किन झुम्दिैछन् हिमालयन डिष्टिलरीमा लगानीकर्ता ? (समग्र विश्लेषण)

  २०७६ पुष २० गते १२:२६     विकासन्युज

काठमाडौं । जावलाखेल ग्रुप अफ कम्पनीले प्रबद्र्धन गरेको हिमालयन डिष्टिलरीको सेयर मूल्य बढ्दो क्रममा छ । कम्पनीले सहायक कम्पनी स्थापना गरी २ करोड १८ लाख रुपैयाँमा ४ विगाह जमिन पनि खरिद गरेको छ ।

हिमालयन डिष्टिलरी के कस्तो नयाँ योजनामा छ ? सेयर लगानीकर्ता यसको सेयरमा किन झुम्मिएका छन् ? यो कम्पनीमा लगानी गर्नु कत्तिको उपयुक्त हुन्छ होला भन्ने जस्ता सन्दर्भमा विकासन्युजले यो कम्पनीको समग्र विश्लेषण गर्ने प्रयास गरेको छ ।

सन् १९८५ मा स्थापना भएको हिमालयन डिष्टिलरी कम्पनी पछिल्लो समय बजारमा कारोबार भइरहेका उत्पादनमुलक समूह अन्तरगतको कम्पनी हो ।

बजार सेयर मूल्य (रु. १२१५) को आधारमा कम्पनी यस समूहमा चांैथो स्थानमा छ । सन् २००० मा पब्लिक कम्पनीमा रुपान्तरण भएको यस कम्पनीको माउ कम्पनीको रुपमा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिस रहेको छ । कम्पनीले वार्षिक वित्तीय विवरणमा स्पष्ट रुपमा सेयर स्वामित्वको जानकारी दिएको छैन । तर, प्रबन्धपत्र संशोधन प्रस्तावमा ६२ दशमलव ११ प्रतिशत संस्थापक र ३७ दशमलव ८९ प्रतिशत सर्वसाधारण सेयर स्वामित्व रहेको उल्लेख छ ।

त्यस्तै, कम्पनीले गत वर्ष चुक्ता पुँजीको ६८ दशमलव ४२ प्रतिशत नगद लाभांश बाडेको छ । २६ करोड ३८ लाख नगद लाभांशको आधारमा आरआर सप्लायर्सले ५ करोड ७४ लाख (२१ प्रतिशत), फुड एण्ड वेभरेज टेक्नोलोजिजले ५ करोड ३९ लाख (२० प्रतिशत) र मेजेस्टिक भेन्चरले ८३ लाख रुपैयाँ (३.१५ प्रतिशत) लाभांश पाएका छन् । कम्पनीमा विजय शाहलगायतको बलियो पकड छ ।

उत्पादन

कम्पनीले हिमालयन ऐला, रोयर ट्रेजर ह्विस्की, ब्ल्याक ओक र गोल्डेन ओक जस्ता मदिरा उत्पादन गर्दै आएको छ ।

गोल्डेन ओकको बजार माग बढ्दो रहेको छ भने कम्पनीले प्रति ४० युपि रहेको ब्ल्याक ओकको बजार प्रवद्र्धनमा जोड दिदै आएको छ । ब्ल्याक ओकलाई प्रमियम ब्राण्डको रुपमा लिएको छ । ७ सय ५० मिलिलिटरसम्म उपलब्ध हुने यसको अधिकत्तम ग्राहक मूल्य १ हजार ८० सम्म छ । हिमालयन ऐला १५ युपि शक्ति भएको ७ सय ५० मिलिटिलरको १ हजार ६ सय रुपैयाँसम्म बिक्री गर्दै आइरहेको छ । कम्पनीको बार्षिक उत्पादन क्षमता १ करोड ७० लाख लिटर छ ।

–पछिल्ला महिना दैनिक औसत ८ हजार कित्ता सेयर किनबेच
–थप दुई कम्पनीमा लगानी विस्तार गर्दै
–विजय शाहलगायतको पकड

सरकारले अन्तः शुल्क कानुनमा प्रतिक्वीन्टल ग्रेनबाट उत्पादन गर्नुपर्ने स्प्रिटको दर बढाएको कारण ग्रेन इएनए उत्पादन बन्द गर्नु परेको थियो । हाल यसमा संशोधनको तयारी भइरहेकोले कम्पनीले उत्पादन सुचारु गरेको छ ।

पहिलो पटक बोनस

१ पुसमा १९औं बार्षिक साधारणसभा गरेको कम्पनीले ५० प्रतिशत नगद लाभांश र ५० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव स्वकृत गरेको छ । यससगै चक्ता पुँजी ३८ करोडबाट वृद्धि भएर ५७ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

पाँच वर्षमा कम्पनीले औसतमा ४६.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नगद लाभांश मात्रै प्रस्ताव गर्दै आएको कम्पनीले पहिलो पटक बोनस सेयर दिएको हो ।

सामान्यतः उत्पादनमुलक कम्पनीहरुले थप लगानी गर्ने सोच भएर पुँजी आवश्यक हुँँदा मात्रै बोनस सेयर लाभांश प्रस्ताव गर्छन् ।

अन्य कम्पनीमा लगानी र कारोबार

कम्पनीले हिमालयन मल्टि एग्रो लिमिटेड र हिमालयन फिसरीज लिमिटेड नामका दुई सहायक कम्पनी दर्ता गरेको छ । हिमालयन मल्टि एग्रोको लागि २ करोड १८ लाख रुपैयाँमा चार विगाहभन्दा बढि जग्गा खरिद गरेको छ । हिमालयन फिसरिज दर्ता मात्र भएको छ । यसमा करीब ६४ हजार ५ सय रुपैयाँ खर्च भएको छ ।

कम्पनीले आफ्ना उत्पादनहरुको माग उच्च भएको भन्दै सञ्चालकहरु आबद्ध अन्य कम्पनीहरुबाट थप उत्पादनसमेत गरिरहेको छ । गोल्डेन ओकको बजार माग उच्च रहेको भन्दै कम्पनीले विजय डिष्टिलरी लगायतका अन्य कम्पनीबाट समेत यसको उत्पादन गर्दै आएको छ । त्यस्तै गोल्डेन ओकलाई २०७४ देखि रोलिङ रिभर डिष्टिलर्सबाट समेत उत्पादन गरेर बिक्री गर्दै आएको छ ।

माउ कम्पनी जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले यस कम्पनीमा कार्यरत कर्मचारीहरुको मूल्यांकन लगायतका व्यवस्थापकीय काम गर्दै आएको छ । यी तीनवटै कम्पनीमा हिमालयन डिष्टिलरीका सञ्चालकहरुका आफन्तको लगानी छ । कम्पनीले बार्षिक वितीय विवरणमा यसलाई खुलाएको समेत छ ।

वित्तीय अवस्था

चालु आवको पहिलो त्रैमाशमा कम्पनीको उत्पादन बिक्री आम्दानी ६.२६ प्रतिशतले घटेपनि नाफा रकममा ३३.९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले उत्पादन र बिक्री खर्च कम गर्न सकेको कारण खुद नाफा वृद्धिमै सहयोग पुगेको छ ।

कम्पनीले उत्पादनको लागि स्टोर गरिने कच्चा पद्धार्थहरुको प्रयोग राम्ररी गरिरहेको देखिन्छ । पहिलो त्रैमाश अवधिमा बार्षिक ४२ करोड बराबरको इन्भेन्ट्रिज (कच्चा पद्धार्थ) रहने गरेको छ । यो अवधिमा भने यसमा शुन्य दशमलव ३३ प्रतिशतले कमि आएको छ ।

कम्पनीले व्यापारको क्रममा भुक्तानी गर्नुपर्ने रकम ५५ प्रतिशतले घटेर ९ करोड ८८ लाखमा सिमित भएको छ । कम्पनीले लिनुपर्ने रकम भने ३८ प्रतिशतले बढेर ४२ करोड ५५ लाख रुपैयाँ पुगेको छ । यसमा सुधार गर्नुपर्ने देखिन्छ । यसले कम्पनीले बजारबाट पैसा उठाउन सके नसकेको देखाउँछ ।

ह्रास कट्टी खर्चमा वृद्धि देखिदैन । यसमा १ करोड २१ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीका सामानहरुको पुन खरीदलाई यो रकम प्रयोग हुनेछ ।

कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३० पैसा, मूल्य आम्दानी अनुपात ५८ दशमलव ३९ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ८२ रुपैयाँ छ । कम्पनीको १ रुपैयाँको कमाईलाई बजारका लगानीकर्ताले ५८ रुपैयाँसम्म हालिरहेको मूल्य आम्दानी अनुपातले देखाउँछ ।

सेयर विश्लेषण

पछिल्लो समय कम्पनीको सेयर कारोबारमा तीव्रता आएको छ । पछिल्लो १ वर्षमा कम्पनीको सेयर कारोबार दैनिक औसत ३ हजार कित्ताको दरमा भइरहेको छ । यो दरमा वृद्धि भएर ८ हजार कित्तासम्म पुगेको छ ।

कम्पनीको आरएसआई सूचक ४२ छ । यसले कारोबार सन्तुलित क्षेत्रमा रहेको संकेत गर्छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ ।

बोनस सेयर समायोजन पछि पनि ७ दिने रेखा २१ दिनेभन्दा माथि रहेकोले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गरिरहेको छ । तर, यी रेखा नजिकिएकोले ध्यान दिनुपर्ने देखिन्छ ।

पीभट विश्लेषणले आगामी महिना काराबोरमा १ हजार २ सय ६८ मा पहिलो प्रतिरोध र १ हजार १ सय ६९ मा पहिलो टेवा पाउने संकेत गर्छ ।


कम्पनीको सेयर मूल्यले अन्तिम दुई दिनमा ग्रेभस्टोन डोजी आकृति बनाएको छ । यसको शुरुमा ठूलो आकारको कालो मारुबोजु अन्तिम दिन कालो डोजी बनेको हो । डोजीको माथिल्लो धागो शरीरभन्दा दोब्बर मात्रै छ भने तल्लो धागो लगभग छदैछैन भन्ने तहको छ । यसले मूल्य बढ्ने संकेत गरेपनि यो दरिलो संकेत होइन । अर्को दिनको कारोबारमा मूल्य डोजीको आकारभन्दा माथिबाट खुले बजार बढ्ने सुनिश्चित हुन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.