खानेपानी मन्त्रीद्वारा भीमदत्त नगरपालिकामा ओभरहेड खानेपानी ट्याङकीको शिलान्यास 

  २०७६ पुष २५ गते १९:३८     विकासन्युज

कंचनपुर । खानेपानी मन्त्री बिना मगरले कन्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत वडा नम्बर ६,८ र १० मा संचालन हुने खानेपानी ओभरहेड ट्याङकीको शिलान्यास गरेका छन्। सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आयोजना गरेको कार्यक्रममा खानेपानी मन्त्री मगरले एक समारोहका बीच ओभरहेड ट्याङकीको शिलान्यास गरेका हुन्।

उक्त खानेपानी आयोजनाले भिमदत्त नगरपालिका तीन वडाका १७ सय २३ घरधुरीका करिब साढे ९ हजार  जनसंख्या लाभान्वित हुनेछन् । उक्त आयोजनाको कूल लागत १८ करोड ५३ लाख रुपैयाँ रहेको समितिले जनाएको छ । यो ट्याङकीको क्षमता साढे चार लाख लिटर रहेको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी र सरसफाइको क्षेत्रमा सिङ्गो देशको सपाट मार्ग चित्र कोर्न चाहिरहेको बताए । उनले स्थानीय, प्रदेश र संघीय सरकारको नेतृत्वमा देशको सरसफाइ गुरुयोजना बनाउने तयारी भैरहेको जानकारी दिए । ‘खानेपानीको पहुँचबाट पहुँचविहीन भएका जनताको समस्यालाई सम्बोधन गर्न देशै भरीको योजना बनाउदै छौं ।’ उनले भने, ” खानेपानी संगै सरसफाइ र ढलको पनि रोड म्याप तयार गर्नेछौं । ‘ उनले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्दै सूदुरपश्चिम क्षेत्रको विकासमा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख विद्यानाथ भट्टराईले यो आयोजना अबको १३ महिना भित्रमा सम्पन्न गरिसक्नुपर्ने बताए । उनले यो आयोजना एडीबी लगायत नगर विकास कोषबाट आर्थिक सहयोगमा बन्न लागेको जानकारी दिए ।

यसैबीच कन्चनपुरको बेलौरीमा भएको अर्को एक कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले जनताका  माझ गरिएका प्रतिबद्धता क्रमिक रूपमा पूरा गर्दै जाने बताएका छन्  ।

शुक्रबार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईमा निर्मित त्रिपुरा सुन्दरी भगवती मन्दिरको शिलालेख अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले नागरिकलाई विकासको मूलधारमा ल्याउन  प्रयत्नशील रहेको उल्लेख गरेका छन् । मन्त्री मगरले नागरिकको जीवन स्तरमा सुधार ल्याउन र दैनिक जीवनसँग जोडिएका  विषयमा  सकारात्मक परिवर्तन ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.