डाेटीमा ब्लड बैंक नहुँदा चारजनाले गुमाए अकालमा ज्यान

  २०७६ पुष २७ गते ९:३१     विकासन्युज

डोटी । रगत अभावका कारण अहिलेसम्म डाेटी जिल्लामा चार जनाको अकालमा ज्यान गुमाउनु परिसकेको बताइएको छ । निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले रगत अभावलाई अन्त्य गर्न स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुआत गरेको छ ।

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी शनिबार अभियानको शुभारम्भ गर्दै सबैले रक्तदान गर्न अति जरुरी भएको बताए । उनले भने, “हामीले दान गरेको रगतले अन्यको ज्यान जोगिन्छ भने खेर जाने रगत किन दान नगर्ने, ज्यान बचाउन भए पनि रक्तदान गनुपर्छ ।”

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रक्तदानले सबैभन्दा ठूलो पुण्य प्राप्त हुने भएकाले रक्तदान गर्न पछि हट्न नहुने बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तेजबहादुर डुम्रेलले जिल्लामा रगत अभावका कारण कयौं बिरामी मृत्यसवरणको दोसाँधमा पुग्ने भएकाले जिल्लामा ब्लड बैंक स्थापना हुनुपर्ने धारणा राखे ।

नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विजय खड्काले जिल्लामा अनिवार्य रूपमा तत्कालै ब्लड बैंक स्थापना हुनुपर्ने बताएका छन् । शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले भने, “बिरामीका लागि सबैले रक्तदान गरुन् र बिरामीको ज्यान जोगाउन भन्ने हाम्रो उद्देश्य हो, रक्तदान गर्दा कोही बच्न सक्छ भने दान किन नगर्ने ।”

जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणले हालसम्म ९७ बिरामीका लागि रक्तदान गरिसकेको निमित्त गणपतिसन्तोष ढुङ्गेलले जानकारी दिए । जिल्लामा बिरामीलाई रगतको आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नं गणले हालसम्म उपलब्ध गराउँदै आएका छन् । रक्तदान कार्यक्रममा ५० जनाले रगत समूह परीक्षण गरेको अस्पतालले जानकारी दिएको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.