वैज्ञानिक र प्राविधिक जनशक्ति उत्पादन गर्ने गणितमाथि किन खनियो पाठ्यक्रम विकास केन्द्र ?

  २०७६ माघ १ गते १४:४७     राजाराम न्यौपाने

काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रमको प्रारुपमाथि विगत २ वर्षदेखि छलफल भइरहेको छ । पाठ्यक्रम विकास केन्द्र (सीडीसी)ले तयार गरिरहेका प्रारुप र पाठ्यक्रममा धेरै विवाद आएकोले यसको कार्यान्वयन अझै हुन सकेको छैन ।

केन्द्रले करिब २ वर्ष अगाडि तयार पारेको कक्षा ११ र १२ को पाठ्यक्रममा गणितलाई अनिवार्य र ऐच्छिक विषयबाट हटाउने निर्णय गरेको थियो । यस्तो निर्णयप्रति व्यापक आलोचना भएपछि गणित विषय राख्ने भनेर सरोकारवालासँग केन्द्रले लिखित सहमति नै गर्यो ।

केन्द्रले अहिले तयार पारेको पाठ्यक्रममा गणित विषय फेरि गायव भएको छ । कहिले गणित विषय राख्ने र कहिले नराख्ने भन्ने अस्थीर नीतिका कारण केन्द्रले तयार पारेको पाठ्यक्रम लागू गर्न नै समस्या भएको छ ।

विज्ञान तथा प्रविधिको मेरुदण्ड मानिने गणित विषयप्रति केन्द्रको बक्रदृष्टिको कारण भने खुल्न सकेको छैन ।

नेपाल गणित समाजका सह(सचिव तथा केन्द्रीय गणित विभागका उपप्राध्यापक डा. जिवन काफ्ले विज्ञान तथा प्रविधिको युगमा गणित तथा विज्ञानका विषयहरुलाई महत्व दिनुपर्ने वताउँछन् । गणित विषयलाई उच्च प्राथमिकता दिनुको साटो नीति निर्माण तहमा बसेकाहरु विपरित दिशामा जान लागेको महसुस भएको उनको भनाइ छ ।

‘गणित यस्तो विधा हो, जुन सबै प्राकृर्तिक र सामाजिक विज्ञानमा प्रयोग हुन्छ, गणितको अध्ययन अध्यापनले विद्यार्थीको शीप, आत्मविश्वास, सिर्जनशीलता, गहिराइसम्म सोच्न सक्ने क्षमताको विकास हुन्छ । गणित विज्ञान तथा प्रविधिको आधारस्तम्भ हो, त्यसैले यसलाई पाठ्यक्रमबाट हटाउनु हुदैन,’ डा. काफ्लेले भने ।

पाठ्क्रम विकास केन्द्रका निर्देशक लेखनाथ पौडेल पहिला पनि यो विषयमा छलफल भएको र अहिले पनि भहिरहेको वताउँछन् । विद्यार्थीले चाहेमा ‘नो क्रेडिट’मा गणित पढ्न सक्ने उनको भनाइ छ । ‘नो क्रेडिट’मा पढ्दा प्रमाणपत्र पाइदैन । केन्द्रले निर्धारण गरेअनुसारका ३ वटा अनिवार्य र ३ वटा ऐच्छिक गरी ६ विषय पढ्नै पर्छ । ‘नो क्रेडिट’ विषय पढ्दा ७ विषय हुन जान्छन् । यसअघिको पाठ्यक्रममा ५ विषय मात्रै समावेश थिए ।

गणित नराख्दाको असर ?

अहिले संचालनमा रहेको प्रारुपमा विज्ञान विधाका विद्यार्थीले ११ कक्षामा अंग्रेजी अनिवार्य र ४ वटा ऐच्छिक विषयहरु गरी जम्मा ५ वटा विषय र १२ कक्षामा अंग्रेजी र नेपाली अनिवार्य तथा ३ वटा ऐच्छिक गरी जम्मा ५ वटा विषयहरु पढ्छन् ।

तर, केन्द्रले प्रस्ताव गरेको नयाँ प्रारुपमा ११ कक्षामा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा अनिवार्य र ३ वटा ऐच्छिक विषयहरु गरेर जम्मा ६ वटा पढ्नेछन् । यस्तै, १२ कक्षामा अंग्रेजी, नेपाली र जीवन उपयोगी र ३ वटा ऐच्छिक विषयहरु गरेर जम्मा ६ वटा पढ्नेछन् ।

कक्षा ११ र १२ मा ५ बाट ६ वटा विषय पुर्याउँदा पनि गणित, विज्ञान तथा प्रविधिलाई ओझेलमा पारिएको छ । धेरै देशले माध्यम भाषाबाहेक गणित तथा विज्ञानलाई अनिवार्य विषयको रुपमा पाठ्यक्रममा समावेश गरेका छन् ।

गणित विषय नहुँदाका समस्या

केन्द्रले ल्याउन खोजेको प्रारुप लागू भएपछि विज्ञान विषयहरु बायोलोजी, फीजीक्स र केमेष्ट्री विषय पढ्ने विद्यार्थीले चाहेर पनि गणित विषय पढ्न पाउने छैनन् । तर, ननक्रेडिटमा सातौं विषयको रुपमा पढ्न भने पाइनेछ ।

डा. काफ्लेका अनुसार विद्यार्थीको रुचि कम भएका विषयहरु कक्षा ११ र १२ मा अनिवार्य गर्ने तर धेरैको रुचि र विज्ञान तथा प्रविधिको जग मानिने गणित विषयलाई ननक्रेडिटमा राखिनु आफैमा नमिल्ने कुरा हो । विश्वविद्यालयहरुमा कक्षा ११ र १२ मा गणित विषय नपढेका विद्यार्थीले इन्जिनियरिङ, फरेष्टी, कृषि जस्ता विषय पढ्न पाइदैन ।

कक्षा ११ र १२ मा १०० पूर्णांकको गणित पढेका विद्यार्थीले स्नातक तहमा बायोलोजी पढ्न विशेष प्राथमिकता पाउँछन् । तर, केन्द्र नयाँ पाठ्यक्रमको नाममा कक्षा ११ र १२ मा यही गणित विषय सिध्याउन लागेको छ । यस्तै, फरेष्टी, कृषि जस्ता विषयको अध्ययनका लागि पनि कक्षा ११ र १२ मा १०० पुर्णाङ्कको गणित विषय पढेको हुनै पर्छ ।

यसरी विश्वविद्यालयमा अध्ययनका लागि तोकिएका न्यूनतम आवश्यकताको ख्यालै नगरी केन्द्रले एक पक्षीय रुपमा पाठ्यक्रम बनाए विश्वविद्यालय प्रवेश गर्ने बाटो नै बन्द गर्न लागेको विद्यार्थीको आरोप छ ।

कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय हटाउने केन्द्रको हरकतले व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीलाई पनि नकारात्मक असर पार्नेछ । व्यवस्थापन संकायतर्फका विषयहरु चार्टर्ड एकाउन्टेन्सी (सीए), बीबीए, आईटी जस्ता विषय अध्ययन गर्न गणितको राम्रो ज्ञान हुनुपर्छ । तर, कक्षा ११ र १२ मा गणित विषय नै नहुने भएपछि व्यवस्थापनतर्फका यी विषय पढ्न चाहने विद्यार्थी पनि प्रभावित हुनेछन् ।

कक्षा ११ र १२ बाट गणित विषय हटाउँदा सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकारबाट पनि बन्चित हुनुपर्ने हुन्छ । अहिलेसम्मको कानुनी व्यवस्थाअनुसार सरकारी सेवामा प्रवेश गर्न लोकसेवा आयोगले लिने परीक्षा पास गर्नुपर्छ । लोकसेवाको परीक्षामा गणितका प्रश्नहरु पनि आउँछन् ।

आईओई गणित प्रवद्र्धन गर्दै, केन्द्र हटाउँदै

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ्ग अध्ययन सस्ंथान आईओईमा प्रवेश परीक्षामा गणितको भार ४० थियो । तर, आईओईले केही समय अगाडि मात्रै परीक्षामा गणितको भार ४० बाट बढाएर ५० बनाएको छ । यसले गणितको महत्व इन्जिनियरिङ्ग पढ्ने विद्यार्थीलाई कति छ भनेर देखाउछ । तर, केन्द्र भने यही गणित विषय हटाउने प्रपन्चमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.