नाट्टाको अध्यक्षमा उत्रिए तीन प्रतिस्पर्धी, कसले मार्ला बाजी ?

  २०७६ पुष २५ गते १८:२३     विकासन्युज

काठमाडाैं ।  नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्डस् (नाट्टा)को आसन्न निर्वाचनले सम्बन्धित व्यवसायीबीच माहोल तताएकाे छ । २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी योजना सहित शुरू भएकाे नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नाट्टाकाे भूमिका पनि महत्वपूर्ण हुन्छ । यसले पनि नाट्टाको नेतृत्व कसले पाउँछ भन्ने विषयले पर्यटन क्षेत्रमा महत्व पाएकाे छ ।

नाट्टाको अध्यक्ष पदमा तीन जनाबीच प्रतिस्प्रर्धा हुँदैछ भने उनीहरूले अलग अलग टिम बनाउने काम गरिरहेका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई र पूर्व महासचिव भिम प्रसाद पन्त नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरिसकेका छन् भने पूर्व महासचिव तथा पर्यटन व्यवसायी मिहिका शाह धाख्वा नेतृत्वमा तेस्राे समूह बन्ने बताइएकाे छ । मिहिका शाहकाे टाेलीले आइतबार उम्मेदवारी घोषणा गर्ने तयारी गरेकाे छ ।

नाट्टामा वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव र सदस्य भएइसकेका अच्युत गुरागाँइ हाल अध्यक्षका उम्मेदवार बनेका छन् । गुरागाइँकाे समूहमा हेमराज बास्तोला वरिष्ठ उपाध्यक्ष, यज्ञमुर्ति आचार्य उपाध्यक्ष, महासचिवमा राकेश धमाला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमार मणि थपलिया र सह कोषाध्यक्षमा पासाङ दावा शेर्पा रहेका छन् ।

त्यस्तै, नाट्टाको पूर्व महासचिव शाहकाे समूहमा वरिष्ठ उपाध्यक्ष नारायण गुरुङ उपाध्यक्ष रमेश थापा, महासचिव कमला गुरुङ, सचिवमा अमृत ढकाल, कोषाध्यक्षमा देवकी गुरुङ,सहकोषाध्यक्षमा फुडोमा शेर्पा रहेका छन् ।

पन्तको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा बिनय बस्नेत, उपाध्यक्षमा वरुण मेहता र महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल उम्मेदवार बनेका छन् । उनकाे समूहमा सचिवमा जिस्वान तुलाधर श्रेष्ठ, कोषध्यक्षमा हरिभक्त श्रेष्ठ र सहकोषाध्यक्षमा युविका भण्डारी उम्मेदवार दिएका छन् । पन्तले यसअघि नाटामा महासचिवको भूमिका निर्वाह गरिसकेका छन ।

माघ ३ गते हुने निर्वाचनमा सबै समूहहरू अहिले चुनावकाे प्रचार प्रसारमा जुटिसकेका छन् । अध्यक्षका प्रत्याशीत तीन उम्मेदवारसँग हामीले तपाईको अध्यक्षको उम्मेदवारी किन र अध्यक्ष हुने तपाईका एजेण्डाहरु के-के छन् भनेर सोधेका छौं ।

अच्युत गुरागाई, अध्यक्षका प्रत्यासी

मेरो नेतृत्वको समूहले नाट्टाका सदस्यहरुको हकमा काम गर्छ । सदस्य कम्पनीहरुलाई प्रविधीमैत्री बनाउन सोसियल मिडिया, डिजिटल मार्केटिङ लगायतका समयानुकुल तालिमहरु संचालन गर्नेछ । सदस्य कम्पनीहरुको सहज पहुँचका लागि नाट्टा सचिवालयलाई थप व्यवस्थित, प्रभावकारी र प्रविधीमैत्री बनाउने हाम्राे प्रतिवद्धता हाे ।

होटल तथा एयरलाइन्सहरुले एजेन्टहरुलाई भन्दा कन्जुमरहरुलाई सस्तो रेट उपलब्ध गराइरहेको वर्तमान अवस्थामा एजेन्टहरुलाई प्रतिस्पर्धात्मक रेट उपलब्ध गराउने होटल तथा एयरलाइन्सहरुको नामलाई फेवरेट होटल र एयरलाइन्सको रुपमा नाटा वेबसाइट, नाटा न्यूज लेटरलगायत विभिन्न माध्यमबाट प्रवर्धन गरिनेछ ।

नाट्टा सदस्यहरुलाई कुनै आपतकालीन स्थिति आइपर्दा सहयोग पुर्याउने हेतुले राहत कोष खडा गराउने छु । गैरकानुनी टुर अपरेटरलाईलाई निरुत्साहित गर्दै नो टुर विद आउट गाइड एण्ड अपरेटरको अवधारणालाई कार्यान्यवन गराउन प्रयत्न गरिनेछ । काठमाडौं तथा अन्य मुख्य पर्यटकीय नगरीहरुमा टुरिष्ट बस टर्मिनल र पार्किङ व्यवस्थापनका लागि प्रभावकारी पहल गर्न कुनै कसर बाँकी राखिने छैन ।

पर्यटन व्यवसायको प्रवर्द्धनका लागि बैंक तथा वित्तिय संस्थाहरुबाट कृषि क्षेत्रलाई जस्तै गरी सहुलियतपुर्ण व्याजसहित ऋण उपलब्ध गराउने नीतिगत व्यवस्था हुनका लागि पहल गर्नेछु । नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि सदस्य व्यवसायीहरुको सक्रिय संलग्नतामा बर्षभरी देशभित्र र बाहिर प्रबर्द्धनात्मक कार्यक्रमहरु आयोजना गर्नेछु ।

नेपाललाई आकर्षक गन्तव्यको रुपमा प्रचारप्रसार गर्न अन्तर्राष्ट्रिय रुपमा विशेष प्रवर्द्दनात्मक कार्यक्रमहरु संचालन गरेर युरोप, अस्ट्रेलिया, अमेरिका र एसियाका ठुला टर अपरेटरहरुलाई नेपालमा फामट्रिप गराउने छु । पर्यटकीय सुविधाका लागि प्रमुख सम्पदा, गन्तव्यस्थल र राष्टिय राजमार्गहरूमा सार्वजनिक शौचालय निर्माण गर्न भूमिका खेल्नेछु । आगामी दुई वर्षभित्र प्रदेश नम्बर २ र ६ प्रादेशिक संघ विस्तार गर्न पहल गर्नेछु ।

 मिहिका शाह धाख्वा, अध्यक्षका प्रत्यासी

परिवर्तनका निम्ति एकता भन्ने नाराका साथ हामी चुनावमा आएका छौं । एक सक्षम र अनुभवी टिम बनाएर हामी चुनावमा उत्रिएका छौं । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने हाम्रो प्रमुख ऐजेण्डा हो । हामी अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटनको प्रचार प्रसार गरेपनि हामीले त्यसको नतिजा पाइरहेका छैनौं ।

यसलाई पनि हामी नतिजामुखि बनाउनो छौं । हाम्रो पर्यटकलाई दिने सुविधाहरु बढाउने छौं । राजमार्गहरुमा सुविधा सम्पन्न भौतिक पूर्वाधारहरु निर्माण गर्न विशेष पहल गर्नेछौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जनशक्तिहरु परिचालन सहयोग गर्नेछौं । टुरिष्ट बसहरु सञ्चालन गर्न भूमिका खेल्नेछौं ।

 भिमप्रसाद पन्त, अध्यक्षका प्रत्यासी

म अन्तरर्राष्ट्रिय बजार प्रबर्द्धनमा क्षेत्रीय बजार भारत, चीन, दक्षिण कोरिया, भियतनाम, श्रीलंका, बंगलादेश र मलेसिया लगायतका विभिन्न देशहरूमा पर्यटकहरूको रूचि पहिचान गरि विशेष प्रबर्द्धनात्मक अभियानको संचालनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल सरकारसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरू संचालन गर्नेछु ।

साथै, विश्वका अन्य विभिन्न मुलुकहरूमा नेपालको पहिचान हुने गरी पर्यटन क्षेत्रको प्रबर्द्धन गर्नेछु । सीमा क्षेत्रमा पर्यटक आगमनमा रहेका समस्याहरू समाधान गर्नुका साथै पर्यटकहरूको सहज आवागमनको लागि सम्बन्धित निकायसँग समन्वय गरी कार्य गर्ने पहल गर्नेछु । विदेशी टूर अपरेटरहरूले नेपाल भ्रमण गराउँदा हुने गरेका भ्रामक तथा आपत्तिजनक क्रियाकलापलाई यथाशीघ्र रोक्न पहल गर्ने मेरो दायित्व रहने छ ।

होटल एशोसिएशनसँग समन्वय गरी स्वदेशी एजेन्सीहरूलाई प्राथमिकताका साथ प्रतिस्पर्धी दर रेट निश्चित गरी लागू गराउ प्रमुख भूमिकामा रहनेछु । यथाशीघ्र काठमाडौं र पोखरामा पर्यटक बसपार्क निमार्ण गर्न जोडदार पहल गरिने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका सेवा, सुविधा र समस्याहरूको निराकरणका साथै विमानस्थलदेखि उपत्यकाको विभिन्न स्थानमा हवाई यात्रुका लागि मात्रै सार्वजनिक शटल बसका लागि पहल गर्नेछु ।

साथै, पर्यटन व्यवसायीहरुको षमता वृद्धिका लागि विशेष तालिमका कक्षाहरु सञ्चालन गरी प्रविधिमैन्त्री पर्यटन व्यवसायी बनाउन भूमिका खेल्नेछु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.