टेलिकम साधारणसभामा सेयरधनीः कसैलाई कर धेरै तिरेकोमा गर्व, कसैलाई पैसा घटेको म्यासेज नआएकोमा चिन्ता

  २०७६ पुष २९ गते १९:००     विकासन्युज

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले सेयरधनीलाई प्रतिकित्ता ४५ रुपैयाँको दरले नगद लाभांश दिने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारणसभाले नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

साधारणसभामा बोल्दै सेयरधनीहरुले विभिन्न सुझाव दिएका छन् । यस्ता सुझावमध्ये केही सेयरधनीले कम्पनीको लाभांश घट्दै गएकोमा चिन्ता व्यक्त गरे । टेलिकमले गत वर्ष प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिएको थियो ।

यस्तै, केही सेयरधनीले देशकै सबैभन्दा ठूलो करदाताको रुपमा आफ्नो पहिचान बनाएकोमा कम्पनीलाई धन्यवाद दिए । केही सेयरधनीले भने कम्पनीको मोबाइल सेवामा कुरा गरिसकेपछि पैसा घटेको जानकारी आउने प्रणाली थप गर्नुपर्ने सुझाव दिएका थिए ।

सेयरधनी सुभाष साहले टेलिकममा विचार र अभ्यासको तालमेल हुँदै आएको वताए । कम्पनीले अहिले प्रदान गरेको लाभांश कम भएकोले नाफा बृद्धिमा कम्पनीको ध्यान केन्द्रीत हुनुपर्ने उनको भनाई छ ।

सेयरधनी राजेन्द्र प्रसाद भट्टले टेलिकमले आफ्नो सेवाको गुणस्तर बृद्धिका लागि प्रणालीको विकासमा जोड दिनुपर्ने वताए । प्रतिस्पर्धी अन्य कम्पनीको सेवाको गुणस्तर निकै बढिसकेको भन्दै उनले प्रतिस्पर्धामा उत्रन पनि टेलिकमले आफ्नो सेवाको गुणस्तर बढाउनु पर्ने धारणा राखे ।

सेयरधनी बैजनाथ रौनियारले टेलिकमको मोबाइल सेवा प्रयोग गरेर फोन गरिसकेपछि कुराकानी भएको अवधि र त्यसमा भएको खर्चको जानकारी पाइने प्रणाली थप गर्नुपर्ने सुझाव दिए । रौनियार पेशाले इञ्जिनियर पनि हुन् ।

सेयरधनी खड्गबहादुर बस्नेतले टेलिकमले सरकारको राजस्वमा पुर्याएको योगदान गर्व गर्न लायक भएको धारणा राखे । यस्तै, डा. दामोद प्रसाद रेग्मीले टेलिकमले आफ्नो नतिजालाई ध्यानमा राखेर सेयरधनीको समस्या बुझ्दै आएको बताए ।

अर्का सेयरधनी भक्तिप्रसाद उप्रेतीले कर मार्फत राज्यलाई योगदान पुर्याउने टेलिकमले आफ्नो व्यवस्थापनलाई थप समृद्ध बनाउँदै लगेमा सबैको भलो हुने विचार व्यक्त गरे । कुनै समय जनकपूर चुरोट कारखानाले सबैभन्दा धेरै कर तिर्ने गरेको भएपनि अहिले सो कम्पनीको अस्तित्व नै नरहेको उदाहरण दिदै उप्रेतीले टेलिकमको अवस्था यस्तो नआओस् भन्ने सुझाव दिए ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले लगानीकर्ताहरुको सुझाव अनुसार नै नीति निर्माण गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । टेलिकमका सरकारको ९१.४९ प्रतिशत, सर्वसाधारणको ८.४८ र नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर लगानी छ ।

साधारणसभामा करिब ९२ प्रतिशत सेयरधनीहरुको उपस्थिति रहेको टेलिकमले जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७५÷७६ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७५÷७६ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०७६÷७७ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाशजंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै उनीहरुको पारिश्रमिक समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले सेयरधनीहरूको लगानीको प्रतिफल सुनिश्चित हुनेगरी कम्पनीको दीर्घकालीन विकास तथा समृद्धिको लागि सञ्चालक समिति क्रियाशील रही आएको तथा कम्पनीलाई सबल, अग्रणी संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

देशको विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सञ्चार तथा सूचना प्रविधि उपलब्ध गराई देशमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने सिलसिलामा कम्पनीको योगदान महत्वपूर्ण रहेको बताउदै अध्यक्ष सुवेदीले देशव्यापी रुपमा आवश्यक पूर्वाधार विकासमा कम्पनीले विशेष ध्यान दिएको बताए ।

कम्पनीले जिम्मेवार राष्ट्रिय निकायको रुपमा सामाजिक उत्तरदायित्वका कार्यहरु र संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनका लागि गरेका कार्यको समेत जानकारी दिए । कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा कर तथा गैरकरवापत सरकारी राजस्वमा ३३ अर्ब ३१ करोड रुपैयाँ दाखिला गरेको सुवेदीको भनाइ छ ।

अध्यक्ष सुवेदीले कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३.९३ र ४.७५ प्रतिशतले वृद्धि भई ५४.८३ र ४८.४१ प्रतिशत पुगेको जानकारी दिए । गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आफ्नो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रविधिको तीब्र विकास भएसँगै विश्वव्यापी रुपमा भ्वाइस सेवाको व्यापारमा शिथिलता आई भ्वाइसको व्यापार क्रमिकरुपमा डाटा तथा अन्य भ्यालु एडेड सेवामा स्थानान्तरण हुने क्रम जारी रहेको उनको भनाइ छ । तीब्र प्रतिस्पर्धाको कारणले भ्वाइस तथा डाटा सेवाको महशुलमा व्यापक कटौतीका बाबजुद कम्पनीले कुल राजस्व र नाफा क्रमशः ४३ अर्ब ८४ करोड रुपैयाँ र ९ अर्ब ७६ करोड रुपैयाँ कायम गर्न सफल भएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

विभिन्न कारणले कम्पनीको नाफा घट्न गएको दृष्टान्त पेश गर्दै उनले वायरलेस प्रविधिको फोरजीलाई फोरजी एलटीई मोबाइल सेवाको विस्तार, एउटै लाइनबाट गुणस्तरीय टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजनसमेत चलाउन सकिने एफटीटीएच प्रविधिको विस्तार, डाटाको मागलाई बढाउने भ्यालु एडेड सेवाहरूको विस्तारका साथै अन्तर्राष्ट्रिय रोमिङ सेवाको विस्तार र सेवाहरूको गुणस्तर सुधारलगायतका कार्यहरूमा कम्पनीले थप तीब्रता दिएकोले चालू आर्थिक वर्षदेखि कम्पनीको राजस्व वृद्धि अध्यक्ष सुवेदीको भनाइ छ ।

सभाले पारित गरेबमोजिमको लाभांश रकम १ माघदेखि एनएमबी बैंकमार्फत सेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.