नेपाल भ्रमण वर्ष २०२०ः भाषणबाजी बलियो, आन्तरिक तयारी कमजोर

  २०७६ पुष २८ गते १९:००     सन्तोष रोकाया

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । यो लक्ष्य भेटाउन अन्य चुनौतिको सामना गर्दै पर्यटन प्रवद्र्धनका लागि निर्माण गर्नु पर्ने भौतिक पूर्वाधारमा पनि सरकारले त्यति ध्यान दिन सकेको छैन ।

नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि २० लाख पर्यटक भित्र्याउनु आफैमा चुनौतिपूर्ण कार्यक्रम हो । तर, सरकार यही चुनौतिको सामना गर्ने गरी अघि बढेको छ ।

सरकारले भ्रमण वर्षको जसरी मौखिक प्रचार गरिरहेको छ, सोअनुसारको व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माण भने सरकारले ध्यान दिन सकेको छैन ।

सरकारको यो शैली र व्यवस्थापनले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्रिन सक्नेमा धेरैले शंका गर्न थालेका छन् । पर्यटन प्रवद्र्धन तथा प्रचार प्रसारमा सरकारले त्यति ध्यान दिएको छैन,जति मौखिक रुपमा भाषणबाजी भइरहेको छ । उल्टै गर्न थालेका काममा पनि सरकार विवादित र आलोचित बन्दै गएको छ ।

मन्त्री नै विवादमा

नेपाल भ्रमण वर्ष २०२० शुरु भएको करिब दुई साता बित्न थालेको छ । यो अवधिमा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई स्वयमं दुई पटक आलोचित भइसकेका छन् ।

भ्रमणको उद्घाटन कार्यक्रममै आम नागरिकहरुका लागि कार्यक्रमममा सहभागी हुन टिकट काट्नु पर्ने भएकोले पनि उनी सामाजिक सञ्जालमा आलोचित बन्न पुगेका हुन् । नेताहरुको भाषण सुन्न पनि टिकेटको व्यवस्था गर्नुले पनि उनी विवादमा तानिएका थिए ।

यस्तै, भ्रमण वर्षको प्रचार प्रसारमा अष्ट्रेलिया पुगेका मन्त्री भट्टराई त्यहाँ पनि विवादमा परे । आगलागीका कारण अष्ट्रेलिया राष्ट्रिय संकटमा परेका बेलामा उनी र्यालीसहित विजनेश प्रमोशनमा जानुले पनि उनी विवादमा तानिए ।

नेपाल सरकारका स्वयमं मन्त्री भ्रमण वर्षकै कारण विवादमा पर्नुले पनि धेरैले भ्रमण वर्षको सफलता माथि प्रश्न खडा गरेका छन् । जे काम शुरु गर्यो, त्यसैमा विवादमा तानिनुले पनि भ्रमण वषको व्यवस्थापनमा धेरैले प्रश्न खडा गरेका हुन् ।

विगत त्यति सकारात्मक छैन

नेपाल सरकारले भ्रमण वर्षलाई उत्सवका रुपमा मनाउन थालेको यो तेस्रो पटक हो । यसअघि सन् १९९८ र २०११ मा भ्रमण वर्ष मनाइएको थियो । सन् १९९८ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । त्यतिबेला चार लाख पर्यटक नेपाल आएका थिए । सन् २०११ मा पनि सरकारले दोस्रो पटक भ्रमण वर्षका रुपमा शुरु गरेको थियो ।

सरकारले सन् २०११ मा पनि १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर, त्यतिबेला पनि करिब ८ लाख पर्यटक नेपाल भित्रिए । यसले पनि भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन नेपाल सरकारलाई ठूलो चुनौति छ भन्ने देखाउँछ ।

सरकारले पहिलेका अभ्यासहरुबाट केही पाठ सिकेर नेपाल भ्रमण वर्षको व्यवस्थापन गर्न आवश्यक देखिने जानकारहरु बताउँछन् । विगतमा पनि नेपाल भ्रमण वर्षमा लक्ष्यअनुसार पर्यटक नआउनुले पनि यो वर्ष २० लाख पर्यटक आउनेमा धेरैले शंका गरेका हुन् ।

२०१९ मा १२ लाख पर्यटक

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१९ मा करिब १२ लाख पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१८ मा भने ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल आएका थिए । त्यस्तै, २०१७ मा ९ लाख ४० हजार २ सय १८ पर्यटक नेपाल आए । सन् २०१६ मा ७ लाख १३ हजार २ सय पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यो तथ्याकं हेर्दा पर्यटक आगमनको दर बढेको देखिए पनि त्यति उत्साहप्रद भने देखिँदैन । यसबाट पनि नेपाल सरकारले भ्रमण वर्षको उचित व्यवस्थापन गरेर अगाडि बढ्न आवश्यक देखिन्छ ।

पर्यटन बोर्डको तथ्याकं हेर्दा सरकारको लक्ष्य पुरा गर्न सन् २०१९ को पर्यटक आगमन दरलाई वृद्धि गर्दै ८ लाख पर्यटक थप्नु पर्ने देखिन्छ । नेपाल सरकारले लिएको महत्वाकांक्षी लक्ष्यलाई हासिल गर्न सरकारले सुरक्षा र भौतिक पूर्वाधारको विकासमा जोड दिनु पर्ने हुन्छ ।

पर्यटक राख्न पुग्ने होटल

पर्यटन पूर्वाधारको महत्वपूर्ण पक्ष मानिने होटल क्षेत्र भने २० लाख पर्यटक राख्न तयारी अवस्थामा छ । होटल संघका अध्यक्ष सृजना राणाका अनुसार २० लाख पर्यटकको लागि आवश्यक पर्ने होटल नेपालमा छन् ।

होटल व्यवसायीका अनुसार सन् २०१९ मा ४५ प्रतिशत मात्र कोठाहरु बुक भएका थिए । सन् २०१९ मा १२ लाखको हाराहारीमा पर्यटक आएको अनुमान गरिन्छ । यो तथ्यांक अनुसार पनि नेपालमा २४ लाख पर्यटकको लागि होटलका कोठा छन् ।

तामझामका साथ नेपाल भ्रमण वर्ष शुरु भएसँगै धेरैले होटलमा पनि धेरै लगानी पनि गरे । २० लाख पर्यटक भित्र्याउने योजनाका साथ सरकारले होटल व्यवसायीहरुलाई होटलमा लगानी गर्न आग्रहसमेत गरेको थियो ।

पर्यटन बोर्ड नेतृत्व विहिन, निजी क्षेत्र चुनावी प्रतिस्पर्धामा

पर्यटन क्षेत्रको विकास र प्रबद्र्धन गर्न स्थापना भएको नेपाल पर्यटन बाेर्ड अहिले नेतृत्वविहिन छ । वोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया अगाडि बढेको भएपनि अहिले नै नयाँ नेतृत्व आइसकेको छैन । वोर्ड नेतृत्वविहिन भएको कारण पनि नेपाल भ्रमण वर्षको सफलतामा प्रश्नचिन्ह खडा हुने विश्लेषण गरिएको छ ।

नेपाल एसोसीएसन अफ ट्राभल एण्ड टुर एजेण्टस् (नाट्टा) निर्वाचन प्रक्रियामा छ । नाट्टा कार्यसमितिको कार्यकाल सकिएकोले नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको हो ।

नेपाल भ्रमण वर्षको सफलतामा मूख्य भूमिका खेल्ने निकाय बोर्ड सीईओको छनोट प्रक्रियामा अल्झिनु भ्रमण वर्षको ठुलो चुनौती हो । भ्रमण वर्षलाई सफल पार्नका लागि बोर्डले यतिखेर विभिन्न कार्यक्रमहरु ल्याएर प्रचार प्रसार गर्न आवश्यक छ । तर, बोर्ड नै सीइओ खोजी प्रक्रियामा अल्झिनु भ्रमण वर्षमाथिको अर्काे असर हो ।

अहिले बोर्डको कार्यकारी प्रमुखका लागि नौ जना को नाम सर्ट लिष्टमा छ । नौ जना नै पर्यटन क्षेत्रका विज्ञ हुन् । उनीहहरुले लामो समयदेखि पर्यटन क्षत्रमै काम गरेर धेरै अनुभव बटुलिसकेका छन् ।

नौ जनामध्ये आठ जनाले सीइओ हुनबाट ब्याक हुनु पर्नेछ । सीइओ हुने एक जना मात्र हो । पर्यटन क्षेत्रका आठ जना हस्ती सीइओ हुनबाट बञ्चित हुनेछन् । नेपालमा माथि उक्लिएको व्यक्तिलाई अन्यले असहयोग गर्ने खराव परिपाटी प्रचलनमा छ । यो परिपाटी पनि पर्यटन बोर्डमा नदोहोरिएला भन्न सकिन्न । यसको असर सिधै नेपाल भ्रमण वर्षमा पर्न सक्छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता रुद्रसिँह तामाङले यस्तो परिपाटी वोर्डका नदोहोरिने दाबी गरे ।

‘सीइओ जो भए पनि सबैले जागिर नै खाने हो, बोर्डको सीइओ छनोट प्रक्रियाले भ्रमण वर्षमा कुनै असर पर्दैन, क्षमता हुने मानिस अगाडि बढ्छ, अन्य ब्याक हुन्छन्,’ उनले भने ।

यतिखेर नेपाल एसोसीएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) पनि चुनावी माहोलमा छ । पर्यटन क्षेत्रको ठूलो संस्था चुनावी माहोलमा व्यस्त हुनु भ्रमण वर्षका लागि अर्को कमजोर पक्ष हो । यसमा अभिभावकत्व बहन गर्ने निकाय आफ्नै नेतृत्व छान्ने प्रक्रियामा व्यस्त हुँदा भ्रमण वर्षको सफलतामा अप्ठेरो महसुस हुनेछ ।

नाट्टाको नेतृत्वका लागि अहिले तीन समूह चुनावी प्रचार–प्रसारमा छन् । उनीहरु चुनावी माहोलमा व्यस्त हुनु पर्यटकहरुले उचित सुविधा नपाउनु हो । यसले पनि भ्रमण वर्षमा असर पार्छ ।

नाट्टाका अध्यक्ष सीएन पाण्डेले यो चुनावले भ्रमण वर्षलाई कुनै प्रभाव नपर्ने बताए ।

‘अहिले उठेका सबै उम्मेदवार पर्यटन क्षेत्रमा धेरै अनुभवी छन्, यो हाम्रो आन्तरिक प्रतिस्पर्धा हो, मेरो कार्यकालमा पनि दुई समूह थियौं, मैले जितेँ, अर्कोले हार्यो, तर हामीले मिलेर काम गर्यौं,’ उनले भने ।

नाट्टाका समस्या साझा भएको उनले बताए । नेतृत्व जसले लिए पनि हार्नेले जित्नेलाई सहयोग गर्ने आफूहरुको अभ्यास भएको उनको भनाइ छ ।

बर्सेनि पर्यटक आगमन बढ्दै गएको भएपनि यो तुलनात्मक रुपमा उत्साहित होइन । प्रमुख पर्यटकीय गन्तव्यसम्म पुग्नका लागि पर्यटकले खेप्नु पर्ने सास्ती ज्यूँका त्यूँ छन् । ती पर्यटकीय सम्पदाहरुको सुधार हुन सकेको छैन । नेपाल सरकारले देशका प्रमुख एक सय पर्यटकीय गन्तब्यहरु घोषणा गरेको छ । तर, तीमध्ये केही गन्तव्य नाम मात्रैका छन् । आवश्यक पूर्वाधारको अभाव छ ।

सरकारले भ्रमण वर्षको घोषणा गरेपनि पूर्वाधार व्यवस्थापन तथा निर्माणमा ध्यान नदिएको पूर्वाधारविज्ञहरु बताउँछन् । पर्यटक आउनुको मूख्य कारण यहाँको संस्कृति र प्रकृति हो । यसमा सरकारले ध्यान दिन जरुरी छ । सबैभन्दा महत्वपूर्ण कुरा हरेक नागरिकले यसलाई अपनत्व गरेर अघि बढ्दा भ्रमण वर्ष सफल हुनेमा दुईमत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.