खाडीको पसिनाले थेग्दैछ नेपाली अर्थतन्त्र, वार्षिक ५ लाख नेपाली विदेशिदै

  २०७६ पुष २३ गते १०:४५     सुनिता पुडासैनी

काठमाडाैं । वैदेशिक रोजगारका लागि दैनिक हजारको संख्या नेपाली युवा जनशक्ति बाहिरिने गर्छ । विदेशमा काम गर्ने युवाले कमाएर नेपाल पठाएको रकमले नै नेपाली अर्थतन्त्रलाई थेगेको अवस्था छ ।

स्वदेशमा नै रोजगारी सिर्जना गर्ने भन्दै सरकारले वार्षिक ठूलो परिमाणको रकम खर्च गर्ने गरेपनि यसले अपेक्षित उपलब्धी प्राप्त गर्न सकेको छैन । रोजगारीको खोजीमा लाखौं युवा जनशक्ति विदेशिनु पर्ने बाध्यता छ ।

सरकारले देशमा वार्षिक ५ लाख युवालाई रोजगारी दिने लक्ष्य राखेको छ । अहिले संचालनमा रहेको १५औं आवधिक योजनाले पनि वार्षिक ५ लाख जनशक्ति श्रम बजारमा आउने र त्यसलाई रोजगारी प्रदान गर्नु चुनौति रहेको उल्लेख गरेको छ ।

वार्षिक ५ लाखको संख्यामा नयाँ रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता रहेपनि त्यसमा सरकार आफैले आपूर्ति गर्न सक्ने रोजगारीको संख्या निकै कम हुन्छ । आवश्यक रोजगारी प्रदान गर्ने कार्यमा निजी क्षेत्रको भूमिका नै सर्वाेपरी हुने गरेको छ ।

वार्षिक ५ लाख नेपाली विदेशिदै

बैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३ लाख ६२ हजार २३ जना बैदेशिक रोजगारीको लागि विदेश गएका थिए । यस्तै २ लाख ५८ हजार ६ सय ३ जनाले श्रम स्वीकृति नविकरण गरेर विदेश गए । यी दुबै तथ्यांक जोड्दा सो आर्थिक वर्ष ६ लाख २० हजार ६ सय २६ नेपाली विदेश गएका थिए ।

यस्तै, गत आर्थिक वर्षमा पनि ५ लाखभन्दा बढी नेपाली विदेश गएका थिए । सो आर्थिक वर्ष २ लाख ४३ हजार ८ सय ६८ जना विदेशमा रोजगारी खोज्दै विदेशिएका थिए भने २ लाख ७२ हजार ६ सय १८ जनाले श्रम स्वीकृति नविकरण गरेर विदेश गए । सो वर्ष ५ लाख १६ हजार ४ सय ८६ नेपाली विदेशमा रोजगारी खोज्दै गए ।

चालु आर्थिक वर्षको ४ महिना (साउनदेखि कात्तिकसम्म) मा पनि ठूलो संख्यामा नेपाली विदेश गएका छन् । विभागका अनुसार सो अवधिमा ७९ हजार ६ सय ८० जना नेपाली रोजगारी खोज्दै विदेश गए । यस्तै ८० हजार ८ सय ९१ जनाले श्रम स्वीकृति नविकरण गरेर विदेश गए ।

विदेश जाने ७५ प्रतिशत कामदार अदक्ष

वैदेशिक रोजगारमा ७५ प्रतिशत अदक्ष नेपाली युवा जाने गरेको श्रम मन्त्रालयको एक प्रतिवेदनमा उल्लेख छ । जम्मा २ प्रतिशत दक्ष नेपाली श्रमिक वैदेशिक रोजगारका लागि बाहिरिने गर्छन् । २३ प्रतिशत अर्धदक्ष श्रमिक वैदेशिक रोजगारका लागि जाने गरेको मन्त्रालयको तथ्यांकमा समावेश छ ।

रेमिटान्सले थेगेको अर्थतन्त्र

आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ व्यापार घाटा थियो । गत आर्थिक वर्ष १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ व्यापार घाटा थियो । चालु आर्थिक वर्षको ४ महिना (साउनदेखि कात्तिकसम्म) ४ खर्ब १४ अर्ब रुपैयाँ व्यापार घाटा छ ।

व्यापार घाटाको अवस्था कहालिलाग्दो रहेपनि विदेशमा काम गर्ने नेपालीले पठाएको रेमिटान्सको कारण नेपाली अर्थतन्त्रको जग हल्लिन पाएको छैन । अर्थात रेमिटान्सले नै नेपाली अर्थतन्त्रको जग थेगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको छ । यस्तै, गत आर्थिक वर्ष ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको ४ महिना (साउनदेखि कात्तिकसम्म) मा नै ३ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ रेमिटान्स नेपाल आएको छ ।

व्यापार घाटाको कारण समस्या पर्न सक्ने नेपाली अर्थतन्त्रलाई रेमिटान्सले बचाएको तथ्यांकले देखाउँछ ।

तर कम छैनन् सास्ती

नेपाली अर्थतन्त्रको जग थेग्ने रेमिटान्सको आधार बनेको बैदेशिक रोजगारीमा समस्याको चाङ छ । विदेश जानेक्रममा नै ठगिने, गन्तव्य देशमा भनेको काम नपाइने, त्यहाँ पनि अनेकन समस्या भोग्नुपर्ने जस्ता वाध्यता रहेका छन् ।

श्रमिकको सहजतालाई मध्यनजर गर्दै पछिल्लो समय वैदेशिक रोजगार विभागले नयाँ ई–टोकन तथा ई–स्टीकर सेवा प्रदान गरेको छ । यस्तो व्यवस्थाले केही हदसम्म राहत भने दिएको छ ।

वैदेशिक रोजगारीमा गएकामध्ये दैनिक दुई जनाको मृत्यु हुने गरेको बैदेशिक रोजगार वोर्डको तथ्यांक छ । पछिल्लो समय वैदेशिक रोजगारमा गएर त्यहाँको नियम कानुन नबुझ्दा कयौं नेपाली विदेशको जेलमा छन् ।

रोजगारका लागि विदेश गएकामध्ये ८ हजार नेपालीले दुर्घटना तथा विरामी भएको कारण ज्यान गुमाउनु परेको छ । यस्तै, २३ जना नेपाली विभिन्न देशमा गम्भीर स्वास्थ्य अवस्थाको कारण उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.