साढे २० अर्ब लगानीमा ८ हजार उद्योग, ६ लाखलाई रोजगारी

  २०७६ पुष २० गते १८:४६     राजाराम न्यौपाने

काठमाडौं । पछिल्लो समय नेपाली उद्योगहरुमा लगानी बढ्दै गएको छ । सरकारले देशको आर्थिक विकासको लागि लगानी सम्मेलन मार्फत पनि नेपाल लगानी गर्न आग्रह गर्दै आइरहेको छ ।

उद्योग स्थापनाको लागि लगानीमैंत्री ऐन, कानुन, वातावरण, लगानीकर्तालाई सहजीकरण, व्यवस्थापन तथा संरचना निर्माणले उद्योगमा लगानी बढ्दै गएको हो । उद्योग विभागका अनुसार हालसम्म नेपाली उद्योगमा २० खर्ब ५४ अर्ब रुपैयाँको लगानीमा ८ हजार उद्योग दर्ता भएका छन् । स्थापित उद्योगहरुले ६ लाखलाई रोजगारी दिएका छन् ।

उद्योेग विभागका तथ्याङक अनुसार हालसम्म ठूला, मझौला, लघु, घरेलु तथा साना गरी ८ हाजार १ सय ४८ वटा उद्योग स्थापना भएका छन ।

ठूला उद्योगमा १८ खर्ब लगानी

विभागका अनुसार १७ खर्ब ७८ अर्ब ४२ करोड ५० लाख रुपैयाँ लगानीमा १ हजार १ सय ४९ वटा ठूला उद्योग स्थापना भएका छन् । ठूला उद्योगहरुले १ लाख ६१ हजार १ सय ३८ जनालाई रोजगारी दिएको विभागको तथ्याङक उल्लेख छ ।

मझौला उद्योगमा करिब २ खर्ब लगानी

अहिलेसम्म नेपालमा १ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँको लागतमा १ हजार ८ सय २२ वटा मझौला उद्योग स्थापना भएका छन् । मझौला उद्योगहरुले १ लाख ६६ हजार ६ सय ७४ जनालाई रोजगारी दिएको विभागको छ ।

साना उद्योगमा ८८ अर्ब लगानी

विभागका अनुसार ८८ अर्ब ६९ करोड ९० लाख रुपैयाँको लागतमा ५ हजार १ सय ८८ वटा साना उद्योग स्थापना भएका छन् । साना उद्योगहरुले २ लाख ८३ हजार ७ सय ५२ जनालाई रोजगारी दिएको छ ।

कानुनी सुधार

विभागले यो अवधिसम्म धेरै प्रगति तथा सुधारका काम भएको जानकारी दिएको छ । विभागले हालसम्म संरचनागत सुधार, प्रकृयागत सुधार, नीतिगत सुधारहरु भएको वताएको हो ।

राजनैतिक स्थिरता र सरकारको स्थायित्व, लगानीमैत्री ऐन, ऊर्जाको पर्याप्तता, औद्योगिक पूर्वाधारमा प्राथमिकताका साथ सरकारको लगानी बृद्धि यस क्षेत्रका सवल पक्ष भएको छ । यस्तै, पछिल्लो समय श्रम सम्बन्धमा आएको सुधारले पनि लगानीलाई आकर्षित गरेको छ ।

क्षेत्रगत उद्योग

उद्योग विभागमा लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । पर्यटन, कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज तथा सेवामूलक उद्योगमा बढी आकर्षण देखिन्छ ।

विभागमा दर्ता भएका उद्योगमा सबैभन्दा धेरै उत्पदनमूलक क्षेत्रका छन् । विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ४ खर्ब ६० अर्ब ५२ करोड २० लाख रुपैया लगानीमा ३ हजार ५४ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३ लाख २६ हजार ५ सय ५५ जनालाई रोजगारी दिएका छन् ।

सेवामुलक क्षेत्रमा १ खर्ब ५६ अर्ब ४५ करोड ६० लाख रुपैयाँ लगानीमा २ हजार २ सय २० वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले १ लाख २५ हजार २ सय ५ जनालाई रोजगारी दिएका छन् ।

सेवामुलककै पनि पर्यटन क्षेत्रसँग सम्बन्धित १ खर्ब ५६ अर्ब ३९ करोड ७० लाख रुपैयाँ लगानीमा १ हजार ८ सय २ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ७१ हजार ५ सय ७६ जनालाई रोजगारी दिएका छन् ।

उर्जा क्षेत्रमा ११ खर्ब ६७ अर्ब १५ करोड १० लाख रुपैयाँ लगानीमा ३ सय ९९ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३४ हजार ६ सय ७६ जनालाई रोजगारी दिएका छन् ।

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । परम्परागत रुपमा पनि कृषि व्यवसायमा संलग्न नेपालीको संख्या ठूलो छ । यो क्षेत्रमा २८ अर्ब १० करोड ९० लाख रुपैयाँ लगानीमा ४ सय ६९ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३६ हजार १ सय ५० जनालाई रोजगारी दिएका छन् ।

सूचना तथा संचार क्षेत्रको विकास पनि गर्व गर्न लायक छ । अहिलेसम्म नेपालमा ४ अर्ब ६७ करोड ८० लाख रुपैयाँ लगानीमा ७० वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ४ हजार १ सय १ जनालाई रोजगारी दिएका छन् ।

खनिजमुलक उद्योगमा लगानी हेर्दा अहिलेसम्म ६ अर्ब ८८ करोड ३० लाख रुपैयाँ लगानीमा ६९ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ७ हजार २ सय ४ जनालाई रोजगारी दिएका छन् ।

निर्माण क्षेत्रमा काम गर्ने उद्योगको उपस्थिति पनि बलियो छ । उद्योग विभागका अनुसार अहिलेसम्म ४९ अर्ब ९२ करोड २० लाख रुपैयाँ लगानीमा ५८ वटा उद्योग स्थापना भएका छन् । यस्ता उद्योगले ३ हजार ८ सय १ जनालाई रोजगारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.