२०७६ पुष २९ गते १३:१४ विकासन्युज
लुम्बिनी । विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले लुम्बिनी, भैरहवा क्षेत्रमा गत साउनदेखि मङ्सिर मसान्तसम्मर एक करोड ८० लाख युनिट विद्युत् चुहावट भएको जनाएको छ । उक्त युनिट बराबर रु १७ करोड हुन्छ ।
प्रतिमहिना सवा तीन करोड मूल्य बराबरको विद्युत् चुहावट हुने गरेको छ । केन्द्रका प्रमुख जितेन्द्रकुमार झाका अनुसार गत साउनमा ७९ लाख युनिट चुहावट भएकोमा मङ्सिरमा १५ लाख युनिट पुगेको छ ।
चुहावटमा प्राविधिकतर्फ ५० र अप्राविधिकतर्फ ५० प्रतिशत हुने गरेको छ । प्राविधिक भन्नाले तारमा करेन्ट बगेर हुने र अप्राविधिक भन्नाले हुकिङ, मिटर बाइपास, डिमान्ड चुहावट हो । चालू वर्षमा बाइपास मिटर गरेका ४५ र हुकिङमा संलग्न पाँच गरी ५० जनालाई कारबाही गरिएको झाले बताए ।
उनले भने, “चुहावट गर्ने घटेका छन्, गत मङ्सिरसम्म ५० जनालाई कारबाही गरी रु १२ लाख असुली भएको छ ।” भैरहवा, लुम्बिनी र धकधई क्षेत्रमा मासिक आयात युनिट दुई करोड ५६ लाख १२ हजार छ । बिक्री युनिट दुई करोड ३९ लाख ८९ हजार छ । केन्द्रमार्फत ७२ हजार ग्राहक लाभान्वित छन् । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.