राष्ट्रिय जनगणनामा साढे ४ अर्ब रूपैयाँ खर्च, ५५ हजार जनालाई २ महिना काम

  २०७६ पुष १८ गते १६:३७     राजाराम न्याैपाने

काठमाडौं । २०७८ मा १२ औँ राष्ट्रिय जनगणना हुँदैछ । सो राष्ट्रिय जनगणनामा ४ अर्ब ५० करोड रुपैयाँ खर्च हुने छ भने ५५ हजार शिक्षित युवाले रोजगारी पाउने भएका छन् ।

जनगणनामा सुपरिवेक्षण, गणकलगायतका जनशक्ति परिचालन गरिने छ । सुपरिवेक्षण र गणक करारमा नियुक्त गरिने छ भने उनीहरुको शैक्षिक योग्यताअनुसार सरकारी स्केलमा तलब तथा भत्ता तोकिने छ ।

२०७८ जेठ र असारमा जनगणना हुँदैछ । नेपालीहरु रोजगारीको शिलसिलामा भारत लगायतका देशहरुमा जाने गरेका छन् । जेठ र असारमा खेती गर्ने समय भएकाले नेपालीहरु नेपाल फर्किने भएकाले पनि यो समय उपयुक्त भएको केन्द्रीय तथ्यांक विभागको भनाइ छ ।

अब हुने जनगणनामा शिक्षकको ठाउँमा अन्य शिक्षित युवा परिचालन गर्ने केन्द्रीय तथ्यांक विभागको तयारी छ । यसअघिका जनगणनामा शिक्षकहरु नै सहभागी हुने गरेका थिए ।

विभागले राष्ट्रिय जनगणनाको नमूना जनगणना विभिन्न १४ जिल्लामा गर्ने छ । नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म सञ्चालन हुनेछ । नमूना जनगणनाका लागि सुपरिवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी १ सय २२ जना जनशक्ति परिचालन गर्ने विभागले जनाएको छ ।

राष्ट्रिय जनगणनाका लागि विभागले काम थालिसकेको छ । सबै प्रदेशदेखि स्थानीय तहसम्म छलफल भैइसकेको छ । हरेक जिल्लामा जनगणनाका लागि एक एक वटा कार्यालय राख्ने तयारी छ ।

यस पटकको जनगणनाको क्रममा सात प्रदेश, ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहमा छलफल गरी त्यहाँबाट आएका विचारलाई समेट्ने विभागको तयारी छ । तर अब हुने जनगणनामा २० देखि २५ वटा मात्रै प्रश्नहरु हुने केन्द्रीय तथ्यांक विभाग सूचना अधिकारी तीर्थराज चौलागाँईंले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.