सरकार नयाँ सहर निर्माणमा लागेको छ: राज्यमन्त्री मानन्धर

  २०७६ पुष २६ गते १४:१७     विकासन्युज

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकार नयाँ सहर निर्माणमा लागेको बताए । म्हैपी संरक्षण तथा व्यवस्थापन समितिले १७औँ वार्षिक साधारणसभाका अवसरमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उनले उपत्यका नजिकका क्षेत्रमा नयाँ सहर निर्माणमा सरकार लागेको बताएका हुन् । “उपत्यकाभित्र हैन, उपत्यकाबाहिर नयाँ सहर निर्माणका लागि डिपिआर बनाउने काम भइरहेको छ,” उनले भने ।

राज्यमन्त्री मानन्धरले उपत्यकाभित्रको वाग्मती, धोबीखोला करिडोरलाई व्यवस्थित बनाउन सरकार लागिरहेको उल्लेख गरे । वाग्मती व्यवस्थापन गर्न नसकिए काठमाडौं व्यवस्थित हुन नसक्ने उनको भनाइ थियो । सरकारले धेरै ऐन कानून निर्माण गर्नुपर्ने भएकाले विकास निर्माणका काम सोचेजस्तो अगाडि बढाउन नसकेको स्वीकार गरे । ऐतिहासिक र सांस्कृतिक महत्वको धनी उपत्यकामा नेपाल भ्रमण वर्षमा जतिसक्दो धेरै पर्यटक भित्र्याउन लाग्नुपर्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री रामकुमार श्रेष्ठले म्हैपी क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । “आफ्नो लागिभन्दा पनि समाजका लागि काम गरौँ,” उनले भने । समितिका अध्यक्ष कृष्णमान श्रेष्ठले म्हैपी मन्दिरसम्म जानका लागि घुम्ती बाटो निर्माण अहिलेको प्राथमिकता भएको जानकारी दिए । “घुम्ती बाटो निर्माणका लागि काठमाडौं महानगरपालिकाले गरेको ५० लाख सहयोगले मात्रै हुन सक्दैन,” अध्यक्ष श्रेष्ठले भने । विसं २०५८ मा म्हैपी मन्दिर र वन क्षेत्रको संरक्षणका लागि स्थापना भएको समितिले हाल म्हैपी मन्दिरलाई नमूना मन्दिरका रुपमा विकास गर्न विभिन्न किसिमका सामाजिक काम गर्दै आइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.