नर्सिङ कलेज र सिटिइभिटीकाे भूमरीमा फसेका ३० छात्रा, माग पुरा नगरे आत्मदाह गर्ने चेतावनी

  २०७६ पुष २४ गते १८:४०     डाेमी शेर्पा

 काठमाडौं । सुर्खेतकी प्रेमिका राज्यलक्ष्मी शाहीको सानैदेखि नर्स बन्ने सपना थियो । त्यो सपनालाई यथार्थमा परिणत गर्न उनी २०७५ सालमा सिटिइभिटीको प्रवेश परिक्षा पास गरेर भक्तपुरस्थित चक्रवर्ति नर्सिङ कलेजमा भर्ना भइन् ।

प्रवेश परीक्षा पास गरेसँगै उनी धेरै खुशी भइन् । कारण थियो नर्स बन्ने उनको सपना पूरा हुने भयाे। चक्रवर्तिमा एक वर्ष राम्रैसँग बित्यो । उनीसहित  ३० जना छात्राहरू सँगै पढ्थे । कलेजबाट सञ्चालित हुने त्रैमासिक, प्रि बोर्ड परीक्षा पनि उनीहरूले राम्रैसँग दिए ।

त्रैमासिक र प्री-बाेर्ड परीक्षामा अंक पनि राम्रै ल्याए । अब उनीहरुअन्तिम परीक्षा जुटे । बोर्ड परीक्षा साउन २६ गतेबाट शुरु हँदै थियो । राज्यलक्ष्मीसहित उनका साथीहरु परीक्षा शुरु हुनुभन्दा ३ दिन अगाडि अर्थात २३ गते परीक्षाको प्रवेश पत्र लिन कलेजमा पुगे । तर, कलेजले उनीहरुको प्रवेश पत्र दिएन । उनीहरु झसंग भए ।

त्यो दिन त्यतिकै बित्यो । २४ गते गए काम भएन, २५ गते गए, अँह, प्रवेश पत्र पाएनन् । साउन २६ गते उनीहरु बिहानै कलेज गए । अहँ, त्यो दिन पनि प्रवेश पत्र आएन । अब उनीहरुलाई शंका लाग्यो । भर्ना हुनभन्दा पहिला कलेज केही विवादमा रहेको भन्ने सुनेका पनि थिए ।

तर, कलेजसँग यस विषयमा बुझ्दा कलेजले उच्च अदालतबाट आएको स्टे अर्डर देखाएपछि उनीहरु ढुक्क भइन् र पढ्न शुरु गरिन् ।  प्रवेश पत्र नपाएसँगै उनीहरुलाई त्यसबेला बल्ल थाहा भयो कि कलेजको विवाद कायमै छ । यद्यपी, सिटिभिटीका कन्ट्रोलर र सदस्य सचिवले तपाईहरु पढ्दै गर्नुस् पछि कलेजको विवाद सकिएपछि यस विषयमा छिट्टै सेटलमेन्ट गरौंला भन्ने आश्वासन दिएर पठाए ।

परीक्षामा सामेल हुन नदिएपछि चक्रवती नर्सिङ कलेज पाटन उच्च अदालतमा गयो । अदालतले विद्यार्थीलाई प्रवेश पत्र दिई २७ गतेको परिक्षामा सामेल गराईदिन अन्तिरम आदेश दियो । तर, सिटिइभिटीले अदालतको आदेशलाई वास्ता गरेन ।

त्यसपछि घटनाले अर्कै मोड लियो । चक्रवर्ति कलेजले सिटिइभिटीविरुद्ध व्यक्तिगत रुपमा मानहानीको मुद्दा हाल्यो । मानहानीको मुद्दा हालेपछि सिटिइभिटी कलेजसँग मात्र नभएर विद्यार्थीहरुसँग पनि नकरात्मक बन्यो । उनीहरुले परीक्षा पनि दिन पाएनन् ।

अहिले पाँच महिना बिति सकेको छ । शाही र उनका अन्य साथीहरुले धेरै ठाउँमा धाए । तर, त्यसिको सुनुवाई भने अहिलेसम्म भएकोे छैन । उल्टै बेलाखत उच्च पदस्तहरुले नबुझेर कलेज भर्ना गरेको भन्दै विद्यार्थीहरुलाई झस्काई रहे । ‘हाम्रो काम भनेको पढ्ने हो, हामी गाउँबाट आएकालाई कहाँ के छ ? केही विवाद छ की छैन भनेर कसरी थाहा हुन्छ’ शाहीले भनिन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले २०७४ साल असोज २२ गते नै उक्त कलेजले परिषद्ले तोकेका मापदण्ड पूरा गर्न नसकेका कारण सम्बन्धन खारेज गरेको रहेछ ।

शुल्क फिर्ता गरेर पछाडि हट्यो कलेज

चक्रवर्ति नर्सिङकलेज उनीहरुबाट लिएको शुल्क फिर्ता गरेर पछाडि हटिसकेको छ । शुरुमा ४० प्रतिशत रकम लिनुपर्नेमा कलेजले विद्यार्थीसँग ६० प्रतिशत रकम लिएको थियो । रकम फिर्ता गरेर विद्यार्थीलाई दिएको ठूलो धोकाबाट कलेज पन्छिन खाेजेकाे छ । कलेजका कुनै पनि व्यक्तिसँग अहिले सम्पर्क नभएको शाहीको भनाई छ ।

माघसम्म सुनुवाई नभए आत्मदाह गर्ने

माघ भित्रमा आफ्ना मागको समाधान नभए सिटिइभीटी, शिक्षा मन्त्रालय र नेपाल सरकारको नाममा आफूहरू आत्मदाह गर्ने शाहीले बताइन् । यति लामो समय खर्च भएको बताउँदै उनले आफ्नो माग पूरा नभए आत्मदाह गर्ने चेतावनी दिएकी हुन् ।

आफू अध्ययनरत कलेजलाई खारेज गर्न अदालतले आदेश दिएपछि पहिलो वर्षको अन्तिम परीक्षा दिन नपाएका नर्सिङका ३० विद्यार्थीले आफूहरूलाई अर्को कलेजमा व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । तर, कलेजको मापदण्ड पुगे नपुगेको हेर्ने सीटीइभीटीले भने मापदण्ड नपुगेको कलेजबारे आफूहरूले विद्यार्थीलाई पटपटक जानकारी गराएको जनाएको छ ।

उक्त खारेजीको निर्णयविरुद्ध चक्रवर्ती नर्सिङ कलेजले उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो। त्यसमा पाएको अन्तरिम आदेशकै आधारमा कलेज सञ्चालन भइरहेकोले आफूहरूलाई त्यस्तो कानूनी पाटोबारे थाहा नभएको विद्यार्थीहरूले बताएका छन्। तर, सिटिइभिटीले भने त्यसबारे बेलैमा विद्यार्थीहरूलाई सूचित गरेको जनाएको छ ।

सीटीइभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले विद्यार्थीलाई कलेजको सम्बन्धन रद्द गरिएको भनेर जानकारी गरिएको बताए । ‘तपाईँहरू त्यहाँ अध्ययन नगर्नुस् भनेर पटकपटक जानकारी गराएका थियौं, अब अदालतले पनि खारेज गर्ने विषय सदर गरिसकेको अवस्थामा विद्यार्थीको माग पूरा गर्ने कानूनी आधार हामीसँग छैन’ उनले भने ।

अब मन्त्रिपरिषद्ले नै कुनै विशेष व्यवस्था गरेर केही निर्देशन दिए मात्रै उनीहरूलाई व्यवस्थापन गर्ने ठाउँ रहन्छ। नत्र अरू केही पनि आधार नरहेको उनको भनाइ छ । पिडित विद्यार्थीहरूले बिहीबार शिक्षा मन्त्रालयका उच्च  अधिकारीहरूलाई पनि भेटेकाे शाहीले बताइन् । शिक्षा मन्त्रालयबाट समस्याकाे समाधान गर्ने आश्वासन आएकाे बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.