इन्टरनेट सेवा गुणस्तरहिन, उजुरी गरेर क्षतिपूर्ति लिन विज्ञको सुझाव

  २०७६ पुष १७ गते १६:४२     नबिन पोखरेल

काठमाडौं । सूचना प्रविधिको विकास र प्रयोगको कारण पछिल्लो समय इन्टरनेट मानिसको अभिन्न अंग जस्तै भएको छ । इन्टरनेटविना दैनिकी चलाउन पनि गाह्रो पर्ने अवस्था आइसकेको छ ।

तर, चाहिएको बेलामा इन्टरनेट हुदैन । कहिले इन्टरनेटको संकेत नै गएको हुन्छ, कहिले असाध्यै कम गतिमा चलेको हुन्छ । इन्टरनेट सेवामा चरम समस्या छ ।

इन्टरनेट सेवा अत्यावश्यक वस्तु जस्तै भएपनि यसको गुणस्तरमा भने गम्भीर प्रश्न छ । दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरण इन्टरनेट सेवा प्रदायकले ग्राहकसँग गरेको सम्झौता अनुसार गुणस्तरीय इन्टरनेट दिनुपर्ने बताउँछ । तर, प्राधिकरणमै इन्टरनेट प्रभावकारी नभएको भन्दै उजुरीको चाङ लाग्ने गरेको छ ।

इन्टरनेटको गुणस्तरलाई कसरी नियमन गरेर सेवा प्रभावकारी बनाउने भन्ने सन्दर्भमा आफूहरुले काम गरिरहेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल वताउँछन् । सेवा प्रदायकसँग गरिएको सम्झौता अनुसार आफूले सेवा उपभोग गर्न नपाए सम्बन्धित सेवा प्रदायकसँग गुनासो गर्ने र त्यसो गर्दा पनि समस्याको सम्वोधन नभए प्राधिकरणमा उजुरी गर्न सकिने अर्यालले वताए ।

‘इन्टरनेट सेवा गुणस्तरीय नभएको भन्ने गुनासो आउने गरेको छ, सेवा प्रभावकारी बनाउन हामीले सम्बन्धित सेवा प्रदायकलाई निर्देशन पनि दिइरहेका छौं, सेवा प्रदायकसँग जति क्षमताको इन्टरनेट जति समयको लागि किनिएको छ, त्योअनुसार प्राप्त भएन भने सम्बन्धित सेवा प्रदायककोमा गुनासो गरिहाल्नुपर्छ, त्यसो गर्दा पनि समस्याको समाधान भएन भने नेपाल दूरसंचार प्राधिकरणमा उजुरी गर्न सकिन्छ, हामी यस्ता गुनासो र उजुरीको तत्काल सम्बोधन गर्छाैं,’ प्राधिकरणका प्रवक्ता अर्यालले भने ।

नेपाल प्रहरीको साइबर व्यूरोले पनि तिरेको मूल्यअनुसार इन्टरनेट सेवा उपभोग गर्न नपाएर आफू ठगिएको भन्दै उजुरी गर्न आएमा त्यस्तो उजुरीको सम्बोधन गरिने वताएको छ ।

‘कसैले यति पैसामा यो समयसम्मका लागि यति क्षमताको इन्टरनेट दिन्छु भनेर ग्राहकसँग सम्झौता गरेको छ, तर सम्झौता अनुसार इन्टरनेट नदिएर ठगी गरेको छ भने त्यस्तो उजुरी साइबर व्यूरोमा गर्न सकिन्छ, तर अहिलेसम्म यस्तो उजुरी आएको छैन, उजुरी आएको अवस्थामा हामी त्यस्ता उजुरीको तुरुन्तै सम्बोधन गर्छाैं,’ साइबर व्यूरोका एसएसपी नविन अर्यालले भने ।

साइबर कानुनका जानकार तथा नेपाल इन्टरनेट सोसाइटीका पूर्वअध्यक्ष अधिवक्ता बाबुराम अर्याल पनि उपभोक्ता जागरुकता कम भएको कारण इन्टरनेट सेवा प्रदायकहरु गम्भीर नबनेको बताउँछन् ।

‘नेपालमा इन्टरनेटका पूर्वाधारहरु कमजोर छन्, त्यसैकारण पनि इन्टरनेट सेवाको प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ, तर सेवा प्रदायकले गरेको सम्झौताअनुसार आफूले इन्टरनेट सेवा प्राप्त गरे नगरेको जानकारी लिने र सम्झौताअनुसार सेवा पाउन नसकेको अवस्थामा सम्बन्धित निकायमा उजुरी गर्ने परिपाटी कम भएको कारणले पनि सेवा प्रदायकहरु व्यवसायिक बन्न नसकिरहेको अवस्था छ,’ अधिवक्ता अर्यालले भने ।

इन्टरनेट सेवा प्रदायकले दिन्छु भनेअनुसारको इन्टरनेट नदिएको अवस्थामा क्षतिपूर्तिको दाबीसहित नेपाल दूरसंचार प्राधिकरणमा उजुरी गर्न सकिने कानुनी व्यवस्था रहेको अधिवक्ता अर्यालले जानकारी दिए । तर, यस्ता उजुरी परेको बारेमा आफूलाई जानकारी नभएको उनको अनुभव छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुका प्रबन्ध निर्देशक सुधिर पराजुली सेवा प्रदायकले गुणस्तरीय सेवा दिन हरसम्भव पहल गरिरहेको वताउँछन् । तर, कतिपय अवस्थामा आफूहरुको काबु बाहिरको परिस्थितिका कारण पनि इन्टरनेट सेवा प्रभावित भएको उनको अनुभव छ ।

‘सेवा प्रदायकहरु आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रवाह गरेर सन्तुष्ट बनाउन नै चाहन्छन्, ग्राहकले तिरेको शुल्कभन्दा बढी सेवा दिन नसकेपनि सो मूल्य बराबरको दिने उनीहरुको पहिलो प्रयास र दायित्व हुन्छ, तर विदेशी सर्भरबाट चल्ने सामग्री हाम्रो नियन्त्रण बाहिर हुने भएकोले कहिले काँही समस्या अर्काेतिर भएको पनि देखिन्छ,’ पराजुलीले भने ।

इन्टरनेट पूर्वाधार कमजोर भएको कारण पनि समस्या आउने गरेको पराजुलीको भनाइ छ । यस्तै कतिपय अवस्थामा प्राविधिक कारणले पनि समस्या आउने गरेको र त्यस्तो अवस्थामा ग्राहकसँग समन्वय गरेर समस्या समाधानको पहल गर्ने गरिएको पराजुलीले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.