गाडीको कर घटाउने अर्थमन्त्रीको आश्वासन, व्यवसायीले महशुस गर्ने गरी सुधारका कार्यक्रम ल्याइने

  २०७६ माघ १ गते २०:०८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सवारी साधनमा सरकारले लिदै आएको कर घटाउने संकेत गरेका छन् । विश्व व्यापार संगठनको प्रावधानअनुसार सवारी साधनको करको दरमा पुनर्बीचार गरिने उनको भनाइ छ ।

नाडा अटोमोवाइल्स डिलर एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालसहितको प्रतिनिधिसँगको भेटमा मन्त्री खतिवडाले यस्तो वताएका हुन् । नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेकोले संगठनको प्रावधानअनुसार पनि गाडीको भन्सार दर घटाउँदै लानुपर्ने उनले वताए ।

सरकारले अहिले निजी प्रयोजनका गाडीमा २ सय ४० प्रतिशतसम्म कर लिन्छ । भन्सार महसुल कम गर्दै जाने र त्यसले राजस्व असुली लक्ष्य प्रभावित भए आन्तरिक अन्य कर थप गर्ने मन्त्री खतिवडाले संकेत गरे ।

यस्तै, अटोमोवाइल क्षेत्रमा सरकारी नीतिका कारण परेको असर न्यूनिकरणका लागि विशेष पहल गर्ने आश्वासन पनि मन्त्री खतिवडाले दिए । अहिले अटोमोवाइल व्यवसाय सुस्ताएकोले व्यवसायीले महसुस गर्नेगरी सुधारका कार्यक्रम ल्याउने पनि उनको भनाइ छ । तर, यस्ता कार्यक्रमको लागि आगामी बजेटसम्म पर्खन मन्त्री खतिवडाले आग्रह गरे ।

मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटसम्म कुर्न व्यवसायीलाई आग्रह गरेपनि आगामी बजेटसम्म उनी नै रहने नरहने यकिन छैन । उनको आगामी फागुनमा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिदैछ । उनी राष्ट्रियसभा सदस्यको हैसियतमा मन्त्री भइरहेका छन् ।

यस्तै, मन्त्री खतिवडाले गाडी खरिदमा अहिले राष्ट्र बैंकले ल्याएको व्यवस्था पुनर्बीचार गर्न लगाउने दाबी पनि गरे । अहिले बैंक तथा वित्तीय संस्थाहरुले गाडी मूल्यको ५० प्रतिशतसम्म मात्रै ऋण दिन पाउँछन् । यस्तै, गाडी खरिदमा कर तिरेर बाँकी रहेको आम्दानीको ५० प्रतिशत मात्रै किस्ता हुने गरी कर्जाको सीमा निर्धारण गरिने नियम राष्ट्र बैंकले केही साता अघिमात्रै ल्याएको छ । मन्त्री खतिवडाले यी दुबै प्रावधानमा पुनर्बीचार गर्ने आश्वासन दिएका हुन् ।

भारतबाट आउने भाडाका गाडीहरुको विषयमा चर्चा गर्दै उनले अटोमोवाइल स्पेयर पार्टसको अवैध व्यापारलाई रोक्न आधिकारिक विक्रेताले मात्र स्पेयर पार्टस पैठारी गर्न पाउने व्यवस्था लागू गर्न सकिने वताए ।

उच्च प्रविधिका विद्युतीय सवारी साधनहरुलाई सरकारले उच्च प्राथमिकता दिने भन्दै मन्त्री खतिवडाले बैंकहरुले लिने व्याज खाशगरी अटो लोनलाई पनि प्रणालीगत रुपमा स्थापित गर्ने वताए ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे मन्त्री खतिवडालाई विस्तृत जानकारी गराएका थिए ।

अध्यक्ष दुलालले अटोमोवाइल व्यवसाय सुस्ताउदै गएको, अटोलोनमा धेरै समस्याहरु देखापरेको, नाडाले भीसीटीएसका सम्बन्धमा देखापरेको समस्याहरुको निराकरणका लागि छिट्टै तत्सम्बन्धी प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गर्न लागेको वताए । काठमाण्डौ उपत्यकाको सडक तथा पुल निर्माणमा भईरहेको ढीलाई बारे जिज्ञाशा राख्दै कर कार्यालयका अधिकारीहरुले व्यवसायीहरुलाई गर्ने व्यवहार सम्मानजनक हुन नसकेको गुनासो अध्यक्ष दुलालको थियो ।

उपाध्यक्ष करण चौधरीले अटोमोवाइल व्यवसाय सुस्ताएको कारण डिलरहरुको लगानी डुब्ने अवस्था उत्पन्न भएको दुखेसो पोखे । महासचिव सुनिल रिजालले स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखापरेका समस्या तथा चुनौतिहरुबारे धारणा राखे ।

राजश्व सचिव शिशिर ढुङ्गानाको समेत उपस्थिति रहेको सो छलफलमा नाडाका अध्यक्ष दुलाल लगायत उपाध्यक्षद्धय चौधरी र आकाश गोल्छा, महासचिव रिजाल, केन्द्रीय कार्यसमिति सदस्यहरु मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणि पाठक, कपिल शिवाकोटी र प्रकाश कपुरी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.