विषादीयुक्त खानाले वर्षेनी साढे तीन लाखको मृत्यु, जाेखिम कम गराउने सरकारी प्रयास विफल

  २०७६ पुष २१ गते १९:२५     सुनिता पुडासैनी

काठमाडाैं ।  विषादीयुक्त खाना खानाले वर्षेनी साढे तीन लाख मानिसकाे मृत्यु हुने गरेकाे छ । मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी विषादीहरू उत्पादन र प्रयोग गर्नाले विश्वमा वर्षेनी ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको पाइएकाे हाे।

विश्व स्वास्थ्य संघको प्रतिवेदन अनुसार स्वास्थ्यको ख्याल नगरी विषादीको उत्पादन तथा प्रयोगले वर्षेनी मृत्यु हुने मानिसको संख्या बढ्दै गएको हो । पछिल्लो समय विश्वमा नै बढ्दो विषादीको प्रयोगसँगै मानव स्वास्थ्य र स्वच्छ वातावरणका लागि चुनौतीपूर्ण देखिएको छ । संसारमा हरेक वर्ष ४ करोड मानिसमा विषादीले कतै न कतै र कुनै न कुनै रुपमा असर गर्ने गरेको उक्त प्रतिवेदनमा समावेश छ ।

मानव स्वास्थ्यका लागि हानिकारक विषादीकाे प्रयाेग राेक्नका लागि नेपाल सरकारले पनि प्रयास नगरेकाे हाेइन । तर, विगत ६ वर्षदेखि विषादी प्रयाेग प्रतिबन्ध गर्ने याेजनामा रहेकाे नेपाल सरकारकाे याेजना कार्यक्रममा मात्र सिमित हुने गरेकाे छ ।

यसले पनि नेपाल सरकारले गरेकाे प्रयास  विफल भएकाे मान्न सकिन्छ । ६ वर्षसम्मकाे अवधिमा  आइपुग्दा विषादी प्रयोगमुक्त बनाउने नेपाल  सरकारको नीति प्रभावहीन देखिएको छ । अन्नवाली तथा खाद्यवस्तुमा विषादी प्रयोगमुक्त बनाउने सरकारको नीति प्रभावहीन देखिएको हो ।

सन् २०१३ देखि खाद्यवस्तुमा विषादी मुक्त गर्ने नीति तथा कार्यक्रमहरु अघि सारेको थियो । तर, ६ वर्ष बितिसक्दा पनि त्यो कार्यक्रम भने प्रवाभकारी नदेखिएको हो । सरकारले २४ वटा विषादीलाई कृषिमा प्रयोग गर्न प्रतिबन्ध गरेको छ ।

सरकारले विभिन्न विषादीहरु प्रयोगमा प्रतिबन्ध लगाएपनि त्यसको कार्यान्वयन भने देखिँदैन । ती विषादीहरु मानव स्वास्थ्यका लागि हानिकारक र उतिकै खतरनाक भएपनि यसको प्रयोगमा भने कमि आएको छैन । खाद्यवस्तुमा विषादीको भार ६ प्रतिशत रहेको एक सर्वेक्षणले देखाएको छ ।

गत आर्थिक वर्ष २०७५/०७६ मा मात्रै ८४ करोड रुपैयाँ अर्थात ६३२.४१ टन बराबरको विषादी नेपाल भित्रिएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सबैभन्दा बढी रोगनासक विषादी २ सय ६७ टन, किटनाशक २ सय १६ टन, झारनासक १ सय ४२ टन र अन्य ५ टन विषादी नेपाल भित्रिएको छ ।

हरेक वर्ष विषादी प्रयोग मुक्त समाज तथा बजार निर्माण गर्नका लागि केन्द्रले गरेको कामको प्रभाव नदेखिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईले स्विकार गरे ।

‘घातक विषादीको प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने नाराका साथ वर्षेनी कार्यक्रम हुँदै आएपनि विषादी प्रयोग र आयातमा भने कमि आउन सकेको छैन । भारतसँग खुल्ला सिमानाका कारण पनि अवैध रुपमा विषादीको आयात भइरहेको जानकारहरु बताउँछन् ।

यी हुन् सरकारले रोक लगाएका विषादी

‘घातक विषादीको प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने नाराको साथ सरकारले २४ वटा विषादीमा प्रतिबन्ध लगाएको छ । तरकारी तथा फलफूल परीक्षणको समयमा विभिन्न खालका तरकारी तथा फलफूलमा भेटेका २४ वटा विषादीलाई सरकारले प्रतिबन्धित विषादीको रुपमा घोषणा गरेको हो ।

सरकारले अल्ड्रिन, विएचसि,क्लोरोडेन, डानअल्ड्रिन, डीडीटी, इन्ड्रिन, हेप्टाक्लोर, लिन्डेन, अर्गानो मक्र्यूरि फंगीसाइड विषादीहरु प्रयोग गर्न रोक लगाएको छ । यस्तै,मिरेक्स, फस्फामाइडिन, टोक्सानफेन, मोनोक्रोटोफस, मिथाइल पाराथियन, इण्डोसल्फान, फोरेट, बेनोमाइल विषादी प्रयोग गर्न पनि पूर्ण रुपमा प्रतिबन्ध गरेको छ ।

चालु आर्थिक वर्षको पुस अन्तिमसम्म कार्बाेफ्यूरान, ट्राइजोफस, डाइक्लोरभस, कार्बारिल, कार्बाेसल्फान, डाइकोफल, एलम्यूनियम फस्फेट नामका विषादी प्रयोग तथा वेचविखन गर्न पाइने सरकारले जनाएको छ ।

पुरुषको तुलनामा महिला र केटाकेटीहरुमा विषादीको नकारात्मक असर बढी पर्ने हुन्छ । विषादीको कारणले तत्काल असरको रुपमा मानवमा मुर्छा पर्ने, झाडा पखाला, कम्पन, दृष्टि कमजोर तथा मृत्युसम्म ल्याउछ भने दीर्घकालिन असरमा अन्धोपन, क्यान्सर, ट्यूमर आदी जस्ता ल्याउने गर्दछ । यी विभिन्न समस्यालाई मध्यनजर गर्दै नेपालमा सन् २०१३ देखि सप्ताहव्यापी शुरु गर्दै आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.