लगानी प्रोत्साहित गर्न नियमावली बनाइँदै, २ अर्बसम्मको परियोजनाले ईआईए गराउनु नपर्ने

  २०७६ पुष २९ गते ११:११     राजाराम न्यौपाने

काठमाडौं । उद्योग स्थापना तथा परियोजना संचालनमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को सीमा कम भएको भन्दै बढाउन लागिएको छ । अहिले २५ करोड रुपैयाँभन्दा बढीको आयोजना विकासमा अनिवार्य रुपमा ईआईए गर्नुपर्ने भएपनि अव यो रकम बढाएर २ अर्ब रुपैयाँ बनाउन लागिएको छ ।

उद्योग राज्यमन्त्री मोतिलाल दुगडले सरकारले वातावरण संरक्षण ऐनलाई संशोधन गरेर २ अर्ब रुपैयाँसम्मको आयोजना विकासमा ईआईए गर्नु नपर्ने व्यवस्था ल्याउन लागिएको वताए । ईआईएकै कारण लगानी प्रभावित भएकोले सीमा बढाउन लागिएको उनको भनाइ छ ।

२५ करोडभन्दा बढी रकम लगानी गर्न ईआईएको झन्झटिलो कानुनी प्रक्रियाले थप लगानी विस्तार गर्न नपाएको गुणासो उद्योगी व्यवसायीहरुले गर्दै आएका थिए । उनीहरुले २५ करोड रुपैयाँसम्मको लगानीमा उद्योगहरुको क्षमता विस्तार गर्न नपाएको बताउँदै आएका थिए ।

उद्योगी/व्यवसायीहरुको सोही गुनासोलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २५ करोडभन्दा बढी लगानी गर्दा गर्नुपर्ने ईआईएको सीमा २ अर्ब रुपैयाँ पुर्याउन वातावरण मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

सरकारले २०५४ सालमा २५ करोड रुपैयाँभन्दा बढीको लगानीमा ईआईए अनिवार्य गरेको थियो । अहिलेको सो सीमा कम भएको सरकारी अधिकारीहरुको पनि बुझाई छ ।

उद्योग मन्त्रालयले गरेको प्रस्ताव वातावरण मन्त्रालयले पनि सकारात्मक रुपमा लिएको छ । उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा बागती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले ईआईएको सीमा बढाउदा लगानी प्रोत्साहित हुने वताए ।

मन्त्रालयले वातावरण संरक्षण ऐन संशोधन गरेर नियमावली बनाइरहेको छ । सोही नियमावलीमा २ अर्ब रुपैयाँसम्मको लगानी गर्दा ईआईए गर्न नपर्ने व्यवस्था गर्न लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.