जापान रोजगारीका लागि दुई हजार बढी कामदार लैजाने तयारी

  २०७६ पुष १९ गते १७:१२     विकासन्युज

काठमाडौं । जापान रोजगारीका लागि नेपाली झण्डै दुई हजार तीन सय कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३ सय नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

जनवरी ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखमा भाषा परीक्षा हुनेछ । यस्तै आगामी मार्च ३–५, ९–११, १२ र १५–१९ तारिखसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा शुल्क दुई हजार ५ सय तोकिएको छ । कम्प्युटरमा आधारित परीक्षा प्रणालीका आधारमा लिखित, सीप परीक्षणलगायत परीक्षा हुनेछ । परीक्षार्थीले साधारण बोलिचाली तथा प्रस्तुती, जापानी भाषा सुनाइ र पढाइमा उर्तिण हुनुपर्नेछ । २ सय ५० अङ्कको परीक्षामा सहभागीले न्यूनतम् २ सय अङ्क ल्याउनुपर्ने छ ।

परीक्षामा सहभागी हुन चाहने युवाले नेपाली नागरिकता, राहदानी वा सवारीचालक परिचय पत्र बुझाउनु पर्ने छ। दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र आफ्नो वरिपरिको परिस्थितिको बारेमा जापानी भाषामा सहजै बोल्न सक्नुपर्नेछ । फाउण्डेशनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गर्दै आएको छ ।

गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो । पहिलो चरणमा जापान रोजगारीका लागि १३ हजार युवाले सहभागिता जनाएका थिए । नेपालबाट नर्सिङ केयरगिभरमा कामदार लैजाने जापानको तयारी छ । जापानले गतवर्ष विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.