पुँजी निर्माणको आधार र अवरोधहरु

  २०७६ पुष २० गते १९:११     रामकृष्ण पौडेल

 ‘सुखी नेपालीः समृद्ध नेपाल’ वर्तमान सरकारको नारा हो । त्यसको मुल आधार हो पुँजी निर्माण र रोजगारी सिर्जना । नेपालमा रोजगारी सिर्जना भएन, रोजगारीको लागि विदेश जानुपर्ने वाध्यता छ भनेर भन्न आवाज उठ्छ तर पुँजी निर्माण हुन सकेन भन्ने आवाज उठ्दैन । पुँजी निर्माण विना रोजगारी सिर्जनाको अपेक्षा गर्नु खेती नलगाई फलको अपेक्षा गर्नु जस्तै हो ।

पुँजी कसरी निर्माण गर्ने ?

खल्तीभरी पैसा हुनु पुँजी निर्माण होइन । व्याज आम्दानीले घर परिवार चल्ने गरी, दैनिक उपभोग्य बस्तु तथा सेवा खरिद गर्न पुग्ने गरी बैंकमा निक्षेप हुनु पुँजी निर्माणको सहायक पक्ष हो । मुल रुपमा पुँजी निर्माण गर्नु भनेको नयाँ बस्तु तथा सेवा उत्पादन गर्नको लागि आवश्यक पूर्वाधार बनाउनु हो । आयआर्जन गर्ने उदेश्यले उद्योगहरु लगाउनु, स्कूल वा हस्पिटल चलाउनु, व्यापार गर्नु, व्यवसायिक प्रयोजनको लागि जमिन किन्नु, गाडी किन्नु वा उत्पादन वृद्धिमा सहयोग पुग्ने पूर्वाधार निर्माण गर्नु पुँजी निर्माण हो । व्यक्तिको हकमा आम्दानीको निश्चित हिस्सा बचत गर्दै जानु तथा उत्पादन मुलक सम्पत्ति वृद्धि गर्दै जानु र सरकारको हकमा सार्वसाधरणले प्रयोग गर्ने साझा पूर्वाधार निर्माण गर्नु पुँजी निर्माण हो ।

उद्योगमा पनि उपभोग्य वस्तु मात्र उत्पादन गर्ने उद्योगहरु फास्टाएको देशहरु भन्दा मेसिनरी सामानहरु उत्पादन हुने देश, निर्माण सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरु भएको देशहरु बढी सम्पन्न भएका हुन्छन् ।

पुँजी निर्माणको कार्य तीन तहमा हुन्छ । ‘बचत गर्नु’ पुँजी निर्माणको पहिलो तह हो । यो कार्य जनस्तरमा हुन्छ । सामान्यतय जुन देशमा प्रतिव्यक्ति आम्दानी बढी हुन्छ, ती देशमा बचत पनि बढि हुन्छ । अमेरिकीयन वा युरोपियनको बचत क्षमता जति हुन्छ, नेपाली र भारतीयको बचत क्षमता त्यो भन्दा कम हुन्छ ।

सँगै, बचत गर्ने व्यक्तिगत बानी, इच्छाशक्ति, पारिवारिक तथा सामाजिक संस्कार पुँजी निर्माणको महत्वपूर्ण आधार हुन् । बचत गर्ने संस्कार र बानी नभएको समाजमा प्रतिव्यक्ति आय उच्च भएपनि बचत हुन सक्दैन ।

बचत संकलन गर्नु र परिचालन गर्नु कार्य पुँजी निर्माणको दोस्रो चरण हो । यो कार्य मूलरुपमा बैंक तथा वित्तीय संस्थाहरु, सामाजिक सुरक्षा कोष चलाउने संस्थाहरुले गरिरहेका हुन्छन् । त्यस्तै बीमा कम्पनीहरुले बीमा पोलिसी बिक्री गरेर, पब्लिक कम्पनीहरुले सेयर बिक्री गरेर, सरकारले ऋणपत्र जारी गरेर, व्यक्ति तथा कम्पनीहरुले पुँजी बजारमा सेयर तथा ऋणपत्र खरिद गरेर पुँजी परिचालनको काम गरिरहेका हुन्छन् । पुँजी बजारको राम्रो विकास भएको देशमा बैंक बचत अतिरिक्त ऋणपत्र, सेयर लगायत पुँजीबजारका औजारहरु मार्फत ठूलो मात्रामा पुँजी परिचालन भएको हुन्छ ।

पुँजी निर्माणको खास वा तेस्रो चरणको काम उद्यमीले गर्छन् । आफ्नो पूँजी, बैंकबाट लिएको कर्जा वा साना साना सेयरधनीबाट पुँजी लिएर उनीहरुले वस्तु तथा सेवा उत्पादनको कार्यमा लगाउँछन् । पुँजी निर्माणदेखि वितरणसम्ममा उनीहरुको भूमिका निकै ठूलो र निर्णायक हुन्छ । ऋणको व्याज भुक्तानी, जग्गा वा घरको भाडा भुक्तानी, कर्मचारीलाई तलब भुक्तानी, सरकारलाई कर भुक्तानी गर्दै आफूले नाफा आर्जन गर्नु उद्यमीको काम हो ।

उद्यमीहरु भनेको सरकारको कर संकलक पनि हुन् र उनीहरु सरकारको साझेदार हुन् । नेपालको सन्दर्भमा भ्याट, अन्तशुल्क, टिडिएस लगायत शीर्षकमा कर संकनल गर्न अधिकार उद्यमीले पाएका हुन्छन् भने उद्यमीले गरेको नाफाको करिब २५ प्रतिशत हिस्सा सरकारले आय करको नाममा लिन्छ ।

बचतकर्ता र पुँजी बजारमा लगानी गर्ने साधारण लगानीकर्ता भन्दा उद्यमीहरु बढी चलाख र गतिशिल हुन्छन् । अवसरको पहिचान गर्नेदेखि बढी जोखिम लिने क्षमता उनीहरुसँग हुन्छ । उद्यमीले गर्ने नाफा पुँजी निर्माणको उच्चतम रुप हो ।

जुन कम्पनीले धेरै नाफा आर्जन गरेको हुन्छ, त्यो कम्पनीले सरकारलाई बढी कर तिरेको हुन्छ । श्रमिकले बढी तलब र बोनस दिएको हुन्छ । अरु स्टेकहोल्डरहरुलाई नियमित भुक्तानी गरेको हुन्छ । उद्यमीको नाफा पुँजी निर्माणको उत्कृष्ट पक्ष हो ।

इन्जिनका लागि फ्यूल जस्तै उद्यमीको लागि नाफा धेरै महत्वपूर्ण तत्व हो । फ्युल राम्रो भए इन्जिन राम्रो चल्छ, खराव भए गडबड हुन्छ । नाफा उच्च हुँदा उद्यमी पनि उत्साहित हुन्छन्, पुँजी निर्माणले गति लिन्छ । नाफा कम वा घाटाको अवस्थामा उद्यमीको उत्साह मर्छ, पुँजी निर्माण प्रक्रिया सुस्ताउँछ वा बन्द नै हुन्छ । जुन कम्पनीले धेरै नाफा आर्जन गरेको हुन्छ, त्यो कम्पनीले सरकारलाई बढी कर तिरेको हुन्छ । श्रमिकले बढी तलब र बोनस दिएको हुन्छ । अरु स्टेकहोल्डरहरुलाई नियमित भुक्तानी गरेको हुन्छ । उद्यमीको नाफा पुँजी निर्माणको उत्कृष्ट पक्ष हो ।

नेपालमा समस्या के छ भने उद्यमीले नाफा गर्दा अरुले रिस गर्छन् । नाफा गर्ने कम्पनीलाई राजनीतिक नेतृत्वदेखि प्रसाशनिक तहसम्म, स्थानीय तहका झोलो मुन्द्रेदेखि अदालतसम्मले खराब नजरले हेर्छन् । कुनै पनि कम्पनीले गरेको नाफामा सोझै आफ्नो हिस्सा खोज्नु र त्यो नपाए कम्पनीलाई कसरी समस्यामा पार्ने भन्ने जालझेल गर्ने प्रवृति नेपाली समाजमा गडेर बसेको छ ।

गुगलबाट लिएकाे सांकेतिक स्केज

पुँजी निर्माणको अर्को आधार भनेको विदेशी लगानी हो । त्यसमा विदेशी संस्था वा व्यक्तिको प्रत्यक्ष लगानी एउटा पाटो हो भने सरकारले विदेश सरकारसँग लिने ऋण तथा अनुदान, विश्व बैंक, एशियाली विकास बैंक लगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाले गर्ने ऋण लगानी पनि पर्छ । यसरी आउने विदेशी लगानी विस्तारै सुधार भएको छ तर उत्साहजनक अवस्था छैन ।

नेपालको समस्या
मानिसहरुले सम्पूर्ण आय दैनिक उपभोग्य वस्तुमा खर्च गर्ने, सरकारले जनताबाट प्राप्त राजश्व सबै प्रशासनिक कार्य वा साधारण बजेट शीर्षकमा खर्च गर्ने कार्यले पुँजी निर्माण हुन सक्दैन । नेपालको सन्दर्भमा यो समस्या ठूलो हुँदै गएको छ । सरकारी बजेटको ठूलो हिस्सा सरकारी कर्मचारीको तलब भत्तामा सकिँदै छ । जनस्तरमा पनि मासिनहरु आम्दानीको ९० प्रतिशतभन्दा बढी रकम उपभोग्य वस्तुमा खर्च खर्चन भने १० प्रतिशतभन्दा कम पुँजी निर्माणमा खर्च भईरहेको छ ।

हिजो दिनमा दुई छाक खानेले आज दिनमा चार छाक खानु, हिजो टिसर्ट पाइटमा हिड्ने मान्छे आज कोर्ट पाइटमा हिड्नु, हिजो कच्ची घरमा बस्ने मान्छे अहिले पक्की घर बनाएर बस्नु, हिजो साइकलको यात्रा गर्नेले आज मोटर साइकलमा यात्रा थाल्नु, हिजो मोटर साइकलको यात्रा गर्नेले अहिले कारमा यात्रा गर्न थाल्नु खुशीको विषय हो । आधुनिक समाजमा विकासको महत्वपूर्ण आधारमध्ये एक हो सुविधायुक्त जीवनशैली । सँगै, मानिसको चेतनास्तर, संस्कार, सभ्यताको विकास पनि उच्चस्तरको हुनुपर्छ । जसले मानिसको परिचय पनि दिन्छ । देशको भौतिक पूर्वाधार विकास पनि सँगै हुनुपर्छ । सरकारले सुरक्षा, न्याय र सुसाशन प्रदान गर्नुपर्छ । तब मात्र त्यो देश समृद्ध बन्छ, नागरिक तहमा पनि खुशी छाउँछ ।

संविधानले समाजबाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ । तर व्यवहारमा नेपाली समाज पुँजीबादी अभ्यासमा अभ्यस्त छ । पुँजीपति वर्ग त स्वभाविक रुपमा पुँजीवादी बन्ने नै भए । समाजवाद हुँदै साम्यबादको लक्ष्य बोकेर हिडेका, कम्यूनिष्ट पाटीको झण्डा बोकेर हिड्नेहरु पनि व्यवहार त पुँजीबादी नै छन् । कामरेड केपी ओली, पुष्पकमल दाहाल मात्र होइन, पम्फा भुसाल र चित्रबहादुर केसीको दैनिकी पनि पुँजीबादी संस्कारमा घुलित भईसकेका छन् । समाजबादी चिन्तक पूर्व राष्ट्रपति रामबरण यादवको जीवनशैली भन्दा साम्यवादी चिन्तक वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको जीवनशैली धेरै महँगो, सुविधाभोगी र विलाशीपूर्ण देखिन्छन् ।

नेपाल कम्यूनिष्ट पार्टी वा वामपन्थी विचारधारालाई प्रवद्र्धन गर्ने वा समर्थन गर्ने पेशाकर्मी, बुद्धिजीविहरुको विचार साम्यवादी वा समाजबादी भए पनि आहार र विहार पुँजीबादी नै छ । उनीहरु पनि ५ सय रुपैयाँ पर्ने जुत्ता भन्दा १५ सय रुपैयाँ पर्ने जुत्ता रोज्छन् । मौका पर्दा विदेश यात्रा गर्दा इकोनोमिक क्लासको सिट छोडेर विजनेश क्लासको सिटमा बस्ने चाहाना गगन थापामा जति छ, योगेश भट्टराईमा पनि त्यति नै छ । राजनीतिक संलग्नता र आस्थामा जति फरक भए पनि वरिष्ठ अधिवक्ता सुशील पन्त र शम्भु थापाको जीवनशैलीमा कुनै फरक छैन । न्यायको खोजीमा अदालतको ढोका ढक्ढक्याउन बाध्य हुने पीडितहरुसँग कसेर सकेसम्म बढी पैसा लिनु, नुहाउनेदेखि चिया पिउनेसम्मका कार्य पाँचतारे होटलमा गएर महँगो मूल्य तिर्नु उनीहरुको दैनिकी हो ।

यसको अर्थ पुँजीवादी जीवनशैली अपनाउनु, महँगो मूल्य तिरेर वस्तु तथा सेवा खरिद गर्नु वा महँगो मूल्यमा वस्तु तथा सेवा बेच्नु गलत भन्न खोजिएको कदापी होइन ।

१० वर्षअघि मासिक १० हजार तलब पाउने श्रमिकले अहिले मासिक १ लाख रुपैयाँ पाउनु, १० वर्षअघि एउटा उद्योग चलाउने व्यवसायीले अहिले ५ वटा उद्योग चलाउनु, १० वर्षअघि २५ जनालाई रोजगारी सिर्जना गर्ने उद्योगले अहिले ५०० जनालाई रोजगारी दिनु, १० वर्षअघि १ करोड नाफा गर्ने कम्पनीले अहिले १ अर्ब नाफा गर्नु उन्नति र प्रगतिको सूचक हुन् । जसले उन्नति र प्रगति गर्छन, उनीहरुको प्रशंशा गर्ने, जो पछि पर्छ उसलाई उकास्न सरकार र समाजले सहयोग गर्ने अभ्यास जरुरी छ, सुखी नेपाली, समृद्ध नेपाल बनाउने हो भने ।

सुखी नेपाली हुनको लागि उच्च आम्दानी हुनुपर्छ । उच्च आम्दानीको लागि राम्रो रोजगारी हुनु आवश्यक छ । राम्रो रोजगारी त्यो संस्थाले दिनसक्छ, जसले धेरै भन्दा धेरै मानिसलाई सेवा दिनसक्छ, धेरै भन्दा धेरै कारोबार गर्न सक्छ र उच्च नाफा लिनसक्छ । घाटामा गएको कम्पनी, पुँजीलाई पोष्न नसक्ने कम्पनीले श्रमिकलाई पनि पोष्न सक्दैन ।

पुँजीबादको मूल विशेषता भनेको ठूलो कम्पनी हुनु नै राम्रो हो । ठूलो कम्पनी ठूलै मात्रामा वस्तु तथा सेवा उत्पादन गर्न सक्छ । बजारमा ठूलो हिस्सा लिन सक्छ । उत्पादन तथा सञ्चालक लागत कम हुन्छ । बिक्री मूल्य पनि कम हुन्छ । बजारमा प्रतिस्पर्धामा अगाडि आउँछ । तर ठूलो कम्पनी बन्नको लागि ठूलो पुँजी चाहिन्छ ।

ठूलो पुँजी लगानीबाट नै ठूला पूर्वाधार बनाउन सकिन्छ । सडक मार्ग, सुरुङ मार्ग, हवाई मार्ग, बिजुली, सञ्चारका पूर्वधार, शिक्षालय, स्वास्थ्यलय लगायतका पूर्वाधार निर्माण राज्यले गर्नुपर्छ, त्यसको लागि पनि पुँजी आवश्यक छ । उद्योग, व्यापार तथा सेवा लगायत व्यवसायिक लाभका क्षेत्रमा निजी क्षेत्रले लगानी गर्नुपर्छ । निजी क्षेत्रले लगानी गर्ने नाफा हुनु क्षेत्रमा हो । नाफाबाट सरकारलाई कर तिर्ने हो । करको प्रयोग पूर्वाधार निर्माण, सुरक्षा, न्याय र प्रशासनमा खर्च गर्नुपर्छ । गलत के भईरहेको छ भने नेपाल सरकारले करको ठूलो हिस्सा प्रशासनमा सकेको छ र सरकारी सेवाको गुणस्तर गए गुज्रेको छ । सुरक्षा र न्याय प्रणाली र पूर्वधारको अवस्था ज्यादै कमजोर छ । प्रयाप्त पुँजीको कमीले सरकारले पनि चाहेजस्तो पूर्वाधार निर्माणमा लगानी गर्न सकेको छैन भने पुँजीगत क्षमताका आधारमा नेपालको निजी क्षेत्र पनि कमजोर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.