बाकसभित्र लुक्दै विमान चढेर भाग्न सफल भएका थिए निशानका पूर्व कार्यकारी प्रमुख कार्लोस गोन

  २०७६ पुष २३ गते १२:१६     विकासन्युज

काठमाडौं । जापनिज कार उत्पादक कम्पनी निशानका पूर्व प्रमुख कार्लोस गोन नजरबन्दकै समयमा पनि सुटुक्क भाग्न सफल भएको समाचारले अहिले विश्वभरका मिडियाहरुमा विशेष स्थान पाएको छ । केहि दिन अघि मात्र जापान स्थित आफ्नो अपार्टमेन्टबाट भाग्दै लेवनन पुगेका गोनलाई जापानी अधिकारीहरुले कुनै पनि हालतमा जापान फर्काउने र कानुन बमोजिम कारवाहि गरिछाड्ने अठोट लिएका छन् ।

भाग्न अपनाएको शैली
सीसीटीभी फुटेजमा देखिए अनुसार स्थानिय समय अनुसार दिउँसो दुई बजेर ३० मिनेट जाँदा कार्लोस आफ्नो निवासबाट एक्लै बाहिर निस्कन्छन् । उनी एउटा मास्कको सहायताले अनुहार ढाक्दै कुनै होटलमा पुग्छन् जहाँ उनको भेट दुई जना व्यक्तिहरुसँग हुन्छ । ती दुई सहित कार्लोस शिनागावा स्टेशन पुग्छन् र ओसाका जाने रेल चढ्छन् । ओसाकामा पुगेर उनीहरु विमानस्थल नजिकैको एउटा होटलमा बस्छन् ।

अधिकारीहरुले जनाए अनुसार होटलबाट एयरपोर्ट जाने क्रममा कार्लोसका दुई साथीहरु सांगितीक उपकरण बोक्ने एउटा ठूलो बाकस लिएर निस्कन्छन् । कार्लोस लुकेर बसेको सो बाकस ठूलो साइजको भएको हुनाले एयरपोर्टको एक्सरे मेशिनमा अटाउँदैन र विना कुनै सुरक्षा जाँच नै एयरपोर्ट भित्र रहेको एउटा निजी विमानसम्म पुग्न सफल हुन्छ ।

कार्लोस गोनसँग लेवनन, ब्राजिल र फ्रान्सका गरी तीन ओटा देशहरुको पासर्पोट थियो । लेवनन सरकारसँग नजिकको सम्बन्ध रहनु र त्यसैगरी लेवनन र जापानका बीच प्रत्यर्पण सन्धी पनि नहुनुले कार्लोसलाई लेवनन जान उचित लागेको हुनसक्छ । यदी उपरोक्त दुई देश बीच प्रत्यर्पण सन्धी गरिएको हुन्थ्यो भने लेबननले कार्लोसलाई पक्राउ गरी जापानलाई सुम्पिन सक्थ्यो ।

मौनता भङ्ग गर्ने सम्भावना
अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएअनुसार उक्त निजी विमानमार्फत् टर्की हुँदै लेवनन पुग्न सफल भएका कार्लोस गोनले बुधवार यसै विषयका बारेमा पत्रकार सम्मेलन गरी आफ्नो मौनता भङ्ग गर्ने सम्भावना प्रवल रहेको छ ।

यस्तो थियो कार्लोस माथि लागेको आरोप
६५ वर्षिय कार्लोस् गोनलाई कम्पनीमा आर्थिक अपचलन गरेको आरोपमा पक्राउ गरिएको थियो भने लगत्तै उनी कम्पनीबाट निलम्वनमा पनि परेका थिए । १०८ दिनसम्मको हिरासत बसाइपश्चात् उनी धरौटीमा रिहा भएका थिए । हिरासतबाट बाहिर निस्किए पनि उनलाई देश छाडेर बाहिर जान तथा आफ्नी श्रीमतीसँग भेट्न लगायतका प्रतिबन्ध चाहिँ लागिरहेको थियो । यस किसिमका नजरबन्दीको बावजुद पनि केहि दिन अघि मात्र उनी टोकियो स्थित आफ्नो घरबाट नाटकिय शैलीमा भागेर लेवनन पुग्न सफल भएका थिए ।

एक समय नायक मानिन्थे कार्लोस

हाल आर्थिक अनियमितताको आरोप खेपिरहेका कार्लोसलाई जापानमा कुनै समयमा नायकको संज्ञा दिइएको थियो । सन् २००१ मा उनले टाट पल्टिन लागेको निशान कम्पनीमा प्रमुखको भूमिका सम्हाले पछि सो कम्पनीको अवस्थामा काया पलट नै ल्याइदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.