ढुंगानाकाे नियुक्तीसँगै लगानीकर्तामा उत्साह, भन्छन्-‘अब पुँजी बजारले राम्रै फड्को मार्छ’

  २०७६ पुष २२ गते १८:५८     मञ्जरी पाैडेल

काठमाडाैं । नेपाल धितोपत्र बोर्डकाे अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त भएसँगै लगानीकर्ताहरू उत्साहित भएका छन् । शेयर बजारसँग विज्ञ व्यक्ति बाेर्डकाे अध्यक्षमा नियुक्त भएकाे भन्दै लगानीकर्ता  र शेयरबजारसँग सम्बन्धित जानकारहरू उत्साहित भएका हुन् ।

बोर्डका नवनियुक्त अध्यक्ष  ढुंगानालाई लगानीकर्ताले मात्र हाेइनन् मंगलबारकाे शेयर बजारले  समेत स्वागत गरेको छ । पूँजी बजारको नियामक निकाय, बोर्डले शेयर बजारका विज्ञलाई अध्यक्षको रुपमा पाएपछि त्यसको सकारात्मक प्रभाव मंगलबारको शेयर बजारमा परेको हो ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १६.२३ अंकले उकालो लागेर १२१६.९२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३५ प्रतिशतले बढेको हो भने गत चार महिना यताकै उच्चतम बिन्दु हो ।

राष्ट्र बैंकमा ३० वर्षसम्म काम गरेर अनुभव बटुलेका ढुंगानाकाे कार्यकाैशल र जिम्मेवारी बहन गर्ने क्षमता कतिकाे छ भनेर हामीले शेयर बजारसँग सम्बन्धित निकायका प्रतिनिधीहरूसँग बुझ्ने प्रयास गरेका छाैं ।

के भन्छन् उनीहरू ?

भरत रानाभाट-अध्यक्ष, ब्रोकर एसोसियशन

‘नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेर आएको राम्रो अनुभवका अनुसार रेगुलेटरको हिसावले पूँजी बजार राम्रो होला जस्तो लाग्छ । नेप्सेमा सूचीकृत कम्पनी भनेको बैंक तथा वित्तीय संस्था नै धेरै छन् । जुनचाहिँ नवनियुक्त अध्यक्ष ढुंगानाले राष्ट्र बैंकमा हुँदा रेगुलेटरको हिसावले रेगुलेशन गरेका कम्पनीहरु भए । त्यस्तै, मोनिटरी पोलिसीले मार्केटलाई जसरी असर गर्थ्यो उहाँले राष्ट्र बैंकमा बस्दा त्यो सबै भोगेको हिसावले उहाँ मार्केटप्रति नजिकबाट हेरेको बुझेको मान्छेको रुपमा चिनिनु हुन्छ । साथै, उहाँको नेचरवाइज हेर्दा उहाँले सबै पक्षलाई व्यवस्थित ढंगले लैजानु हुन्छ भन्ने आशा छ ।’

राधा पोखरेल- अध्यक्ष,नेपाल पूँजी बजार लगानीकर्ता संघ

‘पुँजी बजारको नियामक निकाय, धितोपत्र बोर्डले धेरै समयपछि अध्यक्ष पाएको छ । जो शेयर बजारका विज्ञ हुनुहुन्छ । साथै, उहाँलाई धेरै जनाबाट छनोट गरेर ल्याइएको हुँदा बजारले राम्रो गति लिने आशाका साथ हामी स्वागत नै गर्छौं ।

पुँजी बजारको कुरा गर्नु पर्दा बजारमा यति धेरै समस्याहरु देखिएका छन् कि महत्वपूर्ण कामहरु कार्यान्वयन गर्नमा समेत ढिला सुस्ती भएको छ । जस्ताे पुँजीगत लाभकाे गणना जस्तो भारित औसतको कुरा जुन बोर्डले नै गर्नुपर्ने थियो, तर अहिलेसम्म पेन्डिङमै छ । केही ल्याउनु पर्दा रातारात नै ल्याइन्छ तर त्यसलाई कार्यान्वयन गर्न नियामक निकायले हप्तौं, महिनौं, वर्षौं लगाएको पाइन्छ ।

त्यसैले, अहिलेको नवनियुक्त अध्यक्षले बजारका समस्यालाई प्राथमिकतामा राखेर लगानीकर्ताको समस्याहरु एकदम सूक्ष्म रुपले अध्ययन गरेर छिटोभन्दा छिटो समाधान गर्नुहुन्छ भन्ने आशा छ । साथै, लगानीकर्तालाई पेनिक नबनाई उनीहरुको चराईरहेको घाउमा मलम पट्टी लगाउनु हुन्छ भन्ने धेरै आशा छ ।’

चन्द्र सिंह साउद- प्रमुख कार्यकारी अधिकृत,नेप्से

‘नेप्सेका पूर्व सञ्चालक अर्थात बोर्डका नयाँ अध्यक्ष ढुंगानालाई स्वागतका साथै नयाँ कार्यकालको लागि शुभकामना छ । धेरै पहिलेदेखि पुँजी बजार बुझ्नु भएको उहाँसँग राष्ट्र बैंकको विभिन्न विभागमा बसेर काम गरेको राम्रो अनुभव छ । त्यसैले उहाँको कार्यकालमा पुँजी बजारले राम्रै फड्को मार्ने खालका नीति नियम तथा लगानीकर्ताको चाहना अनुसारको नीतिगत सुधार हुन्छ भन्ने आशा छ ।’

मुराहरी पराजुली-  प्रवक्ता, नेप्से

‘बाेर्डमा नयाँ अध्यक्ष जो आउनु भएको छ, उहाँ शेयर बजारको विज्ञ हुनुहुन्छ । जसले गर्दा बजार विकासको हिसावले राम्रो हुनेछ । संस्थाको हिसावले हेर्दा उहाँ यस संस्थामा बसेर काम गर्नु भएकाले सेबोन र नेप्सेको सम्बन्धको बारेमा राम्रो जानकार हुनुहुन्छ । त्यसैले उहाँको कार्यकालमा काम गर्न हामीलाई धेरै सजिलो हुन्छ भन्ने आशा छ । सुझावको बारेमा भन्नु पर्दा धेरै जसो पुँजीबजारका कुराहरु निष्पक्ष छन् त्यसैले यो क्षेत्रमा गर्नु पर्ने कामहरुमा उहाँको साथ, सर्पोट तथा सहयोग पाइन्छ भन्ने आशा गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.