आर्थिक संघको २९औं वार्षिक साधारणसभा, अध्यक्षमा प्राडा प्याकुरेल

  २०७६ पुष १९ गते १७:०४     विकासन्युज

काठमाडौं । नेपाल आर्थिक संघको अध्यक्षमा अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेल चयन भएका छन् । संघको २९औं वार्षिक साधारणसभाले प्याकुरेलको अध्यक्षतमा आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्य समिति चयन गरेको हो ।

नेपालका अर्थशास्त्रीहरुको एकमात्र पेशागत संगठन नेपाल आर्थिक संघ नेपालको आर्थिक क्षेत्रमा विभिन्न नीतिगत तथा अनुसन्धानमुलक कार्यमा संलग्नहुँदै आएको छ । संघले नेपाल सरकारलाई खास गरी बजेट निर्माण तथा अन्य आर्थिक नीतिनिर्माण सम्बन्धमा समय समयमा स्वतन्त्र रुपले परामर्श दिँदै आएको संघका नवनिर्वाचित महासचिव गोपाल तिवारीले बताए ।

नेपालका वरिष्ठ अर्थशास्त्रीहरु, संघका साधारण सदस्य तथा आजिवन सदस्यको सहभागिता भएको उक्त भेलाले वरिष्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेलको अध्यक्षतामा आगामी ३ वर्षका लागि १७ सदस्यीयकार्य समिति चयन गरेको हो ।
उक्त वार्षिक भेलालाई सम्बोधन गर्दै श्रीलंकाका लागि नेपालका पूर्वराजदुत प्याकुरेलले संघले युवा अर्थशास्त्रीहरुलाई आर्थिक नीति तथा कार्यविधिहरुमा नयाँ दृष्टिकोण सहित पेश हुन सक्ने बनाउने विश्वास व्यक्त गरे ।

वरिष्ठ अर्थशास्त्रीको अनुभव र नयाँ पुस्ताको भिजन तथा उर्जाले नेपालको आर्थिक क्षेत्रमा उल्लेख्य टेवा दिन सक्ने र त्यसको आधार स्तम्भको रुपमा संघलाई परिचालित गरिने उनको भनाइ छ ।

‘संघ नयाँ पुस्तालाई आर्थिक नीति तर्जुमादेखि कार्यान्वयनसम्मका कार्यमा सरकार तथा विकासका सहयात्रीहरुलाई तयार गर्ने स्वतन्त्र पेशागत संगठनको रुपमा विकास गरिनेछ,’ अध्यक्ष प्याकुरेलले भने ।

आगामी कार्यक्रमका रुपमा देशका सातै प्रदेशमा राष्ट्रिय आर्थिक मुद्दाहरु तथा वित्तीय संघीयता सम्बन्धी विषयहरुमा प्रदेशस्तरीय संवादहरु सञ्चालन गर्ने कार्यक्रम रहेको तथा राष्ट्रिय तहमा अनुसन्धान सम्मेलन गरिने संघका नवनिर्वाचित महासचिव तिवारीले बताए ।

संघका अध्यक्ष प्राडा प्याकुरेलले संघले राष्ट्रिय बजेट तथा सरकारले तोकेका अन्य प्राथमिकताका क्षेत्रमा नीति निर्माण सम्बन्धमा स्वतन्त्र राय दिने कार्यलाई निरन्तरता दिइने समेत बताए ।

कार्यक्रममा सहभागीहरुले संघ दरिलो थिंक ट्याङ्कको रुपमा विकसित हुँदै गइरहेको तथा यसको साख विस्तार हुँदै गइरहेको अवस्थामा यसका गतिविधिले विशेष महत्व राख्ने भएकोले नयाँ कार्यसमितिले उक्त साख विस्तारका लागि थप चनाखो र सक्रिय भएर लाग्नु पर्ने बताए ।

संघको नवनिर्वाचित कार्यसमितिमा प्राडा प्याकुरेल अध्यक्ष, डा. भवानी ढुंगाना वरिष्ठ उपाध्यक्ष, प्राडा गोविन्द नेपाल उपाध्यक्ष, गोपाल तिवारी महासचिव, डा. खोमराज खरेल सचिव र प्राडा शान्ता सिंह कोषाध्यक्ष छन् ।

कार्यसमिति सदस्यहरुमा प्राडा विजय श्रेष्ठ, प्राडा केशवराज खड्का, केशवप्रसाद आचार्य, डा. पोषराज पाण्डे, प्राडा शिवराज अधिकारी, प्राडा माधवप्रसाद दाहाल, डा. मणिकुमार नेपाल, डा यादवमणि उपाध्याय, नविन अधिकारी तथा जमुना श्रेष्ठ छन् । संघमा त्रिवि केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्राडा कुसुम शाक्य पदेन सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.