राम्रो कम्पनी खोजेर लगानी गर्नुस्, सेयरबाटै दालभात खान पुग्छः अर्थमन्त्री

  २०७६ पुष २९ गते १९:३५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो कम्पनी खोजेर लगानी गर्न लगानीकर्तालाई सुझाव दिएका छन् । सेयर लगानीमा राम्रो कम्पनीमा लगानी गर्दा नोक्सान व्यहोर्नु नपर्ने भन्दै उनले कम्पनी छनोट नै सबैभन्दा महत्वपूर्ण कदम हुने वताएका हुन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को २७औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री खतिवडाले यस्तो वताएका हुन् । डा. खतिवडालाई सेयर बजारप्रति नकारात्मक व्यक्तिका रुपमा पनि व्याख्या गर्ने गरिन्छ ।

राम्रो कम्पनीमा लगानी गरे सो कम्पनीबाट प्राप्त हुने लाभांशले दालभात खान पुग्ने मन्त्री खतिवडाले बताए ।

यस्तै, मन्त्री खतिवडाले पछिल्लो समय सेयर बजारको संरचनात्मक परिवर्तन आएको पनि बताए । सेयर बजारमा भएका सुधारको व्याख्या गर्दै उनले अहिले तत्काल सेयर बाँडफाँड भएर प्रतिफल प्राप्त गर्न सकिने अवस्था आएको बताए ।

लगानीकर्ताले दोहोरो कर तिर्नु परिरहेको भनेर गुनासो गरिरहेको विषयमा भने उनले आगामी आर्थिक वर्षको बजेटबाट सो विषय सम्बोधन हुने दाबी गरे । यस्तै, धितोपत्र वोर्डका निवर्तमान अध्यक्ष डा. रेवतबहादुर कार्कीले अर्काे स्टक एक्सचेन्ज ल्याउने सार्वजनिक अभिव्यक्ति नै दिएका भएपनि अर्काे स्टक एक्सचेन्ज नआउने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

यस्तै, सेयर बजारमा सरकारले हस्तक्षेप नगर्ने प्रतिवद्धता मन्त्री खतिवडाले दोहोर्याए ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले ऋणपत्र कारोबार सुरु भएको जानकारी दिँदै सरकारी ऋणपत्रको कारोबार सूचीकृत गर्न पनि आग्रह गरे ।

सेयर ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले नीतिगत सुधार आवश्य रहेको भन्दै अनलाइन मार्फत सेयर बजारको कर तिर्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले आफुहरु अन्तराष्ट्रियस्तरको ब्रोकर बन्न तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.