टेलिकमको फोरजी डाटाबाट बढी फाइदा लिन कुन सेट प्रयोग गर्ने ?

  २०७६ पुष १७ गते १५:४७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमकाे फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि ग्राहकले छुट्टाछुट्टै मेगाहर्ज भएकाे दुई ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नुपर्ने छ । उपभोक्ताले १८०० र ८०० मेगाहर्ज ब्यान्डमा चल्ने जुनसुकै माेबाइल सेट प्रयोग गर्दा फोरजी डाटा सेवाबाट बढीभन्दा बढी फाइदा लिन सक्ने टेलिकमले जनाएकाे छ ।

कम्पनीका अनुसार मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोरजी सेवा उपलब्ध भइरहेकाले फोरजी सेवा प्रयोगमा ल्याउन यही व्याण्ड चल्ने मोबाइल सेट प्रयोग गर्नुपर्दछ । फोरजीको अधिकतम फाइदाको लागि दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु पनि आवश्यक छ । उपयुक्त मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ ।

नयाँ मोबाइल सेट किन्दा यसको बक्समा उपलब्ध विस्तृत प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ । यसो भएमा आवश्यकता अनुसार फोरजी वा अन्य प्रविधि प्रयोग गर्न सकिन्छ ।

हाल देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिरहेको टेलिकमले १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुन्छ । हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेटहरु १८०० मेगाहर्जमा चलाउन सकिने भए तापनि ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल सेट भने सीमित मात्र उपलब्ध भएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.