बजाजको इलेक्ट्रिक स्कुटर ‘चेतक’ भारतमा सार्वजनिक, नेपाल आइपुग्दा कति पर्ला मूल्य ?

  २०७६ पुष २९ गते १९:४१     विकासन्युज

काठमाडाैं । भारतीय टू व्हिलर्स कम्पनी बजाजले आफ्नो पहिलो इलेक्ट्रिक वाहन ‘चेतक’ लाई सुरुवाती मूल्य १ लाख रुपैयाँ तोक्दै भारतमा आज लञ्च गरेको छ । चेतक स्कुटर ‘अरबेन’ र ‘प्रिमियम’ गरी दुई अलग भेरियन्टहरुमा उपलब्ध रहेको छ जसमध्ये टप भेरियन्ट प्रिमियमको मूल्य भारतीय बजारका लागि १ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।

प्रिमियम भेरियन्ट थप मेटालिक कलर अप्शन र फ्रन्ट डिस्क ब्रेकमा उपलब्ध रहेको छ भने अरबेन भेरियन्टमा चाहिँ मेटालिक कलर अप्शन उपलब्ध छैन र त्यसैगरी अगाडिको चक्कामा ड्रम ब्रेकको प्रयोग भएको छ । ब्याट्री र मोटर चाहिँ दुवैमा उहि समावेश छन् ।

यस्ता छन् विशेषता

चेतकमा ३ किलोवाटआवरको लिथियम–आयन ब्याट्री समावेश छ जसलाई फुल चार्ज हुन ५ घण्टाको समय लाग्छ भने ८० प्रतिशत चार्ज हुन साढे तीन घण्टा र २५ प्रतिशत चार्ज हुन १ घण्टाको समय लाग्दछ । बजाजको दावी अनुसार यो ब्याट्रीको आयु ७० हजार किलोमिटर रहेको छ अर्थात् स्कुटरले ७० हजार किलोमिटरसम्मको यात्रा गर्दा सम्म यो ब्याट्री सकुशल नै रहिरहन्छ । यस स्कुटरले ४.०८ किलोवाट (५.४७ एचपी) को उच्चतम पावर र १६ एनएमको उच्चतम टर्क उत्पादन गर्दछ ।

चेतकमा ‘इको’ र ‘स्पोर्ट’ गरी दुई राइडिङ्ग मोडहरु दिइएका छन् । यस स्कुटरले इको मोडमा ९५ किलोमिटरको माइलेज प्रदान गर्दछ भने स्पोर्ट मोडमा चाहिँ ८५ किलोमिटरको माइलेज प्रदान गर्छ । चालकले एक्कासी एक्सलेरेटर दबाएर गती लिने वेलामा स्कुटरमा ‘किक डाउन मोड’ चालु हुन्छ जसले गर्दा स्कुटर एकछिनको लागि इको मोडबाट स्पोर्ट मोडमा प्रवेश गर्दछ र स्वतः फेरी इको मोडमै सिफ्ट हुन्छ । बजाजका अनुसार ओभरटेक गर्दा स्कुटरलाई बढी गतीको आवश्यकता भएको हुनाले यो फंक्शन समावेश गरिएको हो ।

चालकको सहजतालाई मध्यनजर गरेर बजाजले यस स्कुटरमा रिभर्स गियरको फिचर पनि समावेश गरेको छ जसले चालकलाई साँघुरो पार्किङ्गस्थलहरुमा मद्दत पुर्याउँछ । त्यसैगरी, यस स्कुटरमा स्मार्टफोन कनेक्टिभिटीको सिस्टम पनि समावेश छ जसमार्फत् स्कुटरको लोकेशन, चार्जको मात्रा, बाँकि रहेको रेञ्ज लगायतको जानकारी पाउन सकिन्छ । यसका साथै कसैले स्कुटरमा छेडछाड लगायत कुनैपनि किसिमको शंकास्पद गतिविधि गरेमा पनि चालकले आफ्नो स्मार्टफोन मार्फत् जानकारी पाउन सक्नेछन् ।

नेपाल आइपुग्दा कति पर्ला मूल्य ?

बजाजको नेपालका लागि आधिकारीक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले चेतकको नेपाल लञ्च र सम्भावित मूल्यका वारे केहिपनि उल्लेख गरेको भने छैन । भारतमा १ लाख रुपैयाँ पर्ने मोटरसाइकल अथवा स्कुटर नेपाल आइपुग्दा त्यसको मूल्य सवा तीन लाखको हाराहारी पर्न जान्छ । यो तथ्यका साथै इलेक्ट्रिक वाहनमा नेपाल सरकारले दिएको उल्लेखनीय भन्सार छुटलाई समेत आधार मान्ने हो भने चेतकको नेपाली बजार मूल्य साढे २ लाख देखि ३ लाख रुपैयाँको बीचमा कायम हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.