काउन्टर ग्यारेन्टीको इन्काउन्टरमा नेपाली बैंक, ठूला परियोजनामा विदेशी ठेकेदार ल्याउन गाह्रो हुन सक्ने

  २०७६ पुष २८ गते १४:१२     विकासन्युज

काठमाडौं । ‘हामीले इटालीको सबैभन्दा ठूलो बैंकको काउन्टर ग्यारेन्टी गरेका थियौं । मेरो ४३ वर्षे बैंकिङ अनुभवले पनि यस्तो अवस्था आउला भन्ने लाग्दैनथ्यो । हाम्रो ३ अर्ब रुपैयाँ जति फसेको छ । यो पैसा डुबिहालेको त होइन । ढिलो चाँडाे आउछ नै । तर नसोचेको परिणाम भने हामीले भोग्नै परेको हो ।’

नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको ३३औं वार्षिक साधारणसभामा व्यक्त गरेको भनाइको अंश हो यो । तनहु जलविद्युत आयोजना र मेलम्ची खानेपानी आयोजनाको इटलियन ठेकेदार कम्पनी सीएमसीको लागि इन्भेष्टमेन्ट बैंकले दिएको करिब ३ अर्ब रुपैयाँ फसेको सन्दर्भमा अध्यक्ष पाँडेले यस्तो विचार व्यक्त गरेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले इटालियन ठेकेदार कम्पनीको लागि मेलम्ची खानेपानी आयोजनामा दिएको २ अर्ब रुपैयाँको काउन्टर ग्यारेन्टी फिर्ता भयो । तर, बैंकले विभिन्न उपकरणका लागि दिएको करिब १ अर्ब रुपैयाँ बराबरको कर्जा भने फिर्ता भएको छैन । अर्थात मेलम्चीमा इन्भेष्टमेन्ट बैंकको करिब १ अर्ब रुपैयाँ फसेको छ ।

यस्तै, सोही ठेकेदार कम्पनीले बनाउने भनिएको तनहु जलविद्युत आयोजनाको लागि इन्भेष्टमेन्ट बैंकले काउन्टर ग्यारेन्टी वापत दिएको १ अर्ब ९० करोड रुपैयाँ फसेको छ । यो रकम कहिले आउने भन्ने यकिन छैन । अध्यक्ष पाँडेले भनेको माथिको सन्दर्भ सोही काउन्टर ग्यारेन्टी वापतको रकमको हो ।

के हो काउन्टर ग्यारेन्टी ?

नेपालमा ठूला परियोजना बनाउनको लागि निर्धारण गरिएको ठेकेदारको योग्यता नेपाली कम्पनीको पुग्दैन । त्यसैकारण ठूला परियोजना निर्माणमा विदेशी ठेकेदार कम्पनी सहभागी हुने गर्छन् ।

यस्ता ठेकेदार कम्पनीले परियोजना निर्माण कार्यमा तिर्नुपर्ने रकम नतिरेमा त्यसको भुक्तानी ग्यारेन्टी गर्ने काम सम्बन्धित देशको बैंकले गर्छ । तनहु जलविद्युत आयोजना निर्माणमा तिर्नुपर्ने रकम ठेकेदार कम्पनी सीएमसीले नतिरेमा म तिरिदिन्छु भनेर इटलीको इन्टेसा सानपओलो बैंकले ग्यारेन्टी दिएको थियो । ठेकेदार कम्पनी सीएमसी र ग्यारेन्टी दिने इन्टेसा सानपओलो बैंक दुबै इटालीका कम्पनी हुन् ।

ठेकेदार कम्पनीकै देशको बैंकले दिएको बैंक ग्यारेन्टी नेपालको आयोजनाले चिन्ने कुरा भएन । तनहुकै उदाहरणबाट बुझ्ने हो भने पनि सीएमसीको लागि इटालीको इन्टेसा सानपओलो बैंकलाई तनहु जलविद्युत आयोजनाले चिन्दैन । यस्तो अवस्थामा इटालीको इन्टेसा सानपओलो बैंकले नेपालको बैंक खोज्छ । यही प्रक्रियामा नेपाल इन्भेष्टमेन्ट बैंक जोडिएको हो ।

विदेशका बैंकले दिएको ग्यारेन्टीलाई नेपालका बैंकले काउन्टर ग्यारेन्टी दिने हो । तनहु जलविद्युत आयोजनामा ठेकेदार कम्पनी सीएमसीले तिर्नुपर्ने भुक्तानी नदिएमा म तिरिदिन्छु भनेर इटालीको इन्टेसा सानपओलो बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग सम्झौता गर्यो । सोही सम्झौतालाई आधार बनाएर इन्भेष्टमेन्ट बैंकले सीएमसीले तिर्नुपर्ने रकम नतिरेमा म तिरिदिन्छु भनेर तनहु जलविद्युत आयोजनासँग सम्झौता गर्यो । विदेशी बैंकले दिएको ग्यारेन्टीका आधारमा स्वदेशी बैंकले दिने स्थानीय ग्यारेन्टी नै काउन्टर ग्यारेन्टी हो ।

कसरी फस्यो नेपाल इन्भेष्टमेन्ट बैंक ?

मेलम्ची खानेपानी आयोजनाको सन्दर्भ फरक छ । सो आयोजना पनि इटालीको ठेकेदार कम्पनी सीएमसीले नै बनाएको थियो ।

मेलम्चीमा विवाद आएपछि ठेकेदार कम्पनी सीएमसी नेपालबाट भाग्यो । सो कम्पनीका लागि इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँ काउन्टर ग्यारेन्टी दिएको थियो । मेलम्चीमा दिएको २ अर्ब रुपैयाँ बराबरको काउन्टर ग्यारेन्टी वापतको रकम इन्भेष्टमेन्ट बैंकले पाइसकेको छ ।

तर, सो ठेकेदारले विभिन्न प्रकारका निर्माण उपकरण खरिदलगायतमा बैंकले लगानी गरेको करिब १ अर्ब रुपैयाँ भने तिरेको छैन । यो रकम सीएमसीले नेपाल इन्भेष्टमेन्ट बैंकसँग लिएको ऋण हो ।

तनहु जलविद्युत आयोजनाको सन्दर्भ फरक छ । कम्पनीले तनहुमा काम सुरु गरेको नै थिएन । कामै सुरु नगरेको अवस्थामा मेलम्चीमा भएको विवादका कारण कम्पनी नेपालबाट भाग्यो । कम्पनीका उच्च अधिकारीहरुको पासपोर्ट पनि नेपाल सरकारले जफत गरेको थियो ।

आफूले कामै सुरु गर्न नपाएको र यसको कारण नेपाल सरकार भएको सीएमसीको आरोप छ । सोही आरोपको कारण सीएमसीले बैंक ग्यारेन्टी दिने इटालीको बैंक इन्टेसा सानपओलोलाई ठेक्का तोडे वापतको क्षतिपूर्ति रकम भुक्तानी नगर्न आग्रह गर्यो । र, यो विषय इटालीको स्थानीय न्यायिक निरुपण प्रक्रियामा पनि गयो । इटालीको न्यायिक निर्णयले तनहु जलविद्युत आयोजनालाई क्षतिपूर्ति तिर्नु नपर्ने आदेश दियो ।

न्यायिक प्रक्रियाबाट आएको निर्देशन अनुसार इटालीको इन्टेसा सानपओलो बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई काउन्टर ग्यारेन्टी वापतको रकम भुक्तानी गरेन । तर, यही बीचमा तनहु जलविद्युत आयोजनाले नेपाल इन्भेष्टमेन्ट बैंकले दिएको १ अर्ब ९० करोड रुपैयाँ काउन्टर ग्यारेन्टी वापतको रकम दाबी गर्यो । नेपाल इन्भेष्टमेन्ट बैंक काउन्टर ग्यारेन्टीमा फसेको यसरी हो ।

बीओके र हिमालयन बैंकको नमिठो नजिर

इन्भेष्टमेन्ट बैंक फस्नुअघि नै नेपालका २ वाणिज्य बैंक हिमालयन र बैंक अफ काठमाण्डू फसिसकेका छन् । यी दुबै बैंक मेलम्ची खानोपानी आयोजनाको चिनिया ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्युरोको काउन्टर ग्यारेन्टीमा फसेका हुन् ।

चाइना रेलवे १५ ब्युरोले मेलम्ची खानेपानी आयोजनाको डाइभर्सन टनेल र इनटेक निर्माणको ठेक्का पाएको थियो । कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सीसीबी) ले चाइना रेलवेलाई अग्रिम भुक्तानी र पर्फमेन्स ग्यारेन्टी दिएको थियो । सीसीबीका लागि हिमालयन बैंक र बैंक अफ काठमाण्डूले २०६५ को चैतमा काउन्टर ग्यारेन्टी दिएका थिए ।

तर, सुरुङमार्ग निर्माणमा ढिलाइ भएको भन्दै नेपाल सरकारले ९ असोज २०६९ मा चाइना रेल्वेसँगको ठेक्का तोड्यो । त्यसपछि अदालतबाट मुद्दा जितेर १ जेठ २०७२ काउन्टर ग्यारेन्टीमा राखिएको रकम सरकारले लग्यो ।

यस्तो रकममा बैंक अफ काठमान्डूको १४ लाख युरो र ६६ लाख अमेरिकी डलर थियो भने हिमालयन बैंकको ६६ लाख अमेरिकी डलर थियो । नेपाली बैंकले दिएको काउन्टर ग्यारेन्टी वापतको रकम नेपाल सरकारले लगिसकेको भएपनि चिनियाँ बैंकले त्यस्तो रकम नेपाली बैंकलाई अझै तिरेको छैन । चीनको विभिन्न तहको अदालती प्रक्रियामा छ ।

अन्तर्राष्ट्रिय कानुन

अन्तर्राष्ट्रिय कानुनअनुसार ग्यारेन्टी दिनेको नाममा काउन्टर ग्यारेन्टी दिनेले दायित्व बहन गरिदिन्नुपर्छ । ग्यारेन्टी दिनेले समेत काउन्टर ग्यारेन्टरलाई सुरक्षण गरिदिनुपर्छ । कुनै जालसाजी भएको प्रमाणित नहुँदासम्म काउन्टर ग्यारेन्टी दिनेले ग्यारेन्टीको भुक्तानी गरेको काम खारेज भएको मानिनेछैन भन्ने व्यवस्था छ ।

विदेशी ठेकेदार ल्याउन गाह्रो

बैंक अफ काठमाण्डू, हिमालयन र पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंकले भोगेको नियतिलाई नेपाली बैंकहरुले त्यति सहज रुपमा लिएका छैनन् । काउन्टर ग्यारेन्टीको पासोमा आफूहरु पर्न लागेको नेपाली बैंकको बुझाइ छ ।

बैंकहरुले अहिले भोगेको यो समस्या सामाधानमा सरकारले पहल नगर्ने हो भने नेपाली बैंकहरुले काउन्टर ग्यारेन्टी नदिने अवस्था आउन सक्छ । नेपाली बैंकले काउन्टर ग्यारेन्टी नदिई विदेशी ठेकेदार कम्पनी नेपालमा आएर काम गर्न सक्ने अवस्था रहदैन । त्यसकारण यो समस्या समाधानमा सरकारले गम्भीर पहल गर्न आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.