एनएमबि बैंकको ३५ प्रतिशत लाभांश पारित, सञ्चालकमा ६ जना निर्वाचित

  २०७६ पुष २५ गते १९:२४     विकासन्युज

काठमाडौं । एनएमबि बैंकको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पुँजीको २१ प्रतिशत बोनस र कर प्रयोजन सहित १४ प्रतिशत नगद गरी सो मात्राको लाभांश पाउने छन् ।

उक्त सभा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा सम्पन्न भएको थियो ।

सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना गरी सञ्चालक पदमा ६ जना निर्वाचित गरेको छ । जसमध्ये संस्थापक शेयरधनीबाट पवन कुमार गोल्याण, एफएमओको तर्फबाट नीको पिल र कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले तथा सर्वसाधारण शेयरधनीबाट शिरिश कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन निर्वाचित भएका छन् ।

हाल बैंकले १६३ वटा शाखा, ५ एक्स्टेन्सन काउन्टर तथा १२८ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।