डा. खतिवडाको कार्यकाल सकिँदै, फागुनपछि देशले नयाँ अर्थमन्त्री पाउने

  २०७६ पुष १८ गते १२:४१     विकासन्युज

काठमाडौं । आगामी फागुनपछि देशले नयाँ अर्थमन्त्री पाउने भएको छ । अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल पूरा हुने भएकोले नयाँ अर्थमन्त्री हुने करिब पक्का छ ।

राष्ट्रियसभामा ५९ जना सदस्य हुन्छन् । यीमध्ये प्रत्येक प्रदेशबाट ८ जनाका दरले ७ प्रदेशबाट ५६ जना सदस्य निर्वाचित हुन्छन् । यस्तै, ३ जना सदस्यलाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संबैधानिक व्यवस्था छ ।

यी ५९ जना सदस्यमध्ये एक तिहाई अर्थात १९ जना सदस्यको कार्यकाल २ वर्षमा सकिन्छ । सदस्यको कार्यकाल गोलाप्रथाबाट गरिन्छ । यसरी गोला तान्दा अर्थमन्त्री डा. खतिवडाले २ वर्षे कार्यकालको गोला तानेका थिए ।

डा. खतिवडालाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेकी थिइन् । उनको कार्यकालयआगामी फागुन पहिलो साता सकिदैछ । राष्ट्रियसभाका सदस्यहरुको कार्यकाल सकिनु एक महिना अगाडि नै निर्वाचिन गर्नुपर्ने भएकोले आगामी ९ माघमा राष्ट्रियसभा सदस्य निर्वाचन हुदैछ । यो निर्वाचनको लागि डा. खतिवडालाई उम्मेदवार बनाइएको छैन ।

९ माघमा राष्ट्रियसभाका १८ जना सदस्यको मात्रै निर्वाचन हुनेछ । १ जना सदस्य फेरि पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्नेछन् । तर, यस्तो नियुक्तिका लागि पनि डा. खतिवडा पर्ने सम्भावना छैन । राष्ट्रपतिले नियुक्त गरेको व्यक्ति लगत्तै अर्काे कार्यकालको लागि फेरि नियुक्त गर्न कानुनी अवरोध सिर्जना हुन्छ ।

तर, सांसद नभएपनि डा. खतिवडाले अरु ६ महिना मन्त्री बन्न कानुनी रुपमा भने पाउने छन् । यसका लागि सत्तारुढ नेकपा गैरसांसदलाई मन्त्री बनाउन तयार हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.