमाडौंमा रहेका दुईवटा धरहरामध्ये एउटा पूरै ढल्यो । अर्काे धरहरा आधा मात्रै भत्कियो ।

सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्काे भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्यो ।

त्यसको एक वर्षपछि अर्थात विक्रम सम्बत् १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आएको थियो ।

१९९० को भूकम्प

विक्रम सम्बत् १९९० को भूकम्पलाई नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी भूकम्प मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको सो भूकम्पले देशभर असर पार्यो । भूकम्पमा परी ३ हजार ८ सय ५० पुरुष र ४ हजार ६ सय ६९ महिला गरी जम्मा ८ हजार ५ सय १९ जनको मृत्यु भएको थियो ।

सो भूकम्पको कारण काठमाडौं उपत्यकामा मात्र करिब ४ हजार ५ सय जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत २ लाख ७ हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।

मिति यकिन नभएको

सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा करिब २५ सय घर ध्वस्त भए । ४६ जना सर्वसाधारणले ज्यान गुमाए । सयौं चौपायाको ज्यान गएको थियो । तर, यो भूकम्प गएको यकिन मिति भने पत्ता लागेको छैन ।

२०४५ को भूकम्प

विक्रम सम्बत् २०४५ भदौ ५ गते बिहान पौने पाँच बजे ५.५ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पको केन्द्रविन्दु पूर्बी नेपालको उदयपुर जिल्लाको मुर्कुची भन्ने स्थान थियो ।

सो भूकम्पमा परी करिब ७ सय ५० जना मानिसले ज्यान गुमाए थिए । भूकम्पले ६ हजार ५ सय भन्दा बढी घर भत्किए ।

२०६८ को भूकम्प

विक्रम सम्बत् २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा रहेको कन्चनजंगा हिमाल क्षेत्रलाई केन्द्रबिन्दु ६.९ हेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी १ सय ११ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए ।

२०७२ को भूकम्प

विक्रम सम्बत् २०७२ साल वैशाख १२ गते शनिबार ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो । यस्तै २२ हजार ३ सय ९ जना घाइते भएका थिए ।

गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पमा परी २ हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति, ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएका थिए । भूकम्पको कारण सर्वसाधारणको ६ लाख २ हजार २ सय ५७ वटा घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । यो भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए ।

सो भूकम्पको कारण भएका भौतिक संरचना पुनर्निमार्णको लागि सरकारले पुनर्निमार्ण प्राधिकरण स्थापना गरेको छ । प्राधिकरणले पुनर्निमार्णको कामलाई तिव्रता दिएपनि अझै सकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.